काठमाडौं । वर्ष १०१८ नेपाली चलचित्र उद्योगका लागि फाप सिद्ध भएन । एकाध कमेडी बाहेकका चलचित्रका लागि खुसीको वर्ष रहेन । कमेडी शैलीमा बनेका दीपाश्री निरौला र प्रदीप भट्टराईका चलचित्रले बक्स अफिसमा राम्रो उपस्थिती जनाए । अन्य चलचित्रले खासै उत्साहजनक व्यापार गर्न सकेनन् ।

लभ स्टोरी ‘नाईं नभन्नु ल–५’, कमेडी ‘छक्का पञ्जा–३’, र ‘शत्रु गते’ लगायतका केही चलचित्रले राम्रो व्यापार गरे पनि अन्य चलचित्रले भने खासै राम्रो व्यापार गर्न सकेनन् । ‘रामकहानी’, ‘जय भोले’, ‘प्रसाद’, ‘कान्छी’ लगायत चलचित्रले लगानी उठाए ।
हल्लीखल्ली र दाबी गर्न भने यो वर्ष पनि विगत वर्षहरुमा झैँ व्यापारको उकालो लाग्दो ग्राफ देखाउन निर्माता तथा निर्देशकले केक काट्न भने छाडेनन् । चलचित्र ‘हिट’ भएको भन्दै सिक्वेल घोषणा गर्न पनि भ्याए । तर घोषणा गरिएका सिक्वेल न बने, न बन्ने तरखरमा नै छन् । बरु सिक्वेल घोषणा गर्नेहरु अन्य चलचित्रमा जुटिसकेका छन् । यो वर्ष स्टारडमको चर्चा चर्कै चल्यो । यद्यपि हलमा स्टारडमको प्रभाव भने खासै परेन । दर्शकले न नयाँ पुस्ताको स्टारडमलाई पत्याए, नत पुरानो पुस्तालाई नै । रेखा थापादेखि अनमोल केसीसम्मका चलचित्रले दर्शक तान्न सकेनन् ।
अनमोल केसीको ‘कृ’ देखि रेखा थापाको ‘मालिका’ सम्मलाई दर्शकले पत्याएनन् । ‘कृ’लाई लगानी उठाउन ओभरसिज मार्केट खोज्नुपर्यो । प्रदीपको ‘रोज’ फ्लप भयो । फ्यान फलोइङ राम्रो भएकी केकी अधिकारी निर्मात्री भएर नै देखा परिन् । तर उनको ‘कोहलपुर एक्सप्रेस’लाई दर्शकले पत्याएनन् । बरु हिन्दी मुभीको कपी गरेको आरोप झेल्नुपर्यो ।
यता श्वेता खड्काको ‘कान्छी’ले भने राम्रै व्यापार गर्यो । मिश्रीत समीक्षा बटुलेको चलचित्रले लगानी उठायो ।
चलचित्र चलुन् या नचलुन्, स्टारमको बजार मूल्य अर्थात् पारिश्रमिक भने घटेन । एउटै कलाकारले एउटै चलचित्रबाट ५० लाखसम्म पारिश्रमिक लिएको हल्ला चल्यो । अनमोल केसी र प्रदीप खड्काको पारिश्रमिकले बजार ततायो । उनीहरुसँगै अखबारदेखि डिजिटलका मिडियाका भित्तामा विपिन कार्की, साम्राज्ञी आरएल शाह सम्मको पारिश्रमिकले महत्व पायो । यद्यपि यो पारिश्रमिक हल्लामात्रै हो भन्ने चलचित्रकर्मीहरु पनि भेटिए ।
कथासँगै अभिनयमा पनि अब्बल रहने भनिएका खगेन्द्रले पनि कमाल देखाउन सकेनन् यो वर्ष । ‘डमरुको डण्डीबियो’ चलेन । ‘जय भोले’ अपेक्षित भएन । यो वर्ष दयाहाङ राई, सौगात मल्लका उल्लेख्य चलचित्र आएनन् र चर्चा पनि खासै भएन । चलचित्रको कथामा भन्दा पनि पारिश्रमिकमा अस्वस्थ प्रतिस्पर्धा वर्षभरी नै रह्यो । ठूला ब्यानर पर्व विदामा भिड्न छाडेनन् । त्यसको असर बक्स अफिसमा देखियो ।
यो वर्षैभरी प्रियंका कार्की र आयुषमान देशराज जोशीको प्रेम प्रसंग र इंगेजमेन्टले ठाउँ पायो । दिपिका प्रसाईं र दिवाकर भट्टराईको सम्बन्धले पनि वर्षको उत्तराद्र्धमा चर्चा बटुल्यो ।
यही वर्ष रेनेशा राई कोरियोग्राफरबाट निर्देशकमा फड्को मारिन् । उनले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डन’बाट धिरज मगरले सम्भावना देखाए ।
पारिश्रमिकमा ५० लाखसम्म रस्साकस्सी गरे पनि दर्शकले भने कमेडियन एक्टर एक्टे«सलाई पत्याए । दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललाई नै मन पराए । उनीहरुकै चलचित्र प्रतिक्षित बने । केदार घिमिरेको चौतर्फी प्रशंसा भयो । महिला निर्देशकका रुपमा आफूलाई अब्बल सावित गरिन् दीपाश्री निरौलाले ।
यही वर्ष साउन १ गतेदेखि चलचित्र विकास बोर्डले काठमाडौंका २० वटा हलमा बक्स अफिस प्रणाली लागु ग¥यो । तर बक्स अफिस लागु भए पनि त्यसको रिपोर्ट समयमै उपलब्ध हुन नसकेको स्वयं चलचित्रकर्मीहरुले नै गुनासो गरे । निर्माताबाहेक अन्यलाई बक्स अफिस रिपोर्ट हेर्न नदिएको निर्देशकहरुले नै गुनासो गरे ।
यो वर्ष निकै राम्रो टीआरपी र युट्युब स्क्रिनिङ उच्च रहेको सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन–२ लाई चलचित्र प्रचारको राम्रै माध्यम बनाइयोे । ‘प्रसाद’ अफिसियल मुभी पार्टनर थियो भने प्रदर्शनको मिति नजिकिएका चलचित्रका निर्देशक तथा कलाकारले आफ्नो चलचित्रबारे कुरा राख्न पाए ।
चलचित्रका गीतमा वर्षभरी नै लोकलय फ्लेबरमा राजनराज शिवाकोटीका गीत लोकप्रिय भए । सेन्टिमेन्टलतर्फ अर्जुन पोखरेलका गीत तथा संगीत रुचाइयो । सकेसम्म आफ्नो चलचित्रमा यी दुईका संगीत राख्न चलचित्रका निर्माता तथा निर्देशक लालायित रहे ।
-बाह्रखरी

