-लक्ष्मी लम्साल
‘चीन पुगेपछि दुईचार वटा साइकल नहराउनु भनेको चीन नजानु बराबर हो।’ झण्डै दुई दशकअघि चीनमा अध्ययन गर्न आउँदा ७–८ वटा साइकल चोरिएर हत्तु भएपछि उनका साथीहरूले बनाएको नयाँ उक्ति थियो यो। एउटा हँस्सीमजाकले पीडामाथि मल्हम लगाएपनि सन् २००० अघिसम्म चीनमा साइकलको सार्वजनिक सवारी चल्दै गर्दा साइकल चोरी पनि उस्तै चल्थ्यो।

सन् १९९८ मा चिकित्सा अध्ययन गर्ने केही नेपाली युवाहरूको टोलीमा थिए उनी पनि। त्यो समय साइकल सत्ता भत्किँदै गएको थियो र राम्रो होस् वा नराम्रो साइकल चोरिएका अनेकन किस्साहरू जताततै सुन्न सकिन्थ्यो। अध्ययनका लागि काठमाडौंका बासिन्दा सुवर्ण डंगोल चीनको केन्द्रिय हनान प्रान्तको हनान नर्मल युनिभर्सिटीमा छिर्दै गर्दा नेपालको यो छिमेकी मुलुकले विकासको गति चाल्दै थियो। बाटोघाटो, घर, यातायात प्रणाली एकदमै नयाँ। गाह्रो चाहिं खानामा लाग्थ्यो किनकि चिनियाँको खाने तरिका नै बेग्लै। कुनै बेला साइकल साम्राज्य भएको चीन यतिखेर कार नै कारले भरिएको छ। चीनको विकासको रफ्तार नियाल्नु कम्ती रोचक कुरा होइन। कुनै ‘भाग्यमानी’ विदेशीले मात्रै चीनको द्रूत विकासलाई प्रत्यक्ष रूपमा देख्न र भोग्न पायो। जतिखेर चीनमा फोन सर्वसुलभ थिएन, पेजरको युग थियो। घर (नेपाल) मा चिठी पठाएपछि २ हप्तामा बल्ल काठमाडौं पुग्थ्यो। इन्टरनेट, टेलिफोनहरू छोइनसक्नुको महँगो हुन्थ्यो। विद्यार्थीसँग खर्च पनि त हुन्नथ्यो। सीमित समाचारमा सुनेका आधारमा बनाएको चीनप्रतिको अवधारणा बोकेर उनी यता हानिएका थिए। ‘सुनेको थिएँ चीनमा कम्युनिष्ट हुन्छ। कन्ट्रोल हुन्छ, जनतालाई दुःख हुन्छ’, सुवर्ण डंगोलले भने, ‘आफ्नै आँखाले देखेपछि पहिलाको सुनाइसँग अहिलेको भोगाइ छेउटुप्पो पनि मिलेन। मानिसहरू मैत्रीपूर्ण, जनजीवन शान्तिपूर्ण, एकदमै फरक रहेछ।’
मःमः चीनमा पनि पाइन्छ, नेपालमा पनि। चीनमा भिनेगर वा सोयाससमा डुबाएर खाइन्छ। नेपालमा अचारमा चोबेर खाइन्छ। फरक त्यति नै हो। चिनियाँहरूले वसन्त चाड मनाउँछन्, नेपालीहरूले दशैं–तिहार मनाउँछन्। चीन र नेपालबीचको सांस्कृतिक अन्तर देखाउने क्रममा सुवर्णले यस्ता उदाहरण प्रस्तुत गरे। सायद उनलाई चिनियाँ युवतीसँग विहे गर्दाको अफ्ठ्यारोबारे प्रस्ट्याउनु थियो। सन् २००५ सालको कुरा हो। चिनियाँ साथीहरूसँग क्रिसमस इभ मनाउनका लागि उत्तरपूर्वी ल्याउनिङ प्रान्तको राजधानी शनयाङस्थित एउटा बारमा पुगेका बेला सुवर्णले साथीको पनि साथीलाई देखे र आफ्नै साथी बनाउन चाहे। हँसिली र स्याउमुखी ती सुन्दरी देखेपछि उनको मनमा तरङ्ग छुट्यो। फेरि पनि भेटे। फेरि पनि उस्तै झट्का। एवं रीतले धढ्कन बढ्दै जान थालेपछि उनलाई लाग्यो, ‘स्वभाव, चालचलन मिल्ने मान्छे सजिलै भेटिँदैन, भेटिएको बेला त्यतिकै छोड्नुहुँदैन।’
अन्तरदेशीय विवाह गर्ने कि नगर्ने भन्नेबारेमा आफूभित्रको दोधार साम्य पारेपछि पारिवारिक अवरोध छिचोल्नुपर्ने भयो। विदेशमा विहे गरेपछि छोराले देश र परिवार बिर्सन्छ भन्ने चिन्ता नेपालमा, विदेशमा विहे गरेपछि छोरीले देश र परिवार बिर्सन्छे भन्ने चिन्ता चीनमा। सन् २००६ मा उनले विहे नगर्दै शनयाङकी रैथाने श् तान थिङ अर्थात् स्याउलाई नेपाल लिएर गए। तीन हप्तामै घरपरिवारसँग घुलमिल हुनसक्ने उनको मिजासिलो स्वभावलाई नेपाली परिवारले अनुमोदन गर्यो। उनले झ्याइँ पारे। उनको पश्चिमा नाम एप्पल अर्थात् स्याउ। विहेपछि उनैलाई यो नाम असहज लाग्न थाल्यो। नाम फेर्ने प्रस्ताव राखिन्। सुवर्णले नाम नफेर्न सुझाव दिँदै भने, ‘नाम रमाइलो छ र यो नाम मेरो मुटुको नजीकै छ। तिम्रा गाला पनि त स्याउ जस्तै छन्।’

आफ्नी ७ वर्षीया छोरीको नेपाली नाम श्रीषा राखेका उनीहरू दुवैको एउटै धारणा छ, ‘नेपाल–चीन सांस्कृतिक अन्तर त्यति ठूलो होइन। सोचविचार तलमाथि हुने वा समझदारी नराख्ने हो भने कस्तै जोडीबीचमा पनि फाटो त आइहाल्छ नै। सानातिना मनमुटाव समस्या हैनन्, परिवार चलाउने तरीका पनि त हुन्।’ अविवाहित भएको प्रमाण, प्रहरी रिपोर्ट, पासपोर्ट, भिसा इत्यादि भएपछि कुनै विदेशीले चिनियाँसँग विवाह गर्नसक्ने सजिलो प्रावधान चीन सरकारले बनाएकाले सुवर्ण डंगोलले आफ्नी सपनाकी राजकुमारीलाई यथार्थमा पाए। अदालतमा गएर पहिला विवाह दर्ता, विहेको फोटो सेसन, आफन्तमाझ विवाह पार्टी गरेर नै उनको विहे भयो। जुन उनलाई नेपालभन्दा धेरै सरल पनि लाग्यो। वर्षमा १–२ चोटी नेपाल आवतजावत गरिरहने सुवर्णका साथमा चिनियाँ श्रीमती र छोरी पनि उफ्री उफ्री नेपाल पुग्छन्। दुवैतर्फका परिवारका सदस्यहरू पनि कहिले चीन त कहिले नेपाल गरिरहेका हुन्छन्। यस्तो बेलामा उनी दोभाषेको काम गर्छन्।
चीन अहिले अवसरहरूले भरिएको देश हो। चिनियाँहरू अचेल विदेशी ब्राण्डेड सामाग्रीका लागि मरिहत्ते गर्छन्। चीनले आयातलाई पनि समर्थन गरिरहेको छ। नेपालले चीनसँग व्यापारिक सम्बन्ध जति बलियो बनाउन सक्यो, त्यसको फाइदा जनस्तरमा पुग्नसक्छ। व्यक्तिगत रूपमा व्यवसाय गर्न खोज्ने हो भने अलि लामो समय बसेर चिनियाँ बजार बुझ्न, नियम कानुन थाहा पाउन सुझाव छ, उनको।रकेटको रफ्तारमा विकास गरिरहेको चीनको अनुभव नेपाललाई पनि काम लाग्न सक्छ। चीनको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले चीनजस्तै तीव्र गतिको विकासको लय समात्न सक्छ। चिनियाँ कम्पनीहरूले नेपालको हाइड्रो प्रोजेक्टमा काम गरिरहेका छन्। नेपाल र चीनबीच रेलवे परियोजनाको कुरा पनि छ, यो सफल भयो भने नेपालले पनि फड्को मार्नेछ।राजनीतिप्रति त्यति जानकार नभएपनि सुवर्ण चिनियाँ अनुभवबाट नेपालमा नयाँ युग ल्याउन सकिने तर्क गर्छन्। सहयोग लेनदेनमा सबै देशका स्वार्थ हुन्छन्। एक सर्वसाधारणका हैसियतबाट हेर्दा चीनले भूकम्प लगायतमा गरेको सहयोग सम्झिन्छन् उनी। अहिले काठमाडौं र चीनका विभिन्न शहरहरूमा बाक्लो रूपमा हवाई उडानहरू हुन्छन्। दुवै देशबाट सांस्कृतिक प्रदर्शनीहरू पनि बाक्लै हुनुले सम्बन्धमा एउटा रापताप ल्याएको देख्छन्।
भूगोलका हिसाबले नेपाल, चीनको एउटा प्रान्त जत्तिकै र जनसंख्याका हिसाबले बेइजिङ जत्तिकै ठूलो लाग्छ उनलाई। सानो देशको नागरिक भनेर चीनमा कुनै सरकारी वा नीजि काममा हेलचक्र्याइँ भएको देख्नुपरेको छैन। २० वर्षको आफ्नो अनुभव भन्छन्, ‘नराम्रा मान्छेहरू त संसारमा जहाँ पनि हुन्छन्। तेरो देश सानो, गरीब। हाम्रो देश ठूलो, धनी भन्नेहरू त भेटिन्छन् नै तर अधिकांश चिनियाँले नेपालको इज्जत नै गर्छन्। विदेशमा भएका बेला सकेजति देशको इज्जत राख्नु हरेक नेपालीको कर्तव्य हो।’ नेपालमा शान्ति छ, बुद्धभूमि हुनुको गर्व छ। नेपालीहरूभित्र धर्म, अनुशासन, शिष्टता छ। स्वभाव छ र बलियो भावनात्मक आत्मीयता छ। धेरै चिनियाँहरू बुद्धिज्ममा विश्वास गर्छन्। उनीहरू नेपालको धार्मिक पर्यटनका कारक बन्न सक्छन्। नेपालबाट फैलिएको बुद्धिज्मकै प्रभाव हुनुपर्छ, चिनियाँहरू पनि सहयोगी हुन थालेका छन्। बाटोमा कोही छट्पटाइरहेका बेला फसिन्छ कि भनेर सहयोग नगर्नेहरू अचेल सहयोगी हात बढाउँछन्। जस्तो कि नेपालीहरू हुन्छन्, उनको अनुभव। चिकित्सा पढ्न चीन छिरेका विद्यार्थी सुवर्ण कक्षा इतरको समयमा जिमखाना धाउँथे। शारीरिक सुगठनका स्पर्धा पनि धाउन थाले। चीनको केन्द्रशासित थ्यानचिनबाट बेइजिङ आएर अन्तर्वार्ता दिएपछि उत्तरपूर्वी ल्याउनिङ प्रान्तको शनयाङमा फिटनेसकै जागिरमा लागे।
१२ वर्षदेखि फिटनेस ट्रेनरका रूपमा कार्यरत सुवर्णले हाल बेइजिङको पूर्वमा नेपाली ह्याण्डिक्राफ्ट व्यवसाय खोलेका छन्, श्रीमतीलाई पनि यसमै होमेका छन्। हंसमुख, लगनशीलता र सर्भिस केन्द्रित भएकाले नै सफल हुन सकेको उनको ठहर छ। संघर्षको प्रारम्भिक दिनमा उनी माइनस २० डिग्रीसम्मको चिसो ठाउँ उत्तरपूर्वी ल्याउनिङमा बस्थे। न्यानोका लागि छट्पटिएका बेला उनी काठमाडौंमा रहेकी आमालाई फोन गर्थे। आत्तिएर आमा भन्थिन, ‘भैगो, पर्दैन छोरा, तुरून्तै नेपाल फर्किहाल।’
दुई वर्षअघि चीनमा एक महिना बिताएपछि आमाले छोराको विदेशी विवाहप्रति सन्तोष मान्दै भनिन्, ‘नहेरेको हेर्न पायो, नखाएको खान पायो। नातेदार भेट्न पायो। निकै खुशी लाग्यो।’
– नेपाल खबर

