त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो। भदौ २० गते मलेसियाको बजेट एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एक पत्र पठाउँदै उडान रोक्ने अाैपचारिक जानकारी दिएको थियो।
एयर एशिया एक्स त्यतिबेला उडान रोक्दै थियो जतिबेला उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकम २१ करोड रुपैयाँ पुगेको थियो।
वायुसेवा कम्पनीहरुले सेवा शुल्क अन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कका नाममा विमानस्थललाई रकम बुझाउनु पर्छ। यी सेवा लिए बापत एयर एशियाले विमानस्थललार्इ तिर्नुपर्ने रकम नबुझाएको हो।
असोज २७ देखि उडान बन्द गरेको एयर एसियाले तिर्नु पर्ने बक्यौता रकम नबुझाई फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताबबाबु तिवारी बताउँछन्। उनका अनुसार उडान बन्द गर्नुअघि रकम बुझाउन विमानस्थलले औपचारिक जानकारी गराएका थियो।
त्यत्रो बक्यौता रकम भएको कम्पनी रकम नबुझाइ कसरी भाग्याे त? यो खेलमा सहभागी खेलाडी को को हुन् ? नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयका जिम्मेवार अधिकारी काेही बोल्न चाहँदैनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीमाथि बक्यौता रकम नबुझार्इ एयर एशिया भगाएको आरोप लाग्ने गरेकाे छ। पटक पटक सम्पर्क प्रयास गर्दा उनले मोबाइल उठाएनन्।
महाप्रबन्धक क्षेत्रीले निकटस्थहरुसँग मलेसियाली दूतावासले मध्यस्थता गरेकाले आफूले एयर एशियाको विमान फर्किन दिएको प्रस्टिकरण दिने गरेका छन्। ‘एयर एशिया मलेसियाको सरकारी स्वामित्वको कम्पनी होइन। याे निजी कम्पनी हो। बचाउका लागि प्रचार गरिएकाे हो’, स्रोतले नेपालखबरसँग भन्यो।
उडान बन्द गरेकाे दुर्इ महिना बितिसक्दा पनि सो कम्पनीले रकम बुझाउन अहिलेसम्म कुनै चासो देखाएको छैन। क्षेत्रीले सरकारलाई क्षति हुने गरी भगाएको कुरो चर्चामा अाएपछि यतिबेला नागरिक उड्डयन प्राधिकरणले याे विषयमा कानुनी परामर्श थालेकाे छ। ‘एयर एशिया भगाएको विषयमा महाप्रबन्धक राजकुमार क्षेत्री मात्र होइन हेड अफिसका मान्छे पनि संलग्न छन्’, स्रोतले भन्यो, ‘सुरुसुरुमा संगठित रूपमा सबैले एयर एशियालाई पेलेका थिए। अहिले साँठगाँठ गरेर भगाए।’ सुरूमा एयर एशियाकाे स्थानीय जिएसए हरिमान लामाकाे इन्सेन्टिभ टुर रहेकाे थियाे। त्याे कम्पनीबाट खाेसेर भिएलएनका राम श्रेष्ठ (जाे मानव तस्कर अभियाेगमा जेठमा पक्राउ परे) लार्इ जिएसए दिलाउन नागरिक उड्डयन अधिकारीहरू अाफैँले लबिङ गरेका थिए।
एयर एशियाकाे अार्थिक स्थिति नाजुक बन्दै गएपछि नेपालमा पनि त्यसकाे असर परेकाे थियाे। त्यसकै असरस्वरूप लामाले जिएसए छाेडेका थिए। एयर एशियालार्इ सफलताकाे उचाइमा पुर्याउने समूह सिइअाे टाेनी फर्नान्डेजले कम्पनी छाेडिसकेका छन्। ठूलै चमत्कार नभए फेरि एयर एशियाकाे अार्थिक स्थिति सुदृढ हुने सम्भावना न्यून रहेकाे अन्तरार्ष्ट्रिय उड्डयन विश्लेषकहरूले बताइरहेका छन्।
पर्यटन बाेर्डलार्इ ७ कराेड तिर्न बाँकी
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थललार्इ मात्र हाेइन एयर एशियाले पर्यटन बोर्डलाई समेत रकम बुझाउनु पर्नेछ। नेपाल भ्रमणममा आएका पर्यटकले स्वदेश फिर्ता हुँदा प्रतिव्यक्ति १ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ। सो रकम टिक खरिद गर्दा वायुसेवा कम्पनीले लिने गर्छ। पर्यटकबाट संकलन भएको ७ करोडभन्दा बढी रकम एयर एसियाले बोर्डलाई बुझाएकाे छैन।
किन उडान बन्द?
यो वायुसेवा कम्पनीले रोजगारीका लागि मलेसिया जाने कामदारलाई नेपाल सरकारले श्रम स्वीकृति दिन बन्द गरेपछि यात्रुको संख्या कम भएको भन्दै उडान नगर्ने बताएको हो। बक्यौता रकम चुक्ता नगरी भदौ २० गते एयर एसियाले वर्ष दिनका लागि उडान नगर्ने जानकारीसहितको पत्र विमानस्थललाई पठाएको थियो। पत्रमा असोज २७ देखि एक वर्षका लागि उडान नगर्ने उल्लेख गरेको छ।
पर्यटक आगमन वृद्धि हुँदा उडान बन्द
नेपालबाट मलेसियामा धेरैजसो रोजगारीका लागि जाने गरेका छन्। मलेसियाबाट आउने उडानबाट पर्यटक समेत नेपालमा आउने गरेको तथ्याङ्क छ। सन् २०१६ मा मलेसियाबाट १३ हजार ६ सय ६९ पर्यटन नेपाल आएका थिए। सन् २०१७ मा १७ हजार २ सय ८४ पर्यटक नेपाल भित्रिएका थिए। तुलनात्मक रुपमा हेर्दा अघिल्लो वर्ष ४ हजार ६ सय १५ पर्यटक आगमनमा वृद्धि भएको हो। पर्यटक आगमनको संख्या वृद्धि हुँदै गरेको अवस्थामा सस्तो टिकट बेच्ने एयर एशिया नेपालबाट फर्किएको हो।
६ वर्ष पछि उडान बन्द
मलेसियन कम्पनी एयर एसियाले नेपालमा वि.स. २०६९ बाट उडान सुरु गरेको थियो। सुरुवाती समयमा हप्तामा २ उडान बाट नेपालमा सेवा आरम्भ गरेको यो वायुसेवा कम्पनीले पछिल्लो समय हप्तामा ५ उडान गरिरहेको थियो। मलेसियाको क्वालालमपुर–काठमाडौं ३७७ सिट क्षमताको एयरबस ३३०–३०० विमानबाट सेवा दिदै आएको थियो। -नेपालखबरबाट

