-लिलु डुम्रे
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सबैभन्दा ठूलो आकारको प्रदेश कमिटी प्रदेश ३ को हुने भएको छ भने सबैभन्दा सानो कर्णाली प्रदेश हुने भएको छ। प्रदेश ३ को प्रादेशिक कमिटी २ सय १७ सदस्यीय हुने भएको छ भने कर्णाली प्रदेशको कमिटी १ सय ७५ सदस्यीय बन्ने तय भएको छ।

नेतृत्वमा रहेका चार पदाधिकारीले भागवन्डाका आधारमा कमिटीमा रहने सदस्य संङ्ख्या यकिन गरी महासचिव विष्णु पौडेललाई बुझाएका छन्। प्रदेश पदाधिकारी चयन हुनुअघि बनेको कार्यदलले सदस्यको नाम र संख्याको विषय टुंगो लगाउन खटेको थियो। केन्द्रमा गरिएको पार्टी एकीकरणको अनुपातलाई नै आधार बनाएर प्रदेश कमिटीमा भागवन्डा गरी एकीकरणको खाका तयार गरिएको हो।
प्रदेश १
प्रदेश १ को प्रादेशिक कमिटी २ सय ७ सदस्यीय बन्ने भएको छ। १ सय २२ सदस्य पूर्व एमाले र ८५ सदस्य पूर्व माओवादी केन्द्रबाट सहभागी हुने सो प्रदेशको एकीकरण कार्यदलमा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्री काफ्ले रहेका थिए। असोज ५ मा बसेको सचिवालय बैठकले कार्यदलका आचार्यलाई उक्त प्रदेशको इन्चार्ज तोकेको थियो।
कार्यदलमा नपरेका देवराज घिमिरेले अध्यक्षको भुमिका पाएका छन्। सहइन्चार्जमा कार्यदल सदस्य काफ्लेलाई जिम्मेवारी दिइएको छ। सचिवमा सुरेश बहादुर राईले स्थान पाएका छन्।
प्रदेश २
प्रदेश २ मा दुबै पार्टीको भागमा करिब समान सदस्य परेका छन्। २ सय १५ सदस्य रहने प्रदेश २ को कमिटीमा पूर्वएमालेबाट १ सय ८ र पूर्व माओवादी केन्द्रबाट १ सय ७ सदस्य हुनेछन्। पार्टी एकीकरण टुंगाउनका लागि सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह रहेको कार्यदल बनाइएको सो प्रदेशमा मण्डलले प्रमुख जिम्मेवारी पाएका छन्।
प्रभु साहले अध्यक्षको भुमिका पाएका छन् भने सहइन्चार्जमा विश्वनाथ साह छन्। सचिवमा सुमन प्याकुरेलले अवसर पाएका छन्।
प्रदेश ३
संख्याका आधारमा सबैभन्दा ठूलो कमिटी प्रदेश ३ बन्ने भएको छ। पूर्व एमालेलेको भागमा १ सय १६ र पूर्व माओवादी केन्द्रको भागमा १ सय १ गरी २ सय १७ सदस्यीय कमिटी बन्ने सो प्रदेशमा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल रहेको कार्यदल बनाइएको थियो।
कार्यदलकी अष्टलक्ष्मी शाक्यलाई इन्चार्जको भुमिका दिइएको थियो। कार्यदलका काशीनाथ दाहालले प्रदेश नेतृत्वमा स्थान सुरक्षित गर्न सकेनन्। अध्यक्ष, सहइन्चार्ज र सचिवमा क्रमशः नारायण दाहाल, हितबहादुर तामाङ र आनन्द पोख्रेल चयन भएका थिए।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा १ सय ८९ सदस्यीय कमिटि बन्ने भएको छ। पूर्व एमालेबाट १ सय २ र पूर्व माओवादी केन्द्रबाट ८७ सदस्यले उक्त प्रदेशमा स्थान पाउने भएका छन्। सो प्रदेशको एकता प्रक्रिया टुंग्याउन किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारीलाई जिम्मेवारी दिइएको थियो।
कार्यदलमा रहेका हितराज पाण्डेबाहेक अन्य गण्डकी प्रदेश नेतृत्वमा पर्न सकेका थिएनन्। प्रदेश इन्चार्जको जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिम्मेवारी दिइएको छ। पाण्डे अध्यक्ष बनेका छन्। खगराज अधिकारीलाई सहइन्चार्ज र गोविन्द नेपालीलाई सचिवको जिम्मेवारी दिइएको छ।
प्रदेश ५
प्रदेश ५ मा पनि पूर्व एमालेले बढी संख्या प्राप्त गरेको छ। २ सय ३ सदस्यीय प्रादेशिक समितिमा पूर्व एमालेबाट १ सय ५ र पूर्व माओवादी केन्द्रबाट ९८ जनाले प्रतिनिधित्व गर्नेछन्। शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन रहेको कार्यदलले प्रादेशिक कमिटीमा रहने संख्याको पूर्व तयारी गरेको थियो।
पोखरेलले उक्त प्रदेशको इन्चार्जमा स्थान सुरक्षित गरेका थिए। कार्यदलमा रहेका अन्य नेता प्रादेशिक कमिटमा पर्न सकेनन्। प्रदेश ५ मा अध्यक्षमा ओनसरी घर्ती, सहइन्चार्जमा दलबहादुर राना छन् भने सचिवमा जगप्रसाद शर्माले स्थान पाएका छन्।
कर्णाली प्रदेश
पूर्व माओवादी केन्दले एउटा मात्रै प्रदेशमा सदस्य संख्या बढि पाएको छ। कर्णाली प्रदेशमा पूर्व एमालेका भन्दा माओवादी केन्द्रका बढी सदस्य हुनेछन्। उक्त प्रदेशमा माओवादी केन्द्रका ८८ रहने भएका छन् भने पूर्व एमालेबाट ८७ जनाले स्थान पाउने भएका छन्। कर्णाली प्रदेश एकता प्रक्रियामा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा रहेको कार्यदल जेठमा गठन गरिएको थियो। कार्यदलमा रहेका ज्ञवालीे प्रदेश कमिटीमा अट्न सकेनन्।
जनार्दन शर्माले कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन्। गोरखबहादुर बोगटीलाई अध्यक्ष, यमलाल कंडेललाई सहइन्चार्ज र सचिवमा मायाप्रसाद शर्मा छनोट गरिएको छ।
सुदुरपश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेश कमिटी भने १ सय ८३ जनाको बन्ने भएको छ। सुदुरपश्चिम प्रदेशमा पनि पूर्व एमालेको बाहुल्यता रहने भएको छ। पूर्व एमालेबाट १ सय र पूर्व माओवादी केन्द्रबाट ८३ जनाले स्थान पाउने प्रदेशमा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी रहेको कार्यदल बनाइएको थियो।
पूर्व माओवादी नेता भट्टले प्रदेशका नेतृत्व प्राप्त गर्न सकेनन्। कार्यदलमा रहेका अन्यले भने पदाधिकारीको भुमिका पाएका छन्। प्रदेश ७ को मुख्यपदमा भीम रावलले स्थान पाएका छन्। रावललाई इन्चार्ज, थापालाई अध्यक्ष र जोशीलाई सहइन्चार्जमा जोशी र सचिवमा नेप चौधरीले स्थान पाएका छन्।
गत बिहिबार बसेको सचिवालयको बैठकले प्रादेशिक कमिटिको संख्या र नामावलीलाई अन्तिम रुप दिन दुई सदस्यीय कार्यदल बनाएको थियो। महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा रहेको कार्यदलले आएका नामहरु रुजु गर्ने र थपघट गर्ने अधिकार पाएको छ। सचिवालयको बैठकले पारित गरेको निर्णयलाई स्थायी समितिले अनुमोदन गर्नेछ। स्थायी समिति बैठकका लागि सोमबार र मंगलबार बैठक बोलाइएको भएपनि सो बैठक रोकिएको छ।
-नेपाल लाइभ

