कहिले काँही स्रोतको हवला दिदै पनि समाचारहरु बनाउनु पर्छ, गाइगँुई र हल्लाहरुका आधारमा पनि समाचार बनाउनुपर्छ । हल्लाकै भरमा ठोकुवा गरेर समाचार बनाउन त पाइदैन तर कतिपय हल्लाहरु र कतिपय स्रोतहरु आवश्यकता अनुसार प्रयोग हुन्छन् ।
आज पनि केही स्रोतहरुले जानकारी गराए अनुसार सुनेको हल्लामा टेकेर गम्भीर टिप्पणी गर्ने विचार गरेको छु । नेकपाका दुई अध्यक्षबीच, सरकारमा सहभागी हुने मन्त्रीहरु हेरफेर गरेर सरकारलाई प्रभावकारी बनाउने सहमती भएको छ रे ।
यो हल्ला मात्र हो भने ब्याड न्युज र सत्य हो भने गुड न्युज हो । काम नलाग्ने मन्त्री, काम नलाग्ने तर बालुवाटरको चिया विस्कुट मात्र सत्यानास पार्ने सल्लाहकारहरु फेर्नुपर्छ ।
यही यस्तो निर्णय छैन भने निर्णय गर्नु अत्यन्त जरुरी छ । २ तिहाइको सरकार असफल हुदा कोही कोहीले पार्टी नै गर्लान तर मुलुकका लागि त्यो दुर्भाग्य हुन्छ । त्यसैले सरकारलाई मुुटु नै चिरक्क चिरिने गरी चित्त दुखोस भनेर हामी सीधाकुरा गर्छौं । नबुझ्ने अरिंगाल टोक्न खोजेको खोज्यै गर्छन र मात्र टेन्सन हुन्छ । तर नाफाको जिवन बाँचिरहेका र कसैका लागि सम्पत्ती जोडिदिनु पर्ने कुनै बाध्यता नै नभएका प्र्रधानमन्त्री त भाग्यले पाइएको छ ।
प्रोबलमा प्रधानमन्त्रीमा छैन, प्रोबलमा त उनको मन्त्रीमण्डलमा भएका केही ज्यादै महत्वपूर्ण मन्त्रालय ओगटेका माननिय मन्त्रीहरुसँग हो, प्रोबलम प्रधानमन्त्रीका नजिककाहरुका नजिक बसेर लुटिरहेका विचौलीयाहरुसँग हो, जसलाई चिन्ने र विक्ने समय छ ।

प्रत्येक दिन १÷२ दिन बजे सुत्ने प्रधानमन्त्रीसँग छदै छैन । देशमा प्रतिपक्ष त छैन बराबर नै हो । होस् पनि कसरी । कांग्रेससँग प्रतिपक्ष भएको त्यती विग्न अनुभव पनि छैन । आफ्नो नेतृत्व भ्रष्टाचचारमा चुर्लुम्म डुबेर हो कि किन हो कुन्नी अख्तियार भित्रको भ्रष्टाचार काण्ड, ३३ केजी सुनकाण्ड, वाइडबडी काण्डहरुमा आवाज बुलन्द पार्नु पर्ने कांग्रेस मुल मुद्धा छोडेर गायक पशुपति शर्मालाई आफ्नो तलब दिने सांसदहरुबाट नै वैतरणी तर्न खोज्दै छ ।
धेरै मित्रहरु कन्फ्युज हुनुभयो होला, हामी नेकपाको पक्षमा कि नेपाली कांग्रेसको पक्षमा ? कन्फ्युज हुनै पर्दैन, तपाई नेकपा समर्थक भए कांग्रेस सम्झेर मरुञ्जेल गाली गर्नुस । कांग्रेस समर्थक भए नेकपा सम्झेर सास फुस्कुन्जेल गाली गर्नुस् । २ तिहाइको सरकार ऐतिहासिक अवसर हो ।
तर यो अवसर केही मन्त्री र सत्तारुढ पार्टी समर्थक विचौलियाहरु मालामाल हुने ऐतिहासिक अवसर होइन । अझैं कन्फ्युज हुनु हुन्छ भने सरकार विरोधी भनेर प्राण नजान्जेल फेरी गाली गर्नुस् । तर प्रधानमन्त्री ज्यु, १ बर्ष जसरी वित्यो बाँकी ४ बर्ष यो भन्दा छिटो, थाहा पत्तो नपाई वित्छ ।
प्रगती नै प्रगती भएको ग्राफ प्रिन्ट गरेर र प्रोग्रामिङ गरेर पावर प्वाइन्टमा राखी बालुवाटारको भित्तामा, विच–विचमा अंग्रेजी छाँट्दै प्रेजेन्छ गर्न यो देशका अल्मोस्ट सबै प्लसटु स्ट्डेण्टले सक्छन् ।
देशले कति प्रगती ग¥यो भन्ने थाहा पाउन सारा सल्लाहाकारहरुलाई एउटा भोज आयोजना गरिदिएर पेट भरी दिनभरी मासु चिउरा खुवाउने कार्यक्रम राखिदिनुहोस अनि तपाई र हामी तिनलाई झुक्याएर हिडाँै । धेरै पर लान्न तपाईलाई सावर्जनिक गाडी चढाएर बौद्धदेखि साँखुको बाटो लान्छु ।
केही महिनामा फेरी त्याँहा बाटो मै रोपाई गरिनेछ । म तपाईलाई जनताको धारामा आउने पानी पिउनुस् भन्दिन, हेर्न मात्र लग्छु । म तपाईलाई तपाईले रोजेको मालपोत कार्यालयमा लान्छु, तपाईलाई भेष बदलेर सेवाग्राही बनाइदिन्छु, घुस नुखावाई तपाइको काम बनेछ भने तपाईले भनेको बाजी नै राख्छु ।
म तपाईलाई शहरका कुनै पनि गल्लीमा रहेका म्यानपावरहरु र केही कन्सल्ट्याँन्सीहरुमा लैजान्छु । १० हजारमा सही गराएर लाख–लाख दिने युवाहरुले आफ्नो जमिन बेचेर वा चर्को ब्याजमा ऋण लिएर आँशु झार्दै पैसा बुझाएको दृश्य देखाउँछु ।
म तपाईलाई आँशु पुछ्न पाँच–सात वटा रुमालै व्यवस्था गरीदिन्छु । म तपाईलाई शहरका केही सहकारीहरुमा लान्छु । आपत पर्दा १७÷१८ प्रतिशत व्याजमा ऋण लिएका तर व्याजको स्याजले महल भएकाहरु सडकमा र सडकमा भएका सहकारी संचालहरु महलमा पुगेको देखाउँछु ।
म तपाईलाई अफिस टाइममा सार्वजनिक यातायातमा आमा मानिसले पाउने सास्ती देखाउँछु, यो देशका महिला दिदी बहिनीहरु कसरी सर्वाजनिक यातायात चड्दैछन्, देखाउँछु, अपाङगता भएकाहरुका कठिन यात्रा देखाउँछु । म तपाईलाई केही चोकहरुमा लैजान्छु, अस्तव्यस्त ट्राफिक जाममा तपाई नफस्नु भएको कति भो कति तर माफ गर्नुहोला, जनताको बाटो रोकेर जनता किचौला झै साइरन बजाउँदै हुइकिने तपाईका गाडीहरु त्यसदिन तपाइसँग हुने छैनन् ।
उता तपाईका सल्लाहाकारहरुको भोज अझै नसक्ने बरु रातभर चलाई दिन मासुसँग रक्सीको पनि व्यवस्था गरीदिनु होला । तपाईलाई घुमाउने काम अझै बाँकी रहने छ । यत्रो बेर घुमेपछि तपाईलाई ट्वाइलेट लाग्ला । तर आइएमसरी प्रधानमन्त्री ज्यु तपाईको शहरमा पिसाब च्याप्दा के गर्ने भन्ने अवधारणा नै छैन ।
च्यापेरै बस्नुहोला । तपाई पुरुष हो त्यसैले हल्का लाज पचाएर झाडी छिर्न पाउनु भो भने भाग्य । एकै छिन रोक्न सक्नु भो भने तपाईलाई शहरको कुनै सरकारी अस्पतालमा पु¥याउला । त्यहा ५–१० रुपैयाँ तिरेर पिसाब फेर्नुहोला ।
पानी हुने छैन, खल्तीमा कागज लिएर जानुहोला । यात्रा लामो हुन्छ, सटकटमा सकौँ है त । राजधानी शहर हो रातको ढिला त होइन १० बजेपछि केही खानु प¥यो, भने माफ गर्नुहोला, नो चान्स । टन्न पैसा भए केही ठाँउ छन् नत्र म तपाईलाई बालुवाटार पु¥याइदिन्छु ।
आदरणीय फष्ट लेडी राधिका म्यामलाई चाउचाउ उमाल्न लगाउनु होला । धुलो धुवाँले ठाकिएको शरीर र कपडा देखेर तपाईलाई हत्तपत्त चिन्न ग्राहो हुन्छ । हुन सक्ला सुरक्षा कारणले गेटबाट नै नछिराउलान प्रधानमन्त्रीको आइडी कार्ड साथमा राख्नुहोला । बालुवाटर फर्किदा करिब रातिको ११ बज्ने छ ।
त्यसपछि, आफ्ना सल्लाहकारलाई बोलाएर प्रगती विवरणको पावर प्वइन्ट प्रेजेन्टेशन दिन लगाउनु होला । पानी जहाज, रेल, सुरुङ मार्ग, राष्ट्रिय अन्तर्राष्ट्रिय आयोजना, पेट्रोल खानी, सुन खानी, कोइला खानी, सबका सब सम्भावना, त्यसको आवश्यकता, प्राथमिकता र महत्व सबका सब प्रस्तुत गरिने छ ।
आधा नेपालीमा आधा अंग्रेजीमा । यति गर्दा रातको २ बज्छ । प्रधानमन्त्री ज्युको सुत्ने टाइम पनि हुन्छ । टिम फेरीएन, स्पिड फेरीएन, स्पिरिट फेरीएन भने देश फेरिन्न । फेर्नुस्, ती एक एकलाई फेर्नुस, जसले देशको प्राथमिकता भन्दा आफ्नो विजनेश र कमिशन सुरक्षित पार्न तपाईलाई २ बजेसम्म सुत्न दिदैनन् । मन्त्रीमण्डल फेरीदै छ रे । यो हल्ला साँचो होस् ।

