अजिनोमोटो अर्थात् खानेकुरालाई स्वादिलो बनाइदिने, झट्ट हेर्दा चिनी जस्तै देखिने सेतो धूलो पदार्थ । बजारमा यसलाई सामान्यतः अजिनोमोटो भनेर चिनिने गरिन्छ । त्यसबाहेक यसलाई टेस्टिङ पाउडर भनेर पनि बोलाइने गरिन्छ । त्यसबाहेक, कतिपयले यसलाई मोनोसोडियम र छोटकरीमा एमएसजी भनेर पनि चिन्ने गर्छन् । खासगरी, चाइनिज वा जापानिज खानेकुराहरुमा एक किसिमले अनिवार्य जस्तै बनिसकेको, खानालाई स्वादिलो बनाइदिने मसलाको नाम हो अजिनोमोटो ।

खानालाई स्वादिलो बनाइदिने कुरामा अजिनोमोटो जति चर्चित छ, उत्तिकै ‘बदनाम’ चाहिँ यसले मानव स्वास्थ्यलाई हानि पु्र्याउँछ भन्ने कुरामा छ । खासगरी, अजिनोमोटोले टाउको दुखाउने, हड्डी खियाउने, क्यान्सर लगाउने जस्ता ‘विश्वास’ धेरै मानिसहरुले गर्ने गर्छन् । आफ्नो स्वास्थ्यप्रति अलि बढी नै चिन्ता गर्ने मानिसहरुले त अजिनोमोटो हालेको खानेकुरा नै नखाने अनि अरुलाई पनि नखानको लागि अर्ति उपदेश दिन समेत भ्याइहाल्छन् । अर्थात् बजारमा एक किसिमले अजिनोमोटोको आतङ्क नै छ भन्दा पनि फरक पर्दैन ।
तर के साँच्चै नै आम मानिसहरुले सोचे जस्तै, हल्ला गरिएजस्तै खतरनाक छ त अजिनोमोटो ? के यसले साँच्चै नै मानव स्वास्थ्यलाई खतरनाक असर पुर्याउँछ त ? आउनुहोस्, त्यसबारे केही मन्थन गरौं ।
के हो अजिनोमोटो ?
अजिनोमोटोलाई अंग्रेजीमा Monosodium glutamate (MSG) भनिन्छ । यो एमिनोएसिड ग्लुटामेट अर्थात् ग्लुटामिक एसिडको सोडियम साल्ट (sodium salt of glutamic acid) हो । ग्लुटामिक एसिड हाम्रो शरीरको लागि खाइबस्न नपर्ने, गोलभेडा, अंगुर, चीज, च्याउ लगायत सबै खानेकुराहरुमा प्राकृतिक रुपमा नै पाइने र हाम्रो शरीरले पनि आफैं उत्पादन गर्ने एमिनो एसिडको एक रुप हो । यसले मानव मस्तिष्कमा न्यूरोट्रान्समिटरको रुपमा काम गरी सिकाइको प्रक्रिया र सम्झनाशक्तिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । हाम्रो शरीरलाई आवश्यक २० प्रकारका एमिनो एसिडहरुमध्येको एक ग्लुटामिक एसिड विशेष गरी गहुँ र भटमासमा बढी पाइन्छ । मुख्यतः उर्जाको स्रोतको रुपमा उपयोग हुने यो एसिडले थकानबाट जोगाउने काम गर्छ भन्ने मानिन्छ ।
ग्लुटामिक एसिड सन् १८६६ तिर जर्मन रसायनविद् कार्ल हेनरिकले पत्ता लगाएका थिए । सन् १९०८ मा आएर टोकियो शाही विश्वविद्यालयका प्राध्यापक किकुुने इकेदाले त्यो ग्लुटाकि एसिडलाई प्रशोधन गरी त्यसबाट सोडियम साल्ट अर्थात् मोनोसोडियम ग्लुटामेट निकाल्ने तरिका खोजेका थिए । खानेकुरालाई अत्यन्तै स्वादिलो बनाइदिने त्यो सोडियम साल्टलाई उनले उमामी (Umami) नामाकरण गरेका थिए । त्यसको एक वर्षपछि १९०९ मा उनकै अनुरोधमा सुजुकी फार्मास्यूटिकल कम्पनी लि.ले अजिनोमोटो कम्पनी, इन्क खडा गरी ‘अजिनोमोटो’को नाममा त्यसको व्यावसायिक उत्पादन थालेका थिए । जापानी भाषामा अजिनोमोटोको मोटामोटी अर्थ ‘स्वादको आधार’ भन्ने बुझिन्छ ।
शुरुदेखिकै विवाद
त्यसो त यसको उत्पादनकालदेखि नै अजिनोमोटो खान हुने वा नहुने भन्नेबारेमा विवाद चल्दै आएको छ । उत्पादन शुरुभएको १ वर्षलगत्तै सन् १९१० मा जापानमा व्यापक रुपमा के हल्ला फैलिएको थियो भने यसको उत्पादनमा कच्चा पदार्थको रुपमा सर्पको प्रयोग हुने गर्छ । तर त्यो सत्य थिएन । त्यसपछि पनि स्वयं जापान तथा अमेरिकामा समेत यसको बारेमा विभिन्न प्रश्नहरु उठिनै रहे ।सन् २००१ को शुरुवात ताका इन्डोनेशियामा पनि अजिनोमोटोको बारेमा विवाद भएको थियो । त्यो विवादचाहिँ यसले स्वास्थ्यमा पार्न सक्ने असरबारेमा भन्दा पनि यसको उत्पादनमा सुंगुरमा आधारित इन्जाइमको प्रयोग हुन्छ भन्ने थियो ।मुश्लिम समुदायमा सुंगुरको मासुको प्रयोग बर्जित छ र त्यसलाई हरामको रुपमा लिने गरिन्छ । तर त्यो विवाद चर्के लगत्तै इन्डोनेशियाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले हस्तक्षेप गरेर अजिनोमोटोको उत्पादनमा कुनै पनि रुपमा सुंगुरको प्रयोग नभएको बताएपछि विवाद साम्य भएको थियो । त्यसबेलामा स्वयं अजिनोमोटो कम्पनीले पनि अजिनोमोटोका उत्पादनमा भटमासमा आधारित रहेको बताएको थियो । फलतः त्यो विवादले चर्को रुप लिन पाएन ।
अजिनोमोटोले गर्ने भनिएको असरहरु : अजिनोमोटोले मानव स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने बारेमा पटक पटक अनुसन्धान परीक्षणहरु भएका छन्, गरिएका छन् तर कुनै पनि अनुसन्धान परीक्षणहरुले अजिनोमोटोले यही असर गर्छ भनेर प्रामाणिक रुपमा भन्न र देखाउन सकेको छैन । तर पनि आम रुपमा अजिनोमोटोले गर्न सक्ने भनी फैलाइएको भ्रमहरु निम्नानुसार छन्ः
टाउको दुख्नु/अनुहार रातो हुनु/पसिना आउनु/अनुहारमा तनाव बढ्नु र तन्कनु/छाला, घाँटी र अन्य भागहरुमा मासु लाटो हुनु, झम्झमाउनु र पोल्नु/मुटुको धड्कन असामान्य हुनु र बढ्नु/छात्तीमा पीडा/वाकवाक लाग्नु/कमजोरी महसूस हुनु ।
कतिपयले त के पनि ठान्छन् भने अजिनोमोटोले दम गराउँछ, मस्तिष्कलाई खराब गरिदिन्छ । त्यसबाहेक, नेपालीहरु माझ चाहिँ अजिनोमोटोले हड्डी खियाउछ भन्ने व्यापक भ्रम पनि छ ।अजिनोमोटोले स्वास्थ्यमा गर्ने भनिएका खराब असरहरुलाई मोठमा ‘चाइनिज रेष्टुराँ सिन्ड्रोम’ नाम दिइएको छ ।
-रातो पाटी

