रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकोछ भनिरहँदा त्यहि रेमिट्यान्स पठाउने नाममा धेरैका खुशी खोसिएका पनि छन् । थोरै पारिश्रमिक सँग विदेशमा आफ्नो अमुल्य श्रम पसिना साटिरहेका नेपालीको कथा/व्यथा ।
काभ्रे मण्डनदेउपुरका राजकुमार थापा मगर उमेरले भर्खर २२ टेक्दैछन् । बाआमा श्रीमती कान्छी बहिनि अनि १ वर्षकी सानी छोरी छिन घरमा । उमेरले जीवनको सुरुवाती दिनमा रहेका राजकुमारको काधमा ठुलो जिम्मेवारी छ । राजकुमार कान्छोछोरा अरु दाईहरु सबै छुट्टिएर बसेका छन् । त्यहि भएर भूकम्पले भत्किएको घर ठड्याउनु पर्ने,कान्छी बहिनीको बिहे गर्नु पर्ने अनि बाआमा प्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने सबै जिम्मेवारी राजकुमारकै काँधमा छ ।
जिम्मेवारीको भारीले थिचिएका राजकुमार विदेश गएर ति दायित्व पुरा गर्ने ध्याउन्नमा लाग्छन र रोज्छन नेपाल जस्तै हावा पानि मिल्ने मलेसिया तर,सुखमय भविष्यको सपना देख्दै विदेशिएका राजकुमारको जीवन मलेसिया रोजगारले मझधारमा पुर्याइदिन्छ । मलेसिया जानु अघि नेपालमा र मलेसिया पुगेपछि पनि स्वास्थ्य परीक्षण गर्दा राजकुमारको दुवै मिर्गौला राम्रो थियो ।
तर अहिले राजकुमारको दुवै मिर्गौलाले काम गर्दैन । दिन बिराएर राजकुमार डायलासीस गर्छन र एक पल्ट डायलासिस गर्दा २५ सय तिर्छन । वैदेशिक रोजगारीले उनको जीवन र सम्पत्ति दुवै सकिदैछ । सुटकेशभरि परिवारलाई खुसी अनि केही सम्पत्ति कमाएर नेपाल फर्किने सपना देख्दै मलेसिया गएका राजकुमारको विदेश यात्रा, डलरको कथाको पहिलो शृंखला :
विदेशिने धेरै नेपालीका सपना उस्तै हुन्छन् । गन्तव्य पनि उहिं हुन्छ । अनि जाने बाटो पनि एउटै । तर, त्यहि बाटोमा दलालले बिछ्याएका जालहरु भने अनगिन्ती हुन्छन् । त्यहि भएर विदेश गएर धन कमाउला भन्ने सपना देखेका अधिकांश नेपाली दलालको चंगुलमा परेर ठगिन्छन् । फरक यति हो कोहि यहि ठगिन्छन कोहि विदेश पुगेर । कोहि ठगीएपनि विदेश पुग्न पाउछन् । तर केहीको सपना भने विदेश नपुगी टुक्रिन्छ । विदेशिने नाममा नेपालमै ठगिएका नेपालीको कथा डलरको कथाको दोस्रो श्रृंखला:
सबै लुट्यो दलालले– दलालको जालमा परेपछि या विदेशजाने सपनाले नेपालमै ठगिएका केहीका कथा व्यवथा मात्र हुन् यी त । गरिवी,अशिक्षा,बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन,कोहि आफन्त बाटै ठगिन्छन कोहि भने आखाँ चिम्लेर कसैलाई विश्वासगर्दा फस्छन् । वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ पैसा डुबेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका छन् । ति १ हजार १ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै असुल गरिदिन विभागमा उजुरी गरेका छन् । जस मध्ये १५ करोड २४ लाख ४५ हजार रकम विभागले असुल उपर गराईदिएको छ भने १ सय ९१ जना बिरुद्द अदालतमा मुद्दा नै दर्ता गरिएको छ । आर्थिक वर्ष ०७५/०७६को पहिलो ३ महिनामा मात्र १५ करोड भन्दा बढी ठगिएको भन्दै २७८ जनाले विभिन्न व्यक्ति बिरुद्द उजुरी दर्ता गराएका छन् ।
कतारले दिएको बिझाइरहने घाउ- पहिलो पटक साउदी अरब गएका धादिङका भुपेन्द्र मल्ल ठकुरीका लागि वैदेशिक रोजगारी केही समय फापेकै थियो। सम्झौता गरे अनुसारको काम नपाए पनि दुख गरेर केही पैसा जोगाउदै नेपाल पठाउदै पनि थिए। तर भावीको लेखा भुपेन्द्रको जीवनमा एका एक नसोचेको घटना घट्छ। विदेशमा कमाएर पठाएको सबै पैसा लिएर भुपेन्द्रकी जहान अपरिचित व्यक्ति सँग हिडछिन्। भुपेन्द्रले जीवन जिउने सहारा खोजे र रोजे पनि। अनि सुरुभयो उनको जीवनको दोस्रो अध्याय।
जीवनको दोस्रो अध्याय सुखमय बनाउने सोचमा लागेका भुपेन्द्र आफ्नै देशमा केही गरु भन्दै पाइलाहरु अघि बढाउन खोज्छन तर भेट्दैनन्। अन्तत फेरी उही बाटो रोज्छन वैदेशिक रोजगारीको र लाग्छन् खाडी मुलुक कतार। तर सुख र दुखको संगम हुँदै अघि बढिरहेको भुपेन्द्रको जीवनमा एकाएक बज्रपात आइपर्छ। कतार बाट फर्किएपछि राजधानीको नारायणगोपाल चोक महाराजगंज नजिकै सानो रेडिमेड कपडा पसल संचालन गरिरहेका भुपेन्द्रको डलर कमाउदाको कथा सुन्न हामी उनकै पसलमा पुग्यौ।
परदेशको “कोसेली”-प्यारालाइसिस -गुल्मीकि तुमाकला कुमालले करिव ४ वर्षअघि श्रीमान हरि बहादुरलाई साउदी अरबका लागि बिदा गरेकि थिइन्। श्रीमान सँग बिछोडिदाको पीडालाई मनको एउटा कुनामा गाठोपार्दै तुमाकला काठमाडौंबाट घर फर्किन्। सम्झनामा दिनहरु कट्दै गए। साउदी अरबबाट फर्किंदै गरेका श्रीमानलाई लिन तुमाकला त्यहि ४ वर्षघि छुट्टिएको एयरपोर्ट पुगिन्। महिनौ विदेशमा जे जस्तो दु:ख भोगेपनि आफ्नो मातृभूमि फर्किदाको खुसी अनि साथमा लामो बिछोडपछि हुन लागेको मिलन। धेरैका निम्ति खुसीयालीको त्यो क्षण तुमाकलाका निम्ति भने ४ वर्षपछिको त्यो भेट तुवालै तुवालोले घेरिएको धुम्म अनि अध्याँरो बन्यो।
हरि बहादुर सँगै एउटै कम्पनीमा काम गरेर फर्किएका कोहि सुटकेश घिसार्दै बाहिर निस्किंदै थिए त कोहि विदेशको कोसेलीले भरिएको झोला काँधमै भिरेर बाहिरिंदै थिए। तर तिनैका बीचमा कसैको सहारामा बाहिरिन्छन् हरि बहादुर। अचेत अवस्थामा। उनलाई हुइलचेयरमा राखेर कसैले बाहिर ल्याउछन्। त्यही दृश्यले तुमाकला भावविह्वल हुन्छिन्। बोल्न र हिड्न नसक्ने बनेका हरिबहादुरका आखाँबाट बर्र आशु झर्छन्। परिवारको सहारा बन्ने सपना देख्दै साउदी अरब गएका हरिबहादुर अरुको सहारामा नेपाल फर्किन्छन्। धन कमाउने सपना देख्दै विदेशिएका हरिबहादुरको कथा डलरको कथाको चौथो शृंखला।
मलेसियादेखि मसानघाट सम्म….- जिन्दगी सोचेको जस्तो भइदिन्थ्यो त आज सल्यानका डम्बर खड्का गाउँकै कुनै रेमिट्यान्स कम्पनीमा भाईले मलेसियामा दुःख गरेर पठाएको पैसा निकाल्दै हुन्थें। तर वैदेशिक रोजगारको यात्रा कहाँ सहज छ र! विदेशिएका नेपालीको कथा त यति कहाली लाग्दो छन् कि ति घाउ जीवनभर बिझाई रहनेगरी बसिदिन्छ परिवारमा।
उमेरले २० वर्षमा हिड्दै गरेका सल्यान स्यानिखाल(हालको सारदा नगरपालिका)का सुशील खड्का विदेश जाने भन्दै पासपोर्ट बनाउन काठमाडौं आउँछन्। पासपोर्ट बनाउन आएकै बेला सुशीलले दाईलाई केही दिनमै आफ्नो उडान हुने भएकाले घर नफर्किने सुनाउँछन्। तर मेनपावरले केही दिनपछि मात्र उडान हुने भनेपछि सुशील घर त फर्किए तर दाजुभाई बीच भेट हुन सकेन। डलरको कथाको पाचौं शृंखला।
जापान सपनाले फेरिएको दैनिकी– खोटाङका मविन्द्र राई र राजधानीको चाबहिल घर भएकी भवानी कुँवरले खाना बनाउन एक अर्कोलाई गरेको सहयोग देख्दा लाग्ला पक्कै पनि यी श्रीमान श्रीमती नै होलान। तर भवानी र मविन्द्रबीच न रगतको नै नाता छ, न यी दुई बीच २ महिना पहिला कतै भेट नै भएको थियो। तर यी दुवैको सपना भने एउटै छ, रोजगारी गर्न जापान जाने। त्यहि सपनाले यी दुईको भेट हुन्छ राजधानीमा रहेको एक जाप्निज भाषा सेन्टरमा। जाप्निज भाषा सिकाइने र बस्ने होस्टलको समेत व्यवस्था भएको यो सेन्टरमा बसेका यी दुवैको दैनिकी अहिले फेरिएको छ। जापान सपनाले फेरिएको दैनिकी डलरको कथाको छैठौं शृंखला:
यी 6 वटा भिडियो हेरेपछि भनै कर लाग्छ कि यो देशका पापी, अपराधी र भ्रष्ट शासकहरु रहुन्जेल नेपालीहरुको नियति यहि नै हो , यो भिडियोहरु हेर्दा हिरा जस्तो कठोर पथ्थर पनि क्वा क्वा रुन्छ होला सायद !

