न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
आजको कार्यक्रममा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः १. परीक्षामा पास गरिदिन्छु भन्दै पैसाको बार्गेनिङ गर्ने होप इन्टरनेश्नल कजेलका शिक्षक समातिए
काठमाडौं । विद्यार्थीसँग परीक्षामा पास गराइदिन्छु भन्दै पैसाको बार्गेनिङ गर्ने एक शिक्षकलाई महानगरीय प्रहरी परिसर काठमाडौले नियन्त्रणमा लिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको होप इन्टरनेश्नल कलेजबाट ब्याचलर अफ पब्लिक हेल्थको चौंथो सेमेस्टरको परीक्षा दिएर बसेका एक विद्यार्थीलाई कञ्चनपुर घर भई हाल सुकेधार बस्ने काठमाडौंका विभिन्न कलेजमा अध्यापन गराउने शिक्षक अर्जुन भाटले फोन गरेर पब्लिक हेल्थ विषयको उत्तर कापी आफ्नो हातमा आएकाले पास हुने भए २५ हजार रुपैैयाँ जम्मा गरेर आफूलाई भेट्न लगाए । सकेसम्म धेरै विद्यार्थी बनाउन दबाब पनि दिए ।
२. श्रम कार्यालयः टोकन सिस्टम लागु भएपनि सर्वसाधारणको समस्या जस्ताको त्यस्तै !
काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वकृति सहज वितरणका लागि टोकन सिस्टम लागु गरे पनि सर्वसाधारणको समस्या जस्ताको त्यस्तै छ ।
पर्वत पाङका दुर्गाबहादुर चन्दरा ३ दिनदेखि श्रम स्वीकृति लिन श्रम कार्यालय धाए । श्रमका कर्मचारीहरुले कहिले के मिलेन कहिले के मिलेन भनि श्रम अनुमति नबनेकै कारण खाइपाइ आएको बैदेशिक रोजगारी गुमेपछि हाम्रो कार्यालय आएर भक्कानिन्छन् ।
३. गगन थापा भन्छन्, ‘‘युनिभर्सल पिस फेडेरेसन’लाई प्रतिबन्ध लगाउनु पर्छ’
काठमाडौं । इसाई धर्मको प्रचारमा संलग्न विवादास्पद संस्था ‘युनिभर्सल पिस फेडेरेसन’को नेपालमा दुई दिने एसिया प्यासिफिक सम्मेलनका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु बोल्न थालेका छन् । कांग्रेस नेता गगन थापाले युनिभर्सल पिस फेडेरेसनलाई तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।
संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर जबराको नाम सिफारिश गरेको छ । न्याय परिषद्ले प्रधान न्यायाधीशका लागि चोलेन्द्र शम्शेरसँगै दीपकराज जोशीको नाम सिफारिश गरेको थियो ।
तर यस अघि नै संसदिय समितिबाट दीपकराज जोशीको नाम अस्वीकृत भएको कैफियत उल्लेख भएसँगै चोलेन्द्र शम्शेर जबरा मुलुकको २९ औँ प्रधान न्यायाधीशमा सिफारिश भएका छन् । मुलुकको जुनसुकै निकाय विवादमा पर्दा त्यति धेरै फरक पर्दैन तर न्यायलय विवादमा प¥यो र प्रभावमा प¥यो भने बरबाद नै हुन्छ । यस अघि संसदिय समितिले शैक्षिक प्रमाणपत्र संदिग्ध भए लगायतका कारण देखाई दीपकराज जोशीलाई अश्वीकृत गरेको प्रसंग अलिकति जोड्छु, अनि नयाँ प्रधान न्यायाधीश ज्युलाई केही बिन्ती बिसाउँछु ।
संसदिय समितिले श्रीमान दिपकराज जोशीको नाम अस्वीकृत गर्नुको प्रमुख कारण थियो शैक्षिक प्रमाण पत्र संदिग्ध । भन्नलाई त स्पष्ट कार्ययोजना ल्याउन नसकेको पनि भनिएको थियो तर मुख्य कारण चाही शैक्षिक प्रमाण पत्र संदिन्ध नै थियो, अर्थात शैक्षिक प्रमाणपत्र सक्कली हो कि नक्कली भन्ने कुरामा संदेह रहेकोे । प्वइन्टु वि नोटेड, शैक्षिक प्रमाणपत्र संदिग्ध भनिएको व्यक्ति विशिष्ट न्यायाधीश नै छन्, मुद्धा हेरी नै रहेका छन्, फैसलाहरु गरिरहेका छन् ।
यो कस्तो अवस्था हो । शैक्षिक प्रमाणपत्र नै संदिग्घ भएको मान्छे न्यायाधीश चाँही रहिरने रे, तर प्रधानन्यायाधीश चाही हुन नपाउने रे । फेरी अर्को कुरा प्रमाणपत्र त कि सक्कली हुन्छ कि नक्कली हुन्छ । संदिग्घ अथाव शंकास्पद हुन्छ ?
देशको न्यायलयको यति उच्च व्यक्तिको प्रमाणपत्र नक्कली हो कि सक्कली जाँच्न नसकिने भएपछि अरुको के कुरा । श्रीमान दिपकराज जोशीमाथि न न्याय भयो न अन्याय नै । सम्मानित सर्वोच्च अदालत र प्रधानन्यायाधीशहरु माथिको चलखेलले मुलुकलाई दुर्गामी नोक्शान पु¥याउँछ । खेर यो गइसकेको कुरा भयो । अब नयाँ कुरा गरौं । भर्खरै सिफारिस हुनु भएका श्रीमान चोलेन्द्र शम्शेर जवराको एउटा फैसलाको याद आयो । २०५८ साल साउन ११ गते श्रीमानले गर्नु भएको तासको एउटा खेल म्यारिज बारेको निर्णय झ्वाट्टै सम्झिए । जुन यस्तो थियो ।
प्रत्येक व्यक्तिलाई २१÷२१ पत्ती तास बाँडिने, बाँकी रहेको बुङबाट एक पत्ती पल्टाउने र तास बाड्ने व्यक्तिदेखि देब्रे पट्टीको व्यक्तिले एक चक्की पल्टाउने, जसलाई जोकरको रुपमा मानिने सो खेलमा ३ सिक्वेन्स अनिवार्य रुपले मिलेको हुनु पर्ने, सिक्वेन्स भन्नाले एकै रंगको जस्तो दुवा तिर्की र चौका भएमा एक सिक्वेन्स हुन्छ ।
त्यसरी नै सबै अर्थात २१ पत्ती नै जसले बाँकी रहेको तासको बुङबाट वा बायाँ तर्फकाले फालेको पत्तीबाट मिलाएर देखाउन सक्छ । उसले म्यारिज खेल जित्ने हुन्छ भन्ने पाइयो । यसरी खेलिने तासको म्यारिज खेल सरसर्ती हेर्दा संयोगको आधारमा खेलिने खेल देखिन न आएको हुँदा तासको म्यारिज खेल जुवा ऐन २०२० को उपरोक्त परिभाषा भित्र परेको भनि मान्न मिल्ने देखिएन ।
श्रीमानमा नम्र निवेदन यो छ कि यही म्यारिज खेलेर सम्पत्ती स्वाहा पारेर रियल म्यारिज नै डिर्भोसमा परिणत भएका कयौं जुवाडेहरु पूर्पुुरोमा हात लगाएर घुम्दैछन् । तासको सिक्वेन्स भन्दा खतरा सिक्वेन्स मिलाएर न्यायलयमा चिया नास्ता खाइन्छ भन्ने कुरा श्रीमानलाई थाहा नहुने कुरै भएन ।
श्रीमान, आजभोलि त हामीलाई स्ट्रिङ अपरेशन गर्न पनि दिक्क लाग्न थालिसक्यो । घुस खाँदा खाँदै, अख्तियारलाई समेत लिएर गएको केशमा नै चलखेल हुने रहेछ । हामी समात्छाँै, न्यायाधीशहरुलाई मोज छ । रंगेहात समातेकाहरुको त रेट नै हाइ हुने रहेछ श्रीमान ।
अख्तियारले नै समातेको केश रैछ यतिमा त मिल्दैन, यति भए सोच्न सकिन्छ भनेर सिक्वेन्स मात्र होइन, डबल म्यारिज, टनेला, अल्टर, जोकर माल राखेर हातैमा खोलिदिने गजबको खेल पो चल्छ त श्रीमान ।
अख्तियारले रंगेहात समातेका डिएसपी साव महिना दिनमै विगो बराबर धरौटी राखेर निस्किए । अरु हामीले रंगेहात समातेकाहरु बाटोमै भेटिएकाहरु के छ रवि जी हालखबर भनेर बोलाई बोलाई हात मिलाउँछन् । न्याय र पैसाको डिप लभ मात्र परेन श्रीमान लगन गाँठो नै कसियो ।
न्याय र पैसाकोबीचमा म्यारिज नै भयो श्रीमान । २१ पत्तीको म्यारिजलाई जुवा नदेख्ने श्रीमानले न्याय र पैसाको विटोको जस्तो प्रगाढ सम्बन्धसहितको म्यारिजलाई के जुवा देख्नु होला र । तर श्रीमान २०४८ सालपछि पूर्ण कार्यकाल, ४ वर्षका लागि तपाई यो देशको प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ । ऐन, कानुन र न्यायको बाटोमा तपाईले कति केश हेर्नुभयो त्यो गनेर र भनेर साध्य नहोला । तर यो पैसा र न्यायबीच विवाह अर्थात म्यारिज भए देखि हजारँै हजार गरिबहरुको विच्चली भएको छ ।
श्रीमान, सक्नुहुन्छ भने न्यायलय भित्रको र वरपरको यो सिक्वेन्स लाग्नै नदिनुस । न्याय र पैसाको विचको अवैधानिक र नाजायज सम्बन्धबाट भइरहेको यो म्यारिजलाई डिभोर्स गरिदिनुस । यो म्यारिज चाही जुवा ऐनको परिभाषा भित्रै पर्छ । श्रीमानको सम्मानित इजलासमा गरिब जनताको तर्फबाट यो निवेदन गरेको छु । आगे श्रीमानको मर्जी ।

