प्रधानमन्त्री ओलीले गत असोज ३० गते सुख्खा बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो। यसअघि मंसिर महिनामा भएको एक छलफलमा स्थानीयबासीले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सारेका थिए।
तर स्थानीयवासीको मागलाई सम्बोधन नगरिकन प्रहरीप्रशासनको बलमा प्रधानमन्त्री ओलीले जनतालाई पेलेर आज उक्त सुख्खा बन्दरगाहको भवन निर्माणको शिलान्यास गरेका छन् । चोभारस्थित सुख्खा बन्दरगाह शिलान्यासका क्रममा बिहीबार स्थानीबासी र प्रहरीबीच झडप भएको छ। झपडको क्रममा प्रहरीले करिब एक दर्शन प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको संघर्ष समितिका संयोजक पञ्चलाल महर्जनले बताएका छन ।

उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने माग राखेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्यक नरहेको जनाएको छ। मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्ने गरी सुख्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको बताएका छन्।
विगतमा नेपाल सरकारले अनेकौँ बहानामा रैथानेवासीको भूमी लुट्ने हडप्ने क्रम बढ्दै गएकाले ठाउँ ठाउँमा विरोध चर्कने क्रम सुरु भएको छ । यसरी बिभिन्न बहाना बनाएर उपत्यकाको भूमी लुट्दै गएमा स्थानीय नेवार समुदाय भूमीविहीन अनि सडक विस्तार पछि घरविहीन भएर सुकुम्बासी हुनेक्रम बढ्दो ठाउँ छ।

यसै बीच चोभार संरक्षण समितिले एक विज्ञप्ति जारी गर्दै ओली सरकारको ईटको जवाफ पत्थरवाट दिन जनतालाई वाध्य नपार्न चेतावनी समेत दिएका छन ।
विश्व बैंकको ऋण सहयोगमा सो सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । एक अरब २८ करोड १० लाख ५० हजार लागत अनुमान गरिएको सो बन्दरगाह नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गर्न लागेको हो । १८ महिना भित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने गरी सम्झौंता गरिएको छ ।

प्रधानमन्त्री ओलीले बन्दरगाहको अर्थ र महत्व नबुझेका केही स्वार्थीहरुका कारण शिलान्यासमा निकै ढिलाइ हुन गएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाह वरपरका स्थानीय जनताको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
स्थानीयले सुख्खा बन्दरगाह शिलान्यासको विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले उनीहरुको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रमकाे विराेधमा स्थानीयबासीद्वारा प्रेस विज्ञप्ती यस्तो छ
चोभारको साविक हिमाल सिमेण्ट कारखानासंग भएको संझौता कार्यान्वयन, जग्गा प्राप्ति ऐन, २०३४ संग सम्वन्धी समस्या, हिमाल सिमेण्टका नामवाट नेपाल सरकारका नाममा पछिल्लो पटक जग्गा नामसारी गर्दा गैर कानूनी रुपमा थपिएका जग्गा, कर्मचारीहरुको वाँकी तलब भुक्तानीसंग सम्वन्धीत समस्या, स्थानीय जनताको समस्या समाधान पश्चात मात्र अर्को योजना थाल्ने गत २०७५, मंसिर–४ गते उद्योग मन्त्री मातृका यादववाट जारी भएको प्रतिवद्घताको खिल्ली उडाएर यस समितिका संयोजक पंचलाल महर्जन सहित पचासौं जना स्थानीय पिडित जनतालाई विहानैदेखि घर, पसल, वाटोवाट समेत धरपकड गरेर एकाएक भूमिगत शैलीमा, स्थानीय सरकारको अधिकार क्षेत्रमा ठाडो हस्तक्षेप गरी, सबै तहका जनप्रतिनिधीको असहमति र अनुपस्थितिमा चोरवाटो अपनाएर आज माघ ३ गते गरिएको शिलान्यास कार्यक्रम प्रति घोर विरोध तथा आपत्ती प्रकट गर्दछौं ।
शिलान्यास कार्यक्रम गर्न नेपाल सरकारले गरेको दमन, धरपकड र जनताको विचार र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि भएको क्रुर दमन प्रति घोर विरोध तथा खेद प्रकट गर्दछौ । जनताको भावना विपरित विभागिय उद्योग मन्त्री आफैंले स्थानीय पिडित जनतासंग गरेको पछिल्लो समझदारी समेत लत्याएर गरिएको सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को शिलान्यास, निर्माण कार्यक्रम तत्काल रोकी जनताको माग तत्काल पूरा गर्न, गराउन आग्रह गर्दछौं । अन्यथा जनताका न्यायोचित मागहरु पूरा गर्न, गराउन जुन सुकै स्तरको संघर्षको कार्यक्रम संचालन गर्न पनि समिति पछि नहट्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
गैर कानूनी रुपमामा प्रहरी नियन्त्रणमा रहेका सचिव दिपक महर्जन, फिल्ड संयोजक ज्ञानेन्द्र महर्जन, वरिष्ठ पत्रकार कपील काफ्ले, ईन्द्र वहादुर महर्जन, मिलन खड्का, मदन के.सी., सुवर्ण महर्जन, विकास महर्जन, राजु मिजार, मधुसुदन महर्जन, कुमार महर्जन, माईला महर्जन, अनिल महर्जन, अम्कन कर्माचार्य, गोविन्द थापा, सत्य नारायण कर्माचार्य, अनिल महर्जन, रविन्द्र महर्जन, सचिन महर्जन, निरोज महर्जन, राजकाजी महर्जन, काजीलाल महर्जन, सुरेन्द्र थापा, शोभा मिजार, संगीता वोगटी, बल्केश्वर तुलाधर, किरण महर्जन, हिरा भाई महर्जन, हर्ष वहादुर महर्जन, विवश महर्जन, साजन महर्जन, अनिश श्रेष्ठ, राजेन्द्र मग्रान्ती, विश्वलाल महर्जन, विवेक मग्रान्ती, सरोज महर्जन, नारायण श्रेष्ठ, पूर्ण वहादुर महर्जन, सुनील महर्जन, मणि थापा, रामेश्वर थापा, दिनेश महर्जन “क” सुनीता शाक्य, शान्ती महर्जन, अनीता महर्जन, रमा महर्जन, हारती खड्का, धन्कु महर्जन, गुणमाया प्रधान, मिना महर्जन, दिनेश महर्जन “क”, राम महर्जन, राजभाई महर्जन लगायतका सबै आन्दोलनकारी, स्थानीय पिडित जनतालाई विना शर्त तत्काल रिकाई गरियोस् ।
अन्यथा ईटको जवाफ पत्थरवाट दिन जनता वाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।
हेर्नुहोस स्थानीयवासीले गरेको बिरोधको फोटो र भिडियो

