त्रिभुवन विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट साहशिक पर्यटन (एडभेञ्चर टुरिजम) विषयमा स्नातकोत्तर तहमा अध्यापन शुरु हुने भएको छ।
पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले कक्षा सञ्चालन गर्ने गरी विश्वविद्यालयले ‘साहसिक पर्यटन’ को नयाँ विषयको पाठ्यक्रम पनि स्वीकृत गरिसकेको छ। पठनपाठन गराउने जिम्मेवारी पाएको प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि कार्यक्रम सञ्चालन तयारी गरेको छ।
‘नेपाल विश्वभर चिनिएको पर्वतारोहणसहितका साहसिक पर्यटनले नै हो, तर, ‘साहसिक पर्यटनको पठनपाठन संसारका लागि मौलिक विषय हो’ प्रतिष्ठानका प्रशासकीय अधिकृत उत्तमबाबु भट्टराईले भने, ‘नेपालीहरु अन्य विषय पढ्न युरोप अमेरिका जाने गरेका छन्। तर ‘एड्भन्चर टुरिजम’ को विषयमा पढ्न युरोप–अमेरिकाका विद्यार्थीहरु नेपाल आउनेछन्।’
दुई वर्षे कोर्सका लागि यसै शैक्षित सत्रबाट भर्ना लिने तयारीमा प्रतिष्ठान रहेको बताउँदै उनले थपे, ‘त्रिभुवन विश्वविद्यालयमा पाठ्यक्रमलाई स्वीकृति प्रदान गरिसकेको छ।’ भट्टराईका अनुसार, यो विषय व्यवस्थापन संकाय अन्तर्गत रहनेछ।

दुई बर्षे कोर्श अन्तर्गत साहसिक पर्यटन सञ्चालन तथा व्यवस्थापन, साहसिक पर्यटन र जोखिमको आनन्द, साहसिक पर्यटनमा स्वास्थ्य र सुरक्षा, पर्वतारोहण व्यवस्थापन, पर्यटन संकट तथा विपत्ति व्यवस्थापन, विश्वव्यापी पर्वत तथा पर्वतारोहण सम्बन्धी अध्यापन हुनेछ।
त्यसैगरी समकालीन पर्यटन विकास, इ–टुरिजम, नेपालका संरक्षित क्षेत्रका व्यवस्थापन, संस्कृतिक सम्पदा पर्यटन सहितका विभिन्न विषयहरु अध्यापन पाठ्यक्रममा राखिएको छ।
‘यसको उद्देश्य पर्यटन तथा एड्भेन्चर टुरिजमको विषयमा विद्यार्थीलाई व्यवसायिक क्षमता र ज्ञान दिन र एड्भेञ्चर टुरिजमका क्षेत्रमा भविष्य बनाउनका लागि यो कोर्स शुरु गर्न लागिएको हो’ भट्टराईले भने, ‘पर्वतारोहणका विषयमा हामीले दुई वर्षदेखि ‘ब्याचलर्स लेभल’ अध्यापन गराउँदै आएका छौँ। यो निकै सफल भएको छ।’
स्नातकोत्तर तहमा यो विषय अध्यापनका लागि प्रतिष्ठान अन्तर्गत दशजना पूर्णकालिक अध्यापकहरु रहेका छन्।
प्रतिष्ठानले दुई वर्षअघिबाट शुरु गरेको ‘ब्याचलर्स इन माउन्टेनरिङ स्टडिज’ अन्तर्गत अहिले ५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। त्यसअन्तर्गत सबैजना नेपाली विद्यार्थी छन्।
उनले विदेशी विद्यार्थीहरुले पनि यो विषय अध्ययन गर्न चाहेकाले उनीहरु आउँदा सिर्जना हुने जटिलता हटाउने पहल भइरहेको जानकारी पनि उनले दिए। ‘व्यवस्थापन संकायमा भर्ना हुन सिम्याट परीक्षा उतीर्ण गर्नुपर्ने नियम छ, तर त्रिभुवन विश्वविद्यालयमा सिम्याट परीक्षा कहिले हुने भन्ने निश्चित मिति तोकिएको छैन’ भट्टराईले भने, ‘त्यही कारण अहिलेका लागि अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालमा भर्ना गराउन व्यावहारिक समस्या छ।’
पर्वतारोहण विषयमा स्नातक तहमा पहिलो वर्ष २३ विद्यार्थी भर्ना भएकोमा दोस्रो वर्ष भने ३० विद्यार्थी अध्ययनरत छन्। ‘७४ जनाको आवेदन परेको थियो। हामीले आफ्नो क्षमताअनुसार ३० जना मात्रै भर्ना लियौँ’ भट्टराईले भने।
‘पर्वतारोहण सम्बन्धी प्रयोगात्मक र सैद्धान्तिक दुबै विषय स्नातक तहमा राखिएका छन्’ उनले भने, ‘प्रयोगात्मक अध्यापन अन्तर्गत रक क्लाइम्बिङको पनि अध्यापन हुन्छ। आठौँ सेमेप्टरसम्म पुग्दा विद्यार्थीहरुले ७ हजार मिटर अग्ला हिमालको पनि आरोहण गर्नेछन्।’
स्नातकोत्तरमा विश्वकै पहिलो ‘साहसिक पर्यटन’ को पढाई नेपालमा मात्रै रहेको संस्थाको दाबी रहेको छ ।
-नेपालखबरबाट

