गंगामाया अधिकारी न्याय पाउँ भन्ने गुहार लगाउंदै आज पनि बीर अस्पतालको क्याबिन न. ७ मा अनसनरत छिन । २०६१ सालमा १६ बर्षे आफ्नो छोरो कृष्णप्रसाद अधिकारीलाई माओबादीले हत्या गरेपछि गंगामाया अधिकारी र उनको श्रीमान नन्दप्रसाद अधिकारीले आफ्नो छोरो मार्ने र आफ्नो करोडभन्दा बढीको सम्पति लुट्नेहरु माथि हदैसम्मको कार्वाहीको मांग राख्दै अनसन बसिरहेकी छिन ।

आफ्नो बालाखा छोराको हत्या गर्ने हत्यारालाई कारवाहीको मांग राखेर अनसन् बसिरहेकै बेलामा गंगामयाका श्रीमान नन्दप्रसाद अधिकारीको निधन भयो । तर उनको निधन भएको बर्षौं बितिसके पनि उनको शव मूर्दाघरमै छ, उनको सदगत भएको छैन भने नन्दप्रसाद र गंगमायाको ठूलो छोरो अदालतमा होहल्ला गरेको आरोपमा अहिले जेलमा छन् । तर राज्यले आफ्नो ठूलो छोरोलाई के कारणले जेल हाल्यो भन्ने कुरामा गंगामाया अनभिज्ञ छिन ।
गंगामयासंग सम्बन्धित दुई वटा कुरा यस अघि निकै चर्चामा रहे, एउटा त उनले करोडौं रकम लिएर अनसन तोडिन भन्ने र अर्को चाहिं नेपालमा आफूले न्याय नपाएकोले संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा आफ्नो छोरोको हत्यारालाई कारवाही होस् भन्दै न्याय प्राप्तिका लागि ज्ञापनपत्र समेत बुझाएको कुराले मिडियामा निकै चर्चा पाएको थियो । यिनै विषयको सेरोफेरोमा रहेर स्वदेश नेपालले अनसनरत गंगामायासंग कुरा गर्दा उनी भन्छिन- मैले पैसा लिएर अनसन तोडेको कुरा सरासर झूटो हो । मैले पैसा पाउन भनेर अनसन बसेकै हैन, मैले न्याय पाउन भनेर अनसन बसेकी हुँ । राज्य सरकारको तर्फबाट त्यस्तो प्रस्ताव नआएको हैन, आएको हो, तर मैले मानिन । मेरो बुडोको आज पनि सदगत भएको छैन, मैले नदिएको हो । त्यो काम गर्न म यो सरकारलाई किन दिन्छु ? मेरो बुडोको लाश पोल्न म आफै सक्छु, बाउको चितालाई आगो दिने हाम्रो अर्को छोरो पनि छदैछ । न्याय पाउँ भन्दै मेरो बुडा बिते । मैले मेरो छोराको हत्या गर्ने छबिलाल पौडेललाई त्यत्तिखेर पनि सोधेकी थिएँ, मेरो बलाखा छोरोले के त्यस्तो बिराम गर्यो र मेरो छोरा मारिस भनेर । मेरो श्रीमान मर्नुमा पनि प्रचण्ड र बाबुरामको हात छ ।
न्याय पाउँ भन्दै अनसन बस्ने क्रममा ७ बर्ष भयो मैले अन्न नखाएको । झोल पदार्थ खाएर भए पनि न्याय पाउने आशामा एक मुट्ठी प्राण धानिरहेकी छु, तर नेपालमा न्याय पाउने आशा हराउंदै गएको छ जबकी न्याय प्राप्तिका म र मेरो श्रीमानले कुनै ढोका ढकढकाउन बाँकी राखेनौ । अपराधीहरुले सत्ता हाँकेको देश भएकोले मैले यस्तो दु:ख पाइरहेकी छु । एउटा छोरा त अपराधीहरुले मारे, ती अपराधीहरुलाई कारवाही गर हामीलाई न्याय देऊ भन्दा अनसनको क्रममै मेरो बुडाको ज्यान गयो र एउटा छोरालाई पनि जेलमा थुनेको छ । तर नेपालमा मैले न्याय पाइनभने अंतराष्ट्रमा गएर भए पनि म न्याय प्राप्तिको गुहार लगाउने छु ।
मैले घर त्यसै छाडेकी हैन, नवौं पटकसम्म आक्रमण गरेपछि र घरभित्र पस्न समेत नदिएपछि हामी बुडाबुडीले घर छाड्न बाध्य भएका हौँ । ३५/३६ जनाको समूहमा आएका मानिसहरुले मेरो श्रीमानलाई बल खेलेजसरी ओल्लो काख र पल्लो काखगर्दै पिटेपछि घर छाड्नु बाहेक हामीसंग अर्को विकल्प थिएन । किनकि उनीहरुले मेरो गाईवस्तुसंगै जग्गाजमीन सबै कब्जा गरेका छन् । अन्यायमा परेका हामीले न्याय पाइन्छ कि भनेर हामीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भएको बेलामा , गृहमन्त्री कृष्णप्रसाद सिटौलालाइ भेट्यौ, सिटौलाले अहिले चुनावको चहलपहल छ, चुनावपछि क्षतिपूर्ति कि सरकारले कि पीडकले व्यहोर्छ भनेर थिए । हामी अनसन बसेपछि अहिलेसम्ममा ११ जना प्रधानमन्त्री फेरिई सके, तर हामीले न्याय पाएनौ । प्रधानमन्त्री भएकै बेलामा हामीलाई भेट्न प्रचण्ड, बाबुराम, झलनाथ खनाल, माधवकुमार नेपाल, सुशील कोइराला, खीलराज रेग्मी सबै आएका थिए, तर अनसनकै क्रममा मेरो बुडा बिते । मैले न्याय मान्गीरहेकी छु र म न्याय मांग्न छाड्दिन । अहिलेसम्मका प्रधानमन्त्रीहरु मध्ये कसैबाट पनि मैले कुनै आश्वासन पाएकी छैन । खीलराज रेग्मीबाट चै केही आश्वासन प्राप्त भएको थियो, प्रचण्ड प्रधानमन्त्री भएको बेलामा भेट्न खोज्दा हामीलाई भेट्न दीइएन, उल्टै हामीलाई लछारपछार पारेर खेद्ने काम भयो. मैले सरकारको चुनौती पनि खपे, अपराधीको चुनौती पनि खाप्रे । अत्याचारको पराकाष्ठा भएपछी अन्तराष्ट्रिय क्षेत्रलाई गुहारेकी हुँ । मैले मेरो छोरा मार्नेलाई मात्रै हैन मेरो श्रीमान मार्नेलाई पनि कारवाही होस् भन्ने चाहेकी छु ।
अपराधीहरुलाई फूलमाला लगाएर जेलबाट छुटाएका छन् म न्याय माग्ने पीडितलाई चै यस्तो हालत बनाएर राखेका छन् । मैले सरकारलाई भनिसकेकी छु- मैले पैसा पाउँ भनेर अनसन बसेकी हैन, मेरो छोरो र लोग्ने मार्नेलाई कारबाही गरेर न्याय पाउँ भनेर अनसन बसेकी हुँ । न्याय प्राप्तिका लागि अनसन बस्ने क्रममा मैले अन्न नखाएको आठ बर्ष लाग्यो, मलाई न्याय नदिएर सरकारले मलाई यसरी तड्पाएर राख्छ भने यो सरकारलाई नालायक सरकार नभनेर, अपराधी सरकार नभनेर के भनौं म ? बिडम्बना हेर्नुस, अपराधीहरुले स्वागत पाइरहेका छन्, फूलमाला लाइरहेका छन् । सत्ता हाँक्नेहरु धर्मात्मी त कोही रहेनछन । प्रचण्ड बाबुरामकै कारणले मेरो छोरा मैले गुमाउनु पर्यो, तर अहिले उनीहरु रातो कार्पेट ओछ्याएको ठाउँमा हिंड्नु पर्ने, गलाभरी फूलको माला भिर्नुपर्ने तर मैले चै यो पीडा भोग्नुपर्ने ?
अहिलेको बहालवाला सरकारको तर्फबाट मलाई भेट्न कोही आएको छैन. छबिलाल पौडेललाई प्रचन्डले नै जेलमुक्त गराएका हुन्.अन्तराष्ट्रिय समूदायले प्रचण्ड र बाबुराम भट्टराईलाई मात्रै स्वागत गर्ने हो कि मलाई न्याय प्राप्त होस् भनेर केही गर्ने हो ?
अनसनरत गंगामाया अधिकारीसंगको कुराकानी जम्मै हेर्नका लागि तल दिईएको भिडियोमा क्लिक गर्नुहोस् ।

