-मुक्ति गौतम
आज दाइ यदु गौतमको तत्कालिन माओबादीबाट हत्या भएको २० बर्ष पुरा भएको छ। राजनैतिक अवस्था फेरिएको छ । हिजो लुक्दै हिँड्ने एमालेहरू हिजो लखेट्दै हिँड्ने कमरेडहरु सँग कुम जोडेर हिँडिरहेका छन् ।

“राजनीतिमा जे पनि सम्भव छ”- पहिले के भनिएको होला झैँ लाग्ने यो वाक्य कमसेकम मैले प्रस्ट बुझ्न थालेको छु । राजनीतिशास्त्रको त्यति ज्ञान नभएकोले राजनीतिमै साँच्चीकै यो भनाई कति लागू हुन्छ त्यो त थाहा भएन तर नेपालका राजनैतिक दल र नेताहरूको सन्दर्भमा भने यो अत्यन्त सान्दर्भिक देखिन्छ । अझ सत्ता र शक्तिको मामिलामा यो भनाई लाइ जति लचकदार बनाए पनि त्यति कम देखिन्छ विगतको इतिहास हेर्दा ।
भेरी किनारमा दिनदहाडै अमानवीय हत्या भएको धेरै भएको छैन, कमसेकम परिवारका लागि । हरेक दिन आउँने यादहरूले खाटा नै बस्न दिँदैनन्, हिजो जस्तै लाग्छ रुकुम र जाजरकोटको बीचमा रहेको दुई भेरीको संगम रिम्नाको बगरमा आतङ्कको त्यो कालो छायाँ परेको क्षण ।
दशै लाग्दा पनि सम्झिन्छ, मीठो पाक्दा पनि
दुःख पर्दा पनि सम्झिन्छ, पात झर्दा पनि
हावा चल्दा पनि सम्झिन्छ र मन जल्दा पनि
रोकिए पो सम्झनाको बाढी बिर्सन सहज हुन्थ्यो !
त्यतिबेला म काठमाडौंमा जागिरे थिएँ । मेरा दुइटा स-साना छोरीहरू र दाइको १० कक्षामा पढ्ने ठूली छोरी गरेर हामी ५ जनाको डेराको बसाई थियो । म बच्चाहरूसँग जिस्किदैं “कि बोर्ड” बजाइरहेको थिएँ बेसुरमा । कहिले कही बच्चा बन्नमा अत्यन्त मजा हुन्छ । तर बारम्बार अरूले रोक्छन् त्यो मजा लीन वाट । “कस्तो बच्चा जस्तो”, “कस्तो केटाकेटी भएको” आदि आदि भन्दै निरुत्साहित गरिरहन्छन् । मलाई भने आफू भित्रको त्यो बच्चा नमरुञ्जेल जीवनको छुट्टै महत्व हुन्छ जस्तो लाग्छ ।
फोन थिएन हाम्रोमा । कसैले नजीकैको पसलमा फोन आएको खबर ल्यायो त्यही बेला र म त्यतातिर हुत्तिएँ बाजा छोडेर ।
दाइको हत्याको खबर थियो । म फर्किएर कोठामा आएँ , मनमा भने त्यही बेसुरमा बाजा बजाएको बारम्बार आइरहेको थियो । मेरो आफ्नो त्यही कारणले पो यस्तो नराम्रो समाचार आएको होकी भन्ने पनि नलागेको हैन कुनै बेला । अहिले पनि जब केटाकेटी झैँ बन्न मन लाग्छ, म हच्किन्छु । रोक्छु आफूलाई । मेरो बालापन मरेकै त छैन तर त्यो दिन देखि दबाएको भने छु मैले ।
त्यो सशस्त्र विद्रोहले भौतिक रूपमा मात्र क्षति गरेन , भावनात्मक क्षति पनि भयो नेपाली समाजमा । स-साना भावनाहरू पनि मरे । केही बाँकी भएन क्षत विक्षत हुनबाट । घर भत्किए, मन भत्किए । सपनाहरू भत्किए । खण्डहर बन्यो ।
सधैँ उही रूपमा व्दन्द हुनुपर्छ भनेको हैन, बदला लिनुपर्छ त झन् भनेकै होइन । मिल्नु पर्छ, मिल्नुको विकल्प छैन । तर हिजो गरिएका गल्तीहरूको खै त जिम्मेवारी ? कि कसैले महसूस गरे आफ्ना गल्तीहरु ? आफूले गरेको गल्ती अनुभुत गर्नु नै पनि ठूलो कुरा हो समाज परिवर्नको लागि । गल्ती महसूस नहुँने हो भने कालान्तरसम्म समाजले उही समस्या भोगीराख्छ । स्वार्थ पुरा हुने कुराले नेताहरूले त सबै बिर्सेलान्, तर पीडितहरुले बिर्सिँदैनन् ती कहाली लाग्दा क्षणहरू !
उति बेला लाससँगै लम्पसार प्रश्नहरू जस्ताका त्यस्तै छन् । आफ्नै काखमा अमानवीय मृत्यु हेरेका निःशब्द पहाडहरू, असामयिक मृत्युमा सुसाइरहेको भेरी नदी, पाखाहरू उस्तै छन्- उही शोक मनाई रहेझैँ हामीजस्तै । बुढ्यौलीले खाल्टो परेका आँखामा छोराको निर्मम हत्याले भरेका प्रश्नहरू त म पढ्न सक्दिन अहिले, निभिसके ती आँखाहरू मेरी आमाका – तर उनको छोरा निर्दोष थियो भन्ने सुन्न उनका कानहरू यतै वरिपरि भए झैँ लाग्छ मलाई।
मृत्युलाई उत्सवका रुपमा मनाए उनीहरुले । मृत्यु कहिल्यै उत्सव हुन सक्दैन । त्यो उन्माद थियो बरु युध्दको, बरु बन्दुकको, बलको नि:सहाय माथि । उनीहरुको अपराध, सजाय हाम्रो भयो र उनीहरुको उन्माद, क्षति हाम्रो भयो । यही कुराको महसूस अझैँ नहुँने हो भने हामीले भोगीसकेको यो पीडा अहिले बुझ्न नचाहानेहरुले नै भोलि भोग्नु पर्नेछ । फेरि अर्को उन्माद जन्मिनेछ र क्षति दोहोरिने छ ।
अब हाम्रो झैँ पिडा अरुले फेरि भोग्नु नपरोस्- हार्दिक श्रद्धाञ्जलि दाइ !
(मुक्ति गौतमको फेसबुक वालबाट)

