काठमाडौं । पछिल्लो समय नेपालमा पनि ‘ब्युटी प्याजेन्ट’ बाक्लै हुन थालेका छन् । विभिन्न जातजातिदेखि क्षेत्रगत तथा उमेर समूहमा हुने ब्युटी प्याजेन्टका समाचार बाक्लै रुपमा आउँछन् ।

‘मिस नेपाल’ यी सबै ब्युटी प्याजेन्टको आइडल प्याजेन्टका रुपमा रहँदै आएको छ । उमेर समूहका हुन् या जातजाति तथा भाषाभाषीका हुन्, अन्ततः उद्देश्य ‘मिस नेपाल’मा सहभागी भएर टाइटल होल्ड गर्ने नै हुन्छ । पुरुषतर्फको प्याजेन्टमा ‘मिस्टर नेपाल’ हुँदै आएको छ । यद्यपि यसको हाइप मिस नेपालको जति छैन ।
मिस नेपालको ¥याम्पमा उत्रिने र त्यसको टाइटल जित्ने जतिको चाहना हुन्छ, त्यतिकै चाहना उक्त प्याजेन्टका प्रस्पिर्धीको ड्रेस डिजाइनमा हुन्छ । कुन फेसन डिजाइनरको डिजाइन कसले लगाउँछ, अथवा त्यो अवसर कसले पाउँछ भन्ने फेसन डिजाइनर र यसका विद्यार्थीहरुका लागि चासोको विषय हो । यो अवसर पाउने त यसै भाग्यमानी भइगयो । केही वर्षयता नेपालमा पनि उत्कृष्ट फेसन डिजाइनिङ हुन थालेको छ । यसलाई अहिले विश्वका उत्कृष्ट फेसन डिजाइनरमध्येका एक प्रवल गुरुङले स्वीकार गरेका छन् । “कहिलेकाहिँ हेर्छु मिस नेपाल । हेर्दा लाग्छ, कसले बनाएको हो यो डिजाइन वाह ! यस्तो डिजाइनर पनि नेपालमा रहेछ भन्ने लाग्छ । यस्ता राम्रा डिजाइन देख्दा खुसी लाग्छ,” प्रवल भन्छन्, “मैले नेपाल छोडेर फेसन डिजाइन पढ्न जाँदा कोही पनि थिएन यहाँ । अहिले फर्किएर आउँदा यति धेरै फेसन डिजाइनर देख्दा खुुसी लाग्छ ।”
मैलेमात्रै ओगटेर हुँदैन
विश्वका ‘हु इज हु’ सेलिब्रेटीलाई प्रवलले आफ्नो डिजाइन लगाइदिइसके, अमेरिकामा मिसेल ओबामादेखि वियोन्सेसम्म । बलिउडमा प्रियंकादेखि आलिया भट्टसम्म । केही समय अगाडिमात्रै उनले आफ्ना फेसन र्याम्पमा जिजी हडिड, एलसी ग्राह्म, अडेसुवा एघेवीलाई हिँडाए । एक सय एक सेलिब्रेटी उनको डिजाइन र फरक थिममा फेसनको रनवे नापिरहेका बेला प्रवललाई केही वर्षयता नेपाली पत्रकारको एउटा प्रश्नले सधैँ ठुँगिरहन्छ, ‘मिस नेपाल’को र्याम्पमा तपाईंको डिजाइन कहिले देख्न पाइन्छ ?
जन्मभूमिका पत्रकारले उनलाई र्याखर्याख्ती पारेपछि प्रवल जवाफ दिन्छन्, “नेपालमा बस्नुभएका डिजाइनरहरु एकदमै ट्यालेन्ट हुनुहुन्छ । सबै मैले हडपेर कहाँ हुन्छ र ? यहाँ भएका डिजाइनरहरुकै डिजाइनले अवसर पाउनुपर्छ । उहाँहरुलाई पनि प्ल्याटफर्म चाहिन्छ, के मैले मात्रै गर्ने ?” नेपाली फेसन डिजाइनरहरुले नेपालमा बसेर काम गरिरहेका बेला प्रवल विश्वका प्रतिष्ठित फेसन शोमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । “कतै न कतै नेपाल र नेपालीलाई रिप्रेजेन्टेसन गर्ने प्रयास मैले गरिरहेको हुन्छु,” प्रवल भन्छन्, “मैले फेसनका माध्यमबाट कसरी विश्वमा नेपाललाई चिनाउन सक्छु, त्यो प्रयास मैले गरिरहेको छु । र, यो प्रयास रहिरहन्छ ।” प्रवल विशेषतः महिला सशक्तिकरण र लैंगिक समानता झल्किने फेसन शो तथा डिजाइन गर्दै आएका छन् ।
नेपालका लागि खोइ डिजाइन ?
इन्टरनेट र पश्चिमा सञ्चारमाध्यमसँगको सहज पहुँचका कारण अहिलेको युवा पुस्ता फेसनेवल भइसकेको छ । क्रय शक्तिले भ्याएसम्म नेपाली पनि फेसन गर्न रुचाउँछन् । बिहीबार पाटन दरबार स्क्वायरमा भेटिएका प्रवललाई कार्यक्रमका सहभागीले सोधेका थिए, तपाईंका डिजाइन नेपालीले लगाउनै नसक्ने गरी कति महँगा ? भर्खरैमात्र गायिका वियोन्सेका लागि प्रवलले तयार पारेको टुलिप स्लिभ, टेलर्स ज्याकेट र ट्राउजरको मूल्य डेढ लाख रुपैयाँभन्दा महँगो थियो ।
प्रवलको जवाफ थियो, “मेरो मामाको गार्मेन्ट उद्योग थियो । नेपालमा सबै क्लासका व्यक्तिका लागि त्यो गार्मेन्टले लुगा उत्पादन गथ्र्यो । नेपालको लुगा भनेकै मास मार्केटमा मात्रै जाने हो भन्ने डिफाइन भइसकेको थियो । म त्यो बेला मैले ए क्लासको क्वालिटीकै लुगा ग्लोवल डिजाइनमै प्रतिस्पर्धा गर्ने गरी बनाउँछु भन्ने सोच्थेँ । संसारभर प्रतिस्पर्धा गर्न क्वालिटी चाहिने थियो ।” प्रवल ९० प्रतिशत डिजाइन अमेरिकामा तयार पार्छन् । केही स्वीटर भने नेपालमै तयार पार्छन् । डिजाइन महँगो भयो भन्ने कम्प्लेन आएपछि उनले केही अन्तर्राष्ट्रिय डिजाइनरहरुसँग सहकार्य गरेर पनि डिजाइन तयार पारे । तर, त्यो पनि नेपालीको पहुँचसम्म आइपुगेन । “समय बितिसकेको छैन, बाँकी छ धैर्य गर्नुस्, समय आउला ।”
यसरी हुन्छ डिजाइन
विश्वकै आइकन सेलिब्रेटीले प्रवलका डिजाइन लगाउँछन् । सेलिबे्रटीको रोजाइमा पर्ने डिजाइन प्रायः प्रवल एक्लै बनाउँदैनन् । समूहमा बसेर बनाउँछन् । “हामी शुरुमा कलेक्सन तयार पार्छौं । दर्जनौं कलेक्सनबाट आइडिया लिन्छौं । तिनै आइडियाहरु मध्येबाट वेष्ट आइडियालाई फाइनल गर्छौं,” उनी भन्छन्, “म एक्लै नै पूर्ण छु र म नै सबैथोक हुँ भन्ने भावना ममा भयो भने म भन्दा मुर्ख कोही हुँदैन ।”
-बाह्रखरी

