– डा. शान्तिमाया गिरी
दोस्रो तथा तेस्रो पुस्ता अर्थात विदेशमै जन्मिएर त्यहीँको सामाजिक परिवेशमा हुर्किएका बच्चाहरूमा नेपाली भाषा संस्कृति र सामुदायिक पहिचान जोगाउन अभिभावकले तिनलाई सानैदेखि प्रेरित गराउनुपर्ने आवश्यकता दिनप्रतिदिन बढ्दै छ । विविध कारणले नेपालीहरू विश्वका विभिन्न देशहरूमा रहँदैबस्दै आएका छन् । विदेसिएका नेपालीहरूको पहिलो पुस्तामा भाषा र सांस्कृतिक ज्ञानको उति समस्या नभए पनि दोस्रो तथा तेस्रो पुस्ता अर्थात विदेशमै जन्मिएर त्यहीँको सामाजिक परिवेशमा हुर्किएका नेपालीहरूका लागि भने भाषा संस्कृति र सामुदायिक पहिचान जोगाउन ठुलै इच्छा शक्ति र मिहिनेतको खाँचो परिरहेको अवस्था छ । भाषा र संस्कृतिको जगेर्ना तथा विकास पछिल्ला पुस्ता तथा आफ्ना सन्ततीका लागि अग्रजहरूले नगरी नहुने कर्तव्य तथा दायित्वबोधलाई अग्निदह कथासङ्ग्रहमा सङ्गृहीत ‘पहिचान’ शीर्षकको कथामा विषय बनाएको छ । नेपाली भाषा र संस्कृतिप्रतिको संरक्षण, विकास र श्रद्धाभाव गर्नुपर्ने कुरामा यस कथाले जोड दिएको छ ।

वृद्ध आमाबाबुलाई छोराछोरीको साथ र सामिप्यताविना पनि जीवन बाँच्ने कला सिकाएको छ यस सङ्ग्रहको ‘अव्यक्त प्रेम’ शीर्षकको कथाले । विश्वव्यापीकरणको जमानामा नयाँनयाँ ज्ञान लिन, आर्थिक उपार्जन गर्न, व्यक्तित्वको विकास गर्न आदि कारणले आमाबाबुसँग टाढा भई बस्नुपर्ने बाध्यता व्यवस्तालाई बुझेका आमाबाबु यस कथामा छन् । त्यसैले ती बाबुआमाले छोराछोरीका साथमा सँगै बस्न नपाएको, सुख–दुखको आदानप्रदान तथा कुराकानी गर्ने अवसर बिरलै हुने गरेको तथ्यलाई स्वीकारेका छन् । छोराछोरी टाढा भएर घरमा एक्लै भएका बाबुआमाले समय कटाउन कठिन हुँदा वृद्धाश्रममा गएर बसी आफूभन्दा बुढाबुढीको सेवा स्याहार गर्ने र बल घटेपछि आफूलाई अरुले गरेको स्याहारसुसारमा खुसी सन्तुष्ट भई बस्ने मानसिकता तयार गरी वृद्धाश्रम जाने योजना र सोँच बनाउँछन् । ‘झलमल्ल घाम’, ‘खुसीको सागर’ शीर्षकका कथाले अभिभावकलाई आफ्ना छोराछोरीप्रति संवेदनशील हुन सिकाएको छ । ‘ठूलीकान्छी बज्यै’ कथामा दुई पुस्ताबिचको चाहना र जीवनशैली नमिल्दा बुढाबुढी एक्लिन पुगेको र तिनका दुःख चुनौती झन् बढेको यथार्थलाई कारुणिक ढंगले अभिव्यक्त गरिएको छ ।

(हिरण्यकुमारी पाठक)
‘अग्निदह’ शीर्षकको कथामा आफू र परिवारको खुसी खोज्न कामदारका रूपमा विदेसिएका अशिक्षित युवतीहरूले सानो सपनाको निम्ति ठुलो मूल्य चुकाउन विवश भएको दुःखको कथा छ । अशिक्षित अविवाहित धेरैजसो चेलीहरू इच्छाले भन्दा पनि बाध्यताले विदेसिएका छन् । तिनीहरूले बिरानो दूर मरुभूमिमा पसिना र यौवन बेचेर भए पनि घरपरिवारको आवश्यकता र खाँचोलाई निर्वाह गरेका छन् । यस्तैयस्तै मर्मको जीवन्त चित्र छ ‘अग्निदह’ कथामा । आजको मानव समाजले एउटी असल गृहिणी, एउटी राम्री आमाको तुलनामा एउटी अफिसर महिलालाई निकै महत्व दिन्छ । समाजले हेर्ने यस्तैयस्तै दृष्टिाकोणका कारण नै आजका महिलाहरू आमा बन्नुभन्दा पेसागत सफलता, कुनै सृजनागत सफलतालाई, व्यक्तिगत स्वतन्त्रतालाई महŒव दिएका छन् । विवाहित महिला जैविक रूपमा आमा बन्न सक्षम भएर पनि विवाह गरेको केही वर्षमै बच्चा जन्माउन नचाहने महिलाको सङ्ख्या बढ्दो क्रममा रहेको तथ्य समाजमा देखिएको यथार्थ हो । नारी चाहनाको गहन विश्लेषण गरिएको ‘बिसर्जन’ शीर्षकको कथा पनि यस्तै विषयवस्तुमा आधारित छ ।
अहिले पनि हाम्रो समाजमा रेष्टुरेन्ट, यातायात व्यवसाय, कलकारखाना लगायत हरेक क्षेत्रमा बालश्रमको प्रयोग खुलस्त देख्न सकिन्छ । अबोध बालबालिका श्रम बेचेर जीवन निर्वाह गर्न बाध्य छन् । ती बालबालिकाको भभिष्य अन्योलमा छ । बालबालिको यस्तैखाले आवाज बोकेको यस सङ्ग्रहको ‘डल्ले’ शीर्षकको कथाले बालबालिकाका मनभित्रै डुबेर तिनको मर्म, पीडा र आसुलाई सतहमा ल्याइदिएको छ । ‘रछान’े कथामा अनाथ, दुःखी गरिब एक बालकप्रति माया, सहनुभूति पोखिएको छ । ‘हरिमाया’ कथामा सहरको एउटा ठुलो घरमा काम गर्न बसेकी एउटी कमलरीको विरह पोखिएको छ । ‘बसियतनामा’ कथा अशिक्षित गरिव नारीका पीडा र अन्यायपूर्ण भोगाइको सफल दस्ताजेज हो । सामाजिक कुसंस्कारका सिकार भएका अशिक्षित गरिब नारीले भोगेको लैङ्गिक विभेदजन्य दुःख गुनासो र विद्रोहलाई यस कथामा देखाइएको छ । ‘नयाँ गोरेटोको खोजीमा’ कथामा पनि पुरुषबाट धोका खाएकी एउटी नारीको करुणाजनक स्थितिलाई देखाइएको छ
‘दोभान’ कथामा नेपाली समाजको पारिवारिक संरचनामा वैदेशिक रोजगारले सृजना गरेको चिन्तित परिवेशलाई देखाइएको छ । धन कमाउन देश छोडी विदेश जान बाध्य भएका मानिस र तिनका परिवारमा आर्थिक लाभले भौतिक सुखसुविधा दिए पनि परिवारमा एकअर्काप्रतिको चिन्ता, अविश्वास, द्विविधाले मानसिक शान्ति प्राप्त हुन नसकेको विषयलाई यसमा प्रस्तुत गरिएको छ । ‘बदलिएको पर्दा’ शाीर्षकको कथा भ्रष्टाचारको विरुद्धमा छ । ‘कालो माकुरो’ शीर्षकको कथा सहर केन्द्रित सहकारीमा देखिएको समस्यासँग सम्बन्धित छ । ‘पछुतो’ कथामा मानिस शारीरिक सुन्दरताले, धनसम्पत्तिले ठुलो राम्रो नभई उसको ज्ञान, बुद्धि, विवेक, मानवीय व्यवहार र लगनाशीलताले मानिस सुन्दर हुन्छ भन्ने सुन्दर विचारको सम्प्रेष गरिएको छ । ‘दोस्रो अङ्कुर’ कथामा श्रीमान्श्रीमती बिचको आपसी सहयोग सद्भावका कुरा छन् । ‘साक्षी’ कथामा एक युवक युवतीबिच कसरी मायाप्रेम बढ्दै एक अर्काका प्रेमी बन्न पुगे भन्ने रोचक घटनासन्दर्भ छ । ‘समयचक्र’ कथामा नसोँचेको परिस्थितिको सामान गर्नुपरेको अवस्थाको चित्रण छ । ‘च्यातिएको खाम’ कथामा प्रेमीप्रेमीकाहरू एकअर्काबिच इमानदारीपूर्ण सम्बन्धभन्दा पनि एकै समयमा एकभन्दा बढी व्यक्तिसँग प्रेमसम्बन्धलाई अगाडि बढाउँदा उत्पन्न चोटको अभिव्यक्ति छ । महान् आत्माहरू आफ्नो मात्र सुखसजिलो, स्वार्थ नहेरी सामाजिक सेवा र दुःखी जीवनको पनि उद्धार गर्नमा सुखसन्तुष्ट अनुभव गर्छन् । ‘भविष्य’ कथामा यस्तै विषयवस्तुको अभिव्यक्ति छ ।
नारी सर्जकको एक पृथक र शक्तिशाली संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली भाषा र साहित्यको उत्थानमा अग्रसर व्यक्तित्व हिरण्ड्य कुमारी पाठकद्वारा रचित ‘अग्निदह’ कथासङ्ग्रह नेपाली समसामयिक कथा भण्डारमा एउटा महत्वपूर्ण उपलब्धिका रुपमा थपिएको छ । यस कथासङ्ग्रह भित्रका उपर्युक्त विभिन्न शीर्षकका एक्काइसवटा कथाहरूमा कथाकार आफूले बाँचेको, भोगेको, देखेको परिवेश, आफ्नै गाउँ, ठाउँ, समय, संस्कार, संस्कृतिसम्बद्ध अनुभव र अनुभूति उतार्नु भएको छ । यी विभिन्न कथाहरूमा पोखिएका छन् । यी कथाहरूमा समाजका फरक फरक मर्महरूको उद्घाटन प्रभावकारी ढङ्गमा गरिएको छ । सबै कथाहरू सहज पठनीय, चाखलाग्दा र पूरै घत पर्ने कोटिका छन् । कथाकार आफूले नजिकैबाट अनुभूत गरेको समाजको सत्असत् यथार्थलाई अग्निदहभित्रका कथामा पोखिएको छ । मानव जीवनका, मानव समाजका यस्तैयस्तै विभिन्न भित्री र बाह्य पाटाहरूलाई खोतल्ने जमर्को गरेको छ अग्निदहभित्रका कथाले । यी कथामा नेपाली भाषा संस्कृतिको अस्तित्वलाई जोगाउने, मानिसभित्रका सङ्कीर्ण भावनालाई फराकिलो बनाउने, नकारात्मक सोँचलाई सकारात्मक बनाउने, मानिसका दुर्भावानालाई सद्भावनामा परिणत गर्ने, मानिसलाई अँध्याराबाट उज्यालातर्फ उन्मुख गराउने अदृश्य सन्देश लुकेको छ । कथाहरूको शैलीमा त्यति अन्तर छैन तर विषयवस्तु पात्र र परिवेशका दृष्टिले कथामा पर्याप्त विविधता छ । सबै कथाको सारवस्तु पाठक आफैले पत्ता लगाउने गरी नाटकीकृत तरिकाले प्रस्तुत गरिएको छ । संवेगात्मक परिवेशको प्रस्तुतिमा अग्निदहभित्रका कथाका कथात्मक कला पाठकका लागि रुचिकर छ । तिनमा मानिसका हृदयलाई परिवर्तन गर्ने शक्ति लुकेको छ । समाजमा देखिएका विभिन्नखाले विकृतिविसंगति, विभेद, असमानता, पीडा, समस्या, चुनौतीहरूप्रति पाठकलाई सचेत गराउनु र वैयक्तिक स्वार्थका सट्टा सामूहिक भावनाको विकासतर्फ प्रेरित गर्नु अग्निदहभित्रका कथाहरूको प्राप्ति र शक्ति हो ।

