कुनै पनि मुलुकलाई कमजोर बनाउनु प¥यो भने संस्कृति माथि आक्रमण गरिन्छ रे ! अनि विस्तारै जात, धर्म, भाषा माथि प्रहार हुँदै जान्छ पनि भनिन्छ । तर नेपाल जस्तो देश, जसको कुनै सत्रु देश छैन, त्यस्तो देशलाई कसले कमजोर पारिरहेको होला ? मलाई लाग्छ हामी आँफैले ।
आज घर घरमा आउने भारतीय सिरियल, बच्चाहरुले हेर्ने कार्टुनको नेपाली डविङ र त्यसमा प्रयोग हुने भाषाको प्रभावले हामी लगभग सिकिस्त भएका छौं । हिन्दी भाषा जान्नु थप ज्ञान लिनु हुन सक्छ तर भारतीय संस्कृतीको प्रभाव कलिला बालबालिकाको मस्तिष्कमा हाली दिदा त्यो बाल मस्तिकले त्यही प्रभाव लिएर हुर्कन्छ ।
मनोरञ्जन लिन, ज्ञान लिन, भाषा र सिमाको रेखा कोरिनु त राम्रो होइन तर के यो मुलुकमा गतिला कार्टुन र गतिलो कथावस्तुहरु बनाउन सक्ने मान्छेहरु नै छैनन् त ? हिन्दी कार्टुन र त्यसको नेपाली डविङमा समेत प्रयोग हुने भाषाले हाम्रा बालबालिकाहरुको कलिलो मस्तिष्कमा यस्तो छाप छोड्ने वाला छ कि, बा आमाहरु ड्याडी ममी हुँदै पापा र मम्मा भईसके ।
छोरा छोरीले हिन्दी बोलेको र बुझेको र बुझेकोमा गर्व गर्नु हुने अभिभावकहरुका बारेमा त के भन्नु र तर भाषाको ज्ञान हुनु नराम्रो नभएपनि ससाना केटाकेटीलाई आफ्नै सिरियल र कार्टनुहरुले प्रभाव पार्न सकेको भए कति राम्रो हुन्थ्यो । हिन्दी सिरियलहरुमा भारतीय संस्कृती र रीतिरिवाजहरु पनि देखाइने हुँदा भाषाको ज्ञानसँगै भारतीय संस्कृति पनि भटाभट भित्रिएको थाहा पत्तो हुँदैन ।
त्यसैले त दिपावली जस्ता चाडमा रंगोली अनिवार्य प्राय भइसक्यो । यसमा भारतीय संचार माध्यमहरुलाई दोष दिने पक्षमा म छैन, यो दोष त हाम्रा मनोरञ्जन प्रदायकहरुको हो जो तुलनात्मक रुपमा राम्रा सिरियलहरु, कार्टुनहरुको साटोे हेर्दै लाजले मुन्टो कहाँ लुकाउ जस्ता सिरियलहरु प्रशारण भएपछि नेपाली दर्शक बाध्य भएर भारतीय च्यानल तिर लागे ।
दर्शकलाई मनोरञ्जन चाहिने हो, आफ्ना नेपाली च्यानलहरुले दर्शकको चाहना पुरा गर्न नसकेपछि बाध्य भएर दर्शकहरु विदेशी च्यानल तिर रिमोट घुमाउन थाले । मनोरञ्जन प्रदान गर्ने हाम्रा सारा नेपाली कलाकारहरुप्रति मेरो सम्मान छ । प्राविधिकहरुप्रति सम्मान छ । मेरो कुराले तपाईहरुको मन दुखेमा माफ गर्नुहोला तर भारतीय च्यानलको प्र्रभाव रोक्ने हो भने तपाईहरुले मेहनत गर्नु पर्छ ।
जीन्दगी भरी कपाल घुामाएर वा ठड्याएर, ओठ बङ्ग्याएर, ढाड कुप्राएर, सट पाईन्ट जुत्ता च्यातेर, मान्छे हसाउँछु भन्ने भ्रममा परिरहने, पाइन्टको पछाडि कागजको पुच्छर हालेर त अचेल २ कक्षामा पढ्ने फुच्चाहरुमा पनि हाँस्दैन, के गरेको ? जीवनमा कहिल्यै नसुनेको थेगो हाल्न लगाएर हुन्छ ?
टाउको घुमाएर, चुइगम चपाएर, दाँत माझेर, कपाल कोरेर, टाउको कनाएर, जुम्रा मारेर , लिखा गनेर, उडुस मारेर, उपिया, समाएर भने जस्ता थेगो बोल्न लगाउने सिरियलहरुका लेखक निर्देशक साथीहरु, आइ थिङ तपाईहरु गलत पेशमा हुनुहुन्छ ।
कलाकारको खासै दोष छैन । यही हो हाम्रो कमेडी सेन्स र कमेडी स्ट्यार्डर ? नेपाली जनता यसरी नै हाँस्छन ? अनि यस्ता घिसिपिटी सिरियल देखाएपछि दर्शक बाध्य भएर विदेशी च्यानलमा पुगेको हुन की होइनन ?
टुइक टुइक टुइक गर्ने ब्याक्ग्राउण्ड म्युजिक हाल्यो, क्रियटिभ भयो । नक्कली दाह्री जुँगा हालेपछि राम्ररी हाल्नु पर्दैन निर्देशक ज्यु ? त्यही हो हाम्रो देशको मेकअप आर्टिस्टको क्षमता ? नक्कली कोठी हालेको मिल्यो त ?
अनि २२÷२४ वर्षे ठिटोलाई साइड साइडमा सेतो रंग दलेर बुढो बनाएको दर्शकले पत्याईदिनु पर्ने ? निर्देशक ज्युहरुले पैसा बचाको कि लाज पचाको ? रिसाए रिसाउनुस तर यस्तै स्तरको मनोरञ्जन दिएर नेपाली दर्शकलाई उल्लु बनाउने हो, भने नेपाली दर्शक पुरै भडिन्छन् । बजेट र बजार कम भएर भन्ने तर्क गलत छ ।
केही दशक अगाडि त्यती थोरै स्रोत साधन र बजार हुँदा पनि मह जोडी, सन्तोष पन्त जस्ता कलाकारले भद्धा थेगो, झ्याउ लाग्ने लेग्रो र वाक्कै लाग्ने ट्याउ ट्याउ म्युजिक नराखेर पनि स्ट्याण्डर कमेडी बनाउथे । अचेलका सरहरुले ज्ञान बाड्नु पर्दैन, हसाउन त सक्नु प¥यो नि ।
सुरुवालको इजार तानेरै हसाउने हो भने एक दिन नेपाली दर्शकले नेपाली टेलिभिजन हेर्नै छोड्छन् । टिभिमा देखिएको भोली पल्ट पशुपतिनाथको मन्दिर तिर जाने र दर्शन गर्नु भन्दा पनि कतिले चिने भनेर गर्दन फुलाउने काम गर्नु भन्दा स्क्रीप्ट लेखन र संवाद लेखनमा टाइम दिउ ।
आधि सुधार भैहाल्छ । हैन भने हिन्दी कार्टुन र सिरियलको प्रभावले घरको संवाद यस्तो हुन सक्छ । पापा शर दर्द भएर परेशान भए । यो सर दर्दले केही वर्षपछि सबको टाउको दुखाउने वाला छ । बेलैमा जरा होशियार बनौँ ।

