नेताका गफले गरीबको चुलो बलेन– राजनीति चल्यो तर उद्योग, व्यवसाय, कल–कारखाना, चलेन !
हाम्रो मुलुकमा यति धेरै सकारात्मक कुराहरु छन् कि त्यसको वर्णन गरी साध्य नै छैन तर पनि खोइ किन हो किन हामीलाई इतिहासमा नै बढी गर्व गर्न मन लाग्ने भयो । हाम्रो इतिहास नै गौरभमय भएर पनि होला वर्तमानले त्यसलाई उछिन्न सकेन ।
नेताका गफले गरीबको चुलो बलेन त्यसैले होला, राजनीति त चल्यो तर उद्योग, व्यवसाय, कल–कारखाना, अह चलेन । सरकार देशले प्रगती गरेको कागजमा देखाउँछ, हामी देशले कति प्रगती गरे छ भनेर त्रिभुवन विमानस्थल तिर हेर्छौ, कोरियन, जापनिज भाषा सिकाउने इन्स्टीच्युट तिर हेर्छाँै, टोफेल, आइल्ट्स सिकाउने इन्स्टीच्युट तिर हेर्छौ, श्रम कार्यालय तिर हेर्छौ ।
आँखाले काम नगरेको हो कि, दिमाग खुस्केको हो म त यतै तिरको लाइन लामो देख्छु । प्रगती गरेको देशका युवा, काखे छोराछोरी, वृद्ध बा आमा र प्राण झै प्यारा जीवन साथीलाई छोडेर जान्छन् होला त ?
सरकारले तोकेको मजदुरको न्युनतम पारीश्रमिक १३ हजार ५ सय । १३ हजार ५ सयमा के खाने ? के लाउने ? के पढ्ने ? सरकारले दिएको घर, गाडी, पेट्रोल, रासन पानी लिएको कुन मान्छे मेरो अगाडि आएर आँखामा आँखा जुधाएरु भन्न सक्छ कि जनताको ट्याक्स को पैसाले खानदेखि खाएको फाल्नसम्म फ्रीमा पाउनेले १३ हजार ५ सयमा महिना कटाउन सक्छ ?
आँफू सरकारी सुविधामा फ्रीमा बस्ने, जनतालाई श्रमिकलाई खान, बस्न, बालबचेरा पढाउन, बिरामी हुँदा ओखती मुलो गर्न, १३ हजार ५ सय ? मेरो चुनौती यो देशको कुनै पनि नेतालाई, १३ हजार ५ सयमा यो देशमा बाँचेर देखाउनुस् । आँफूले गर्न नसक्ने कुरा अर्कालाई गर भन्न सकिदैन ।
तपाई भन्नुहोला देशले त्यो भन्दा बढी दिन सक्दैन, मुलुकको अर्थतन्त्रले यो भन्दा बढ्ता धान्नै सक्दैन । त्यो हो भने हजाराँै, लाखाँै र करोडाँैका गाडीहरु दिएर यो राज्यले तपाईहरुलाई पाल्नु पर्ने ?
घर जग्गा, गाडी वंगला भएको तपाईहरुलाई चाँही अझ घर भाडा, समेत ठोसिदिनु पर्ने ? कस्तो अत्याचारी है तपाईहरु ? म श्रमिक १३ हजार ५ सयमा काम गर्न तयार छु यदि तपाई यो मेरो देश गरीब छ बाबु अहिले यति नै हो भन्नुहुन्छ भने । तर म तपाईलाई करोडौको गाडी चड्न दिन्न । म जस्ता श्रमिक पाल्न नसक्ने देशले तपाई जस्ता खर्चिला नेता पाल्ने ? पसिना मेरो, मोज तपाईको ।
ल हिड्नुस् म सँगै सार्वजनिक यातायातमा । आँफू भए भरका सुविधा लिने अनि मलाई देश छोड्न बाध्य बनाउने ? हवाई चप्पल लगाउनेहरु हवाई जहाज नचडी नहुने भए तर होनाहार युवाहरु देशमा अट्नै नसक्ने भए ।
गाँउगाँउबाट उठ बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ । आजका प्राय सबै राजनीतिज्ञले यसै गीत मार्फत नाच्दै र गाँउदै राजनीतिको पाइला चाले । देशको मुहार फेर्न हिडेका सबैको मुहार फेरियो । पद, पैसा, शक्ति, बिलासी जीवन, इम्पोर्डेड ह्वीस्की र ब्राण्ड–ब्राण्डका ब्राण्डी, भुँडी बढेर टाँक उछिट्टिएको उछिट्यै ।
हिजो भर्खरै देशको मुहार फेर्न हिडेकाहरु मध्ये धेरैको सम्पत्ती क्यालकुलेटरमा अटाउँदैनन् । त्यसो त देशको मुहार पनि फेरिएको छ । खेतबारी बाँझो भए, जंगलहरु मासिए, होनहार लक्का जवानहरु विदेश भासिए, भाषा, कला, संस्कृती मासिदैछन् ।
देशका त्यत्रा यत्रा कल कारखाना बन्द भए, खेतियोग्य जमिन भु–माफियाहरुले प्ल–प्लटमा बेचेर सके, सरकारी जमिन नेता, कर्मचारी र व्यापारी मिलेर खल्र्याप्प खुर्लप्प खाइरहेका छन् । अझै कयौँ ठाँउमा आँखालाई रहेछन्, केही बर्ष अघि खोला, खहरे, भएको ठाँउमा खोलै गायब, तलाउ गायब पोखरी गायब ।
हो मुहार त देशको पनि फेरियो । शहरको बीच भाग तिर अख्तियार, र सम्पती बढी कमाउनेहरुलाई पाता फर्काउने अफिस छन् । तिनले के गर्छन ? तिनैले जानुन । तिनकै सम्पत्ती छानबिन गरौ भनु भने आँफैलाई जाकिदेलान । विधि र प्रकृया मिलाएर खानेहरुलाई यहि सम्यन्त्रमा अख्तियारले पाता फर्काउन सक्छ भन्ने कुरा पत्याउन चाहनेहरुले पत्याउन् म चाँही ज्यान जाला पत्याउदिन ।
समयसँगै स्वाभाविक रुपमा हुने विकासमा कसैलाई नाक फुलाउनु छ भने त्यो वेग्लै कुरा हो तर सियोदेखि जहाजसम्म विदेशबाट आयात गरेर, होनहार युवा जति विदेश निर्यात गरेर, चन्दा दिएर सांसद बनेकाहरुबाट घेरिएर, जनताको बाटो छेकेर आफ्नो सवारी चलाएर, श्रमिक र तल्लो तहका कर्मचारीलाई बाँच्नै नसकिने तलब दिएर, एउटा भ्र्रष्टाचारी समाउन लगलग खुट्टा कमाएर, देशले प्रगती गर्दैछ भनेर विगुल फुक्नु भन्दा मिठो जोक सुनाएको राम्रो ।
कमसेकम मज्जाले हाँस्न त पाइन्छ । एउटा कुरा प्रष्ट छ कि भ्रष्टहरु खुलेआम हिड्ने एउटा पनि देशले प्रगती गरेको छैन । देश गरीब हुँदा पनि त्यही गरीब देशको ढुकुटी रित्याएर आफ्ना लागि सुविधा लिने नेता, राजनीतिज्ञ होइन व्यापारी हो, ढोंगी हो । ढोंगीले देश बनाउँदैन, आँफू मात्र बन्छ ।
गोदामचौर बलात्कार प्रकरणः पीडितले पाइन् न्याय– तीन अभियुक्तलाई १० वर्ष जेल सजाए !

काठमाडौं । २०७४ मंसिर २ गतेको गोदामचौर बलात्कार काण्डमा पाटन जिल्ला अदालतबाट पहिला साधारण तारेखमा रिहा भएका तीन अभियुक्त पुनः जिल्ला अदालतले नै १० बर्ष कैद सजाए सुनाएको छ । पाटन जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको एकल इजलाशले रघु शिलवाल, विशाल ध्वज कार्की, र पवन कुँवरलाई बलात्कार, ज्यान मार्ने उद्योग र चोरी मुद्धामा गरी जनही १० बर्ष जेल सजाएको फैसला गरेको हो ।
२०७४ मंसिरको एक साँझ एउटा युवती कामबाट फर्किर्दै गर्दा सामूहिक बलात्कारको शिकार भएकी थिइन् । उनलाई भोलिपल्ट मात्रै क्षत् विक्षत शरीर, बेहोस अवस्थामा प्रहरीले फेला पारेको थियो । बलात्कार र कुटपिटपछि उनलाई एक हप्ता भन्दा बढी शिक्षण अस्प्तालको आईसियुमा राख्नु परेको थियो ।
उनी होस्मा आएपछि उनले दिएको किटानी जोहरीकै आधारमा रघु शिलवाल, विशालध्वज कार्की, र पवन कुँवर पक्राउ परेका थिए । तर केही समयअघि पाटन जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडीको आदेशमा सामान्य तारेखमा रिहा भए । पीडित स्यमंले बारम्बार घटना, बलात्कारीको बिषयमा बयान दिइरहँदा पनि समान्य राखेमा रिहा भएपछि न्यायको आशा मरेको भन्दै हाम्रो कार्यालयमा आएका थिए । हामी थप कानुनी सहयोगका लागि अधिवक्ता सुनिल पोखरेल कहाँ पठाएका थियौं ।
अधिवक्ता पोखरेलले मुद्धाको मिसिल हेरेपछि पीडितहरुलाई सहयोग गरेका थिए । अन्त्यत अधिवक्ता पोखरेलको सहयोगमा सरकारी वकिलले पीडितलाई न्याय दिलाएका छन् । त्यसपछि पाटन उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै साधारण तारेखमा रिहा भएका तीनै जनालाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको थियो ।
र पुन जिल्ला अदालतमै मुद्धा अघि बढेको थियो । शुक्रबार भने त्यही जिल्ला अदालतबाट उनका पक्षमा फैसला भयो । न्यायको खोजीमा भौतारिहरका पीडितले अहिले भने न्याय पाएको महशुस गरेका छन् । शुक्रबार हामीले भेट्दा उनी यही खुसीयालीमा मन्दिरम पूजा गर्दै थिइन् ।
शुक्रबारको फैसला अनुसार पीडक तीनै जनाले जनही १÷१ लाख क्षतिपूर्ती बुझाउनु पर्ने छ भने जबरजस्ती करणी, सामूहिक बलात्कार, चोरी मुद्धामा गरी जनही १०÷१० बर्ष जेल सझाए हुने छ ।

