‘धुर्मुस सुन्तलीले हामीलाई गोरेटो देखाए’ – प्रचण्ड

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुर्मुस सुन्तलीलाई ‘गोरेटो देखाउने जमर्को’ गरेको भन्दै प्रोत्साहन गरेका छन् । धुर्मुस-सुन्तली फाउण्डेसनले करीब ३ अर्ब लागतमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् ।

आफूलाई पनि कहिले राजनीति मा लाग्नु भन्दा पनि कलाकारितामा लाग्ने विचार आएको तर राजनीतिको फोहोर राजनीतिमै लागेर सफा हुने बताए । प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका हुन् । अरुले खबरदारी भने पर्नुपर्ने उनले बताए ।
‘अबको दश वर्ष राजनीति एकदम सफा हुनेछ,’ प्रचण्डले भने, ‘पोलिटिक्स इज अ डर्टी गेम’ भनेर राजनीतिलाई नराम्रो भन्ने गरिएको छ तर केही समयमा राजनीतिको फोहोर हट्नेछ ।’


सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली धुर्मुस र सुन्तली दुबैको प्रशंसा गरेका हुन् ।

‘म खुसी व्यक्त गर्न चाहन्छु, नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेका छौं । त्यसका लागि केही आधारभूत कुरा तय भयो । स्थान तय भयो । कस्तो बनाउने भन्ने नक्साङ्कन पनि भयो । त्यसका निम्ति लगभग ४ करोड यही उठ्यो होला ।’

ओलीले भने, ‘ धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट गर्यो । आँट कसरी गर्यो ? बजेट निकै ठूलो छ । तै पनि आँट गर्यो । आँट गरेर नगरपालिकासँग सम्झौता नै गर्यो । हामीलाई एउटा परिकल्पना पनि प्रदर्शन गरेको छ ।’

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता पनि भइसकेको छ । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu