आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

देउबाबाट पार्टी नचल्ने भएपछी नेतृत्त्व परिवर्तन आवश्यक: शशांक कोइराला


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन २८, २०७५

प्यूठान — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवाबाट पार्टी नचल्ने भएपछि नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताएका छन् । सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नेतृत्व दिन नसकेको र पार्टीलाई एक ढिक्का बनाएर लग्न नसकेको देउवालाई उनले आरोप लगाए ।


प्रेस यूनियन प्यूठानले मंगलबार प्यूठान बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देउवाका कारण कांग्रेसका भातृ संगठनहरु समेत विवादित बनेको बताए । उनले नेपाल विद्यार्थी संघको विवाद आगामी चैत्र ४ गते बस्ने केन्द्रिय समिति बैठक भन्दा अगाडि नै मिलाउन पहल गरेको बताए । ‘कांग्रेसको महाधिवेशन आउन अब दुई वर्ष बाँकी छ,’ कोइरालले भने, ‘यो अवधिमा नेतृत्व फेर्ने विषयमा हाम्रो तयारी हुन्छ ।’

आगामी अधिवेशन पछि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्ने उनको भनाइ थियो । लामो इतिहास बोकेको कांग्रेसलाई बचाउन कोइराला परिवारका सबै सदस्यहरु एक भएर अगामी महाधिवेशनमा जाने उनले बताए । देउवालाई हराउन आफू पनि सभापतिको उम्मेदवार हुन सक्ने उनले खुलासा गरे ।

फरक प्रसंगमा उनले आफूले कांग्रेस हिन्दू राज्यको पक्षमा हुनुपर्छ भन्ने कुरा नराखेर नेपालमा धर्म स्वतन्त्र हुनुपर्ने र देशले कुन धर्म मान्ने भन्ने विषय जनमतसंग्रहबाट टुंग्याउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । सरकारले सिके राउतसँग गरेको सम्झौता स्वागत योग्य रहेको बताए । चार वर्षसम्म सरकार चलाउने गरी सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।
-कान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट