एजेन्सी – जबदेखि मैले आफ्नो लेख, गीत, म्युजिक भिडियो र हालै प्रकाशित आफ्नो नयाँ किताबमार्फत आफ्नो लैङ्गिकताबारे बताएँ, लगभग धेरैजसोले मलाई ‘बहादुर’ भन्न थाले ।

तर मलाई लाग्छ कि बहादुर मेरी आमा र उनीजस्तै अन्य थुप्रै महिला हुन् जो पितृसत्तामार्फत् उनीहरुलाई हरदम कमजोर देखाउने तरिका खोजिराख्ने दुनियाँसँग लड्न तयार छन् ।मेरो जीवनको ५० वर्षको यात्रामा मेरी आमा सधैं मेरी ‘रक्षक’ र ‘साथी’ को रुपमा उभिएकी छिन् । उनले मलाई मेरा दुई दाजुभाइलाई भन्दा पनि बढी माया गरेर हुर्काइन् ।उनले मेरो हात त्यतिबेला थामिन् जब म स्कूलमा मोटोपनाका कारण समस्यामा थिएँ । उनले त्यतिबेला मलाई अँगालिन् जब मैले आफैंलाई स्विकार गरेँ ।
उनी मेरो पत्रकारिता र संचारको करियरको ती सबै मोडमा दर्शकसँगै मेरो सफलताको उत्सव मनाइरहेको देखिइन् । जब मेरो ब्यान्डले एलजिबिटी (लेस्बियन, गे, बाइसेक्सुल, ट्रान्सजेन्डर) समुदायलाई समर्पित गर्दै गीत निकाल्यो तब मेरी आमा दशर्कदीर्घामा उभिएर मज्जाले ताली बजाइरहेकी थिइन् ।उनलाई मात्र एउटै कुराले चिन्तित तुल्यायो – आखिर मैले किन आफ्नो लैङ्गिकता लुकाएँ ? उनलाई लाग्यो कि यो मेरो लागि कति मुश्किल रह्यो होला ।उनलाई चिन्ता थियो – संसारले मलाई कस्तो व्यवहार गर्नेछ र के म आफ्नो बाटो खोज्न सफल हुनेछु ?
एक महिला र एउटी आमाले मात्र यस्तो सोच्न सक्छिन् । उनले ‘दमन’ के हो, त्यो राम्रोसँग बुझेकी थिइन् । उनलाई राम्रोसँग थाहा थियो कि यो दमनलाई साधारण बताउनु कति कष्टकर हुनेछ । समाजले सिमित विकल्प र निर्धारित भूमिकामा बाँधिदिँदा कस्तो महसुस हुनेछ ।यो वास्तविकता हो । यद्यपी, मजस्ता व्यक्ति आम धारणा विपरित महिलासँग धेरै सहज महसुस गर्छन् । हाम्रो समस्या पितृसत्ता र ‘दमनकारी पौरुष’ हो जसले हामीलाई पूर्ण रुपमा स्विकार गर्न रोक्छ ।यसै कारण हाम्रो समाजमा ‘बलियो’ महिलालाई राम्रो मानिन्छ । ती महिलाको तारिफ गर्छन् जो ‘वाहियात’ नियमलाई तोड्छन् । आफ्नो अधिकारको रक्षा गर्ने महिलालाई हामी स्विकार गर्छौं । र जुन आमाले आफ्नो क्वियर’ (एलजीबीटी) सन्तानको ‘रक्षा गर्छन्’, जसले उनीहरुलाई समर्थन गर्छन्, उनीहरु भगवानकै दर्जामा हुन्छन् । यस्तो गर्न उनीहरु लगभग हरेक दिन समाजसँग एक अघोषित ‘युद्ध’ लड्छिन् ।
मेरी आमा, मेरी हिरोः
मलाई याद छ जब मेरो पिताको निधन भयो र हामी दिल्ली आयौं तब मेरी आमालाई ‘विधवा’ भनेर महसुस गराइयो । मेरी ती आमा जो सधैं एक हँसिली महिला थिइन्, जसलाई कलासँग प्रयोग गर्न निकै मन लाग्दथ्यो, जसलाई सिलाइ र डिजाइन गरिएका कपडाको रंग मनपर्दथ्यो….मेरी आमाबाट ती सबै खोसिएर उनलाई सेतो रङ थमाइयो र त्यसपछि वर्षौंसम्म मैले उनको हातमा पेन्टब्रस देखिनँ ।मेरी आमा जस्ता महिलालाई उनीहरुलाई कति घाइते बनाइएको छ भनेर सायद कहिले पनि थाहा हुँदैन होला । किनभने उनीहरुको ताकत आफ्ना सन्तान हुर्काउँदा यति बलियो भइसकेको हुन्छ कि यसको मद्दतले उनीहरु आफ्नो सबैभन्दा नराम्रो यादलाई पनि बिर्सन सक्छन् ।
मजस्ता धेरै समलिङ्गी पुरुषको जीवनमा यस्ता कोही न कुनै व्यक्ति पक्कै पनि हुन्छन् । साधारणतया यस्ता विशेष व्यक्तिमा महिला नै हुन्छन् र धेरैपटक उनीहरु हाम्रा आमा नै हुन्छन् ।
समस्याले महिलालाई थप बलियो बनाउँछः
हामी समलिङ्गी पुरुष र ती महिला एक अर्काका लागि ताकत र सहारा बन्ने गर्छौं । हामी समलिङ्गी पुरुष र महिला जानी नजानी सँगै मिलेर एकै खालको लडाईं लडिरहेका हुन्छौं ।हालै म ३६ महिलाको एक समूहसँग कुरा गरिरहेको थिएँ । ती महिला ‘दिशा’ नामको एक संगठनका सदस्य हुन् । म उनीहरुसँग आफ्नो जीवन र किताब बारे कुरा गरिरहेको थिएँ । कुराकानीमा समावेश यी महिलाको औसत आयु कम्तीमा ७२ वर्ष थियो होला । अर्थात्, तीमध्ये धेरै वृद्धा थिए ।
जब मैले उनीहरुलाई आफ्नो कहानी सुनाएँ तब उनीहरुलाई मेरो जीवन निकै हदसम्म आफ्नो जीवन जस्तै लाग्यो । उनीहरुले पनि आफ्नो जीवनमा त्यस्तै समस्या, त्यस्तै निर्णय, त्यस्तै जीत हाँसिल गरेका थिए जुन मैले गरेको थिएँ ।जब मैले क्वियर समुदाय र महिलासँग मिलेर संसारलाई चुनौती दिने र हाम्रा लागि उत्कृष्ट भविष्य बनाउने कुरा गरेँ तब धेरैजसोले यसमा आशाको किरण देखे ।ती वृद्धाहरुसँग आफ्नो कहानी सेयर गरेपछि म थप बलियो भएर कोठाबाट बाहिर निस्किएँ । मैले उनीहरुलाई आफ्नो कहानी भन्न सकेकोमा मात्र म खुसी थिइनँ मैले उनीहरुको त्यो ताकत र इच्छा महसुस गरेँ जसले परिवर्तनको समर्थनमा थियो । मैले विभिन्न मञ्चमा जतिजति आफ्नो मनको कुरा भन्न थालेँ मैले त्यति नै आफ्नो लागि स्पष्ट बाटो देख्न थालेँ ।
यो त्यही उद्देश्य थियो जब मैले अगस्टमा आफ्नो आत्मकथा लेख्न सुरु गरेका बेला मेरी आमाले त्यतिबेला निर्धारण गरेकी थिइन् । त्यसको केही दिनपछि सेप्टेम्बरमा भारतीय सर्वोच्च अदालतले दुई वयस्कबीच आपसी सम्बन्धमा बन्ने सम्बन्धलाई अपराध बताउने कानून रद्द गरिदियो ।महिलाको अगाडि आउने हरेक मुश्किलले उनीहरुलाई थप बलियो बनाइदिएको हामीले देखिरहेकै छौं र यो निकै अद्भुत छ ।उनीहरु यति बलिया छन् कि उनीहरुले केही कुरा बनाउन सक्छिन्, त्यसलाई विकसित गर्न सक्छिन्, सहन सक्छिन्, माफी माग्न सक्छिन्, मार्गदर्शन गर्न सक्छिन्, सुरक्षा गर्न सक्छिन् र प्रेम गर्न सक्छिन् ।यो स्पष्ट छ कि महिलाको सम्मानबिना न्याय र समानताको कल्पना पनि गर्न सकिँदैन । अन्त्यमा म यो भन्न चाहन्छु कि एक महिलाको शक्ति बिना म आफ्नो समलैङ्गिकतालाई कहिले पनि पूर्ण रुपमा स्विकार्न सक्दिनथेँ र ती महिला हुन्, मेरी आमा ।

