एजेन्सी – साउदीका बागी पत्रकार जमाल खग्गोसीको गत वर्ष अक्टोबरमा टर्कीमा हत्या भएपछि साउदी अरबका युवराज मोहम्मद बिन–सलमान संसारबाट अलग्गिएका थिए ।

सिआइएले खग्गोसीको हत्या युवराजको आदेशमा भएको बताएका थियो । खग्गोसीको हत्याको विषयमा विभिन्न व्यक्तित्वले रियादमा इन्भेस्टमेन्ट समिट बहिष्कार गरेका थिए ।नोभेम्बरमा सलमान ट्युनिशिया जाँदा उनले विरोधको सामना गर्नुपरेको थियो । सलमान जब मोरोक्को पुगे तब किंग मोहम्मद ख्क्ष् ले पनि उनलाई भेट्न अस्विकार गरेका थिए ।
छायो पाकिस्तानः
फेब्रुअरी १७ मा जब युवराज पाकिस्तान पुगे तब खासोग्गीको हत्याको छायाँ कतै पनि देखिएन । पाकिस्तानले युवराजलाई आफ्नो सर्वोच्च नागरिकको रुपमा सम्मान दियो ।
सलमान जब गत हप्ता आइतबार राती पाकिस्तान पुगे तब पाकिस्तानले सोमबार युवराजको सम्मानमा सार्वजनिक छुट्टीको घोषणा ग–यो ।आइतबार राती पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सलमानको उपस्थितीमा भने, ‘साउदी अरब पाकिस्तानका दुःखको साथी हो त्यसकारण हाम्रो लागि यो सम्बन्ध निकै महत्वपूर्ण छ ।’युवराजले पाकिस्तानमा पेट्रोकेमिकल्स, ऊर्जा र उत्खनन परियोजनामा २० अर्ब डलरको लगानी घोषणा गरे । यसबाहेक सलमानले साउदीको जेलमा कैद दुई हजार पाकिस्तानी नागरिककको तत्काल रिहाईको घोषणा गरे ।प्रधानमन्त्री खानले युवराजले यस्तो गरेर पाकिस्तानीहरुको मन जितेको बताए । इमरान खानले प्रोटोकोल तोडेर आफैंले गाडी चलाएर युवराजलाई आफ्नो निवाससम्म लिएर गए ।
युवराजको पाकिस्तान भ्रमणमा जस्तो स्वागत भयो त्यो कुनै पनि अन्तर्राष्ट्रिय स्टेट्सम्यानभन्दा पनि उत्कृष्ट थियो । पाकिस्तानपछि सलमान भारत पुगे र त्यहाँ पनि प्रधानमन्त्री नरेन्द्र मोदी स्वागतका लागि एयरपोर्ट पुगे । विमानबाट उत्रिएलगत्तै मोदीले अँगालो हाले ।भारत भ्रमणपछि सलमान चीन भ्रमणमा हुनेछन् । खग्गोशीको विषयमा न त पाकिस्तानले एक शब्द बोल्यो न नै भारतले । थुप्रै मानिसहरुले साउदी अरबको पाकिस्तानमा लगानीको घोषणा आफ्नो छवि सुधार्ने कदमको रुपमा हेरेका छन् ।
पाकिस्तानलाई साउदी अरबबाट पैसा किन चाहिन्छ ?
साउदी अरबबाट पाकिस्तानले पाउने आर्थिक मद्दतको समृद्ध इतिहास छ । पाकिस्तानले साउदीबाट पर्याप्त रकम पाइरहेको छ । पाकिस्तानले सन् १९९८ मा परमाणु परीक्षण गर्दा साउदी अरबले नै संसारको आर्थिक प्रतिबन्धको असरबाट जोगायो ।सन् २०१४ मा पाकिस्तानी मुद्रा जब नराम्रोसँग खस्कियो तब साउदीले इस्लामाबादलाई डेढ अर्ब डलरको मद्दत गर्यो ।पाकिस्तान समस्याले घेरिएका बेला सलमानले आफ्नो भ्रमणको मौका पारेर लगानीको घोषणा गर्यो । पाकिस्तान आर्थिक संकटमा फसेको छ । पाकिस्तानसँग विदेशी मुद्रा भण्डार यति कम भएको छ कि पाकिस्तान तेलको आयात बिल भुक्तानी गर्नसमेत सक्षम छैन ।पाकिस्तानसँग विदेशी मुद्रा आठ अर्ब डलरमात्र बचेको छ । गत वर्ष अगस्ट महिनामा जब इमरान खानले प्रधानमन्त्री पदको शपथ लिए तबदेखि उनी आफूलाई ‘डिफल्टर’ हुनबाट बचाउने कोसिस गरिरहेका छन् ।इमरान खानले पहिलो विदेश भ्रमणका लागि साउदी अरब छाने । गत वर्ष अक्टोबरमा खान साउदी जाँदा उसले पाकिस्तानलाई आर्थिक मद्दत प्रदान गर्यो ।
पाकिस्तानले यो मद्दत त्यतिबेला पायो जब पाकिस्तानको केन्द्रीय बैंकको जम्मा राशी गत वर्षको तुलनामा ४० प्रतिशतको गिरावट आएको थियो ।पाकिस्तान अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट मद्दत लिने कोसिस गरिरहेको छ । सन् १९८० को दशकपछि पाकिस्तान आइएमएफको शरणमा १३ पटक गइसकेको छ ।
साउदी अरबले यसबाट के पाउँछ ?
साउदी अरबबारे ऐतिहासिक रुपमा यो भन्न सकिन्छ कि उसले मन र मस्तिष्क जित्नका लागि खर्च गर्न कुनै कसर छोडेको छैन ।
तर साउदी अहिले आफै आर्थिक समस्यासँग जुधिरहेको छ । साउदी अरबले अब आफ्नो अर्थव्यवस्थाको निर्भरता तेलबाट कम गर्नुपर्ने आवश्यकता निकै गहिरोसँग बुझेको छ ।लण्डनको किंग्स कलेजमा मध्य–पूर्व सुरक्षा मामलाका विशेषज्ञ एन्ड्रिज क्रेइगले टाइम म्यागजिनसँग भने, ‘साउदी ८० र ९० को दशकमा खुलेर पैसा खर्च गर्ने स्थितीमा थियो । तर आज साउदी त्यो अवस्थामा छैन । युवराज सलमानको नेतृत्वमा त झन् छैन । २० अर्ब डलरको बचन साउदीले पाकिस्तानलाई रुचाउने भएकाले मात्र गरेको होइन । साउदी यो लगानीले भविष्यमा कमाउन पनि चाहन्छ ।’आठ अर्ब डलर ग्वादर पोर्ट तेल रिफाइनरी संयन्त्र बनाउनका लागि लगानी गरिँदैछ । यसलाई चीन पाकिस्तान आर्थिक केन्द्रको सबैभन्दा विशेष मानिएको छ ।यसमा संयुक्त अरब इमिरेट्ले पनि लगानी गरेको छ । चीनले वान बेल्ट वान रोडको चीन पाकिस्तान इकोनोमिक करिडोरमा ६२ अर्ब डलरको लगानी गरेको छ । साउदी अरबले पाकिस्तानमा तेल निर्यात बजार स्थापित गर्न चाहन्छ ।
साउदीको पैसाबाट इलाकाको राजनीति र भुगोलमा कस्तो असर पर्नेछ ?
इमरान खानले २० अर्ब डलरको लगानीको स्वागत गरेका छन् । यद्यपी, केही विशेषज्ञ यसलाई जोखिमको रुपमा हेरिरहेका छन् ।ग्वादर पोर्ट पाकिस्तानको बलूचिस्तानमा छ र यो इरानको प्रान्त सिस्तान र बलूचिस्तानसँग जोडिएको छ । फेब्रुअरी १३ मा सुन्नी चरमपन्थीले इरानका रिभोलुशनरी गार्डको २७ जवानको ज्यान लिएको जिम्मेवारी लिएका थिए ।
इरानले यो हमलाका लागि पाकिस्तानलाई जिम्मेवार ठहराएको थियो । यसका साथै इरानले साउदी अरबलाई पनि सुन्नी चरमपन्थीको समूहलाई बहुसंख्यक शिया जनसंख्याविरुद्ध भड्काइरहेको आरोप लगाएको थियो ।पाकिस्तानका लागि साउदी र इरानमध्ये कुनै एकलाई छान्नु त्यति सजिलो हुनेछैन ।साउदी अरबको पाकिस्तानमा लगानीका कारण यसको भारतसँगको सम्बन्धमा तिक्तता बढ्नेछ । भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा एक चरमपन्थी हमलामा भारतीय सुरक्षा बलका ४० बढी जवान मारिएपछि दुई परमाणु शक्ति सम्पन्न देशबीच तनाव निकै बढेको छ । –

