(फर्केर हेर्दा: “हाम्रो युग” नियमित शृंखलाको ५ औं भाग)
-बिद्याप्रसाद घिमिरे
प्रशिक्षकबाट ‘गोडाफाट’ को आदेश आउनासाथ सबै सहभागी आफ्नो जोडिएको गोडालाई निश्चित दूरीमा फट्याएर बस्थे, तर ऊ चुपचाप उभिरहन्थ्यो । गोडा फट्टाउनुको चित्तबुझ्दो जवाफ नआएसम्म ऊ कसैको आदेश मान्न तयार थिएन । उसलाई सम्झाउन उच्च ओहोदाका अधिकारी आउँथे । पेलेर पेल्न सक्ने अवस्था पनि त थिएन, किनकि उसको बुद्धि अत्यन्त प्रखर थियो ।

आखिर बुद्धि नै नभई ऊ दर्शनशास्त्रजस्तो जटिल विषयको प्रोफेसर बनेको पनि त थिएन । उसले सेनाका रथीहरूको बोली बन्द गराएको थियो । बल्लतल्ल उसलाई सम्झाइबुझाई गरेर ठाउँमा ल्याउँथे । तर एक शब्दबाट ऊ पटक–पटक भड्किन्थ्यो । प्रशिक्षकबाट ‘छिटो हिँड्’ भन्दा सुरूका दिनमा ऊ पनि हिँडेको हो । ‘पूरा फर्क’ भन्दा फर्केको पनि हो र ‘अड्’ भन्दा अडेको हो , तर एक पटकका लागि मात्र । हरेक काममा हुने पहिलो अभ्यासबाट नै उसले लाख कुरो बुझिसकेको हुन्थ्यो । अर्को पटक प्रशिक्षकबाट ‘छिटो हिँड्’ भन्ने आदेश सुन्नासाथ ऊ भडकिन्थ्यो र प्रशिक्षकतिर नै प्रश्न तेस्र्याउँथ्यो, “किन हिँड्ने ? कहाँ पुग्ने ? त्यहाँ गएर गर्नुपर्ने काम के हो ? यदि कुनै काम नै नगरी त्यत्तिकै फर्कने र यहाँ आएर अडिने हो भने यहीँ बसिरहँदा के फरक पर्छ ? यसको चित्तबुझ्दो जवाफ नपाई म त्यहाँ जान सक्दिन ।” यस्ता सयौं प्रश्न उसको मुखबाट एकसाथ बर्सन्थ्यो । धेरै नै सवाल–जवाफ हुन थालेपछि उसलाई अलग्याएर तालिम अघि बढाइयो । तालिम लिन आएको उसलाई कुनै न कुनै काममा व्यस्त राख्नै पर्ने हुन्थ्यो । उसलाई प्रशिक्षकले मेसमा लिएर गयो र केराउका दानामध्ये ठूलो र सानो छुट्याएर अलग–अलग भाँडोमा राख्ने काम दियो ।
एक घन्टापछि हेर्न जाँदा ऊ केराउको थुप्रोअगिल्तिर चिउँडोमा हात अड्याएर बसिरहेको थियो । प्रशिक्षकले आश्चर्य मान्दै सोधे । “किन यत्तिकै बसिरहेको प्रोफेसर, मैले बुझाउन सकिन कि कुनै समस्या आयो ?” उसले उत्तर दियो, “अरु सबै त ठीक छ, मैले काम सुरु गरिसकेको छु, तर बीचमा एउटा समस्या आयो । सानो दाना एउटा भाँडोमा र ठूलो अर्को भाँडोमा राख्दै गएँ, यत्तिकैमा मझौला आकारको दाना भेटियो । यो मझौला दाना कुन भाँडोमा राख्ने ? कतै मिसाउन पनि नमिल्ने होला । फेरि यसबारे तिम्रो राय के छ ? त्यो पनि बुझ्नु थियो । त्यही भएर म एक घन्टादेखि तिमीलाई पर्खिरहेको छु ।” यस किसिमको बौद्धिक र तर्कवादी व्यक्ति फौजी प्रकृतिको निकायमा काम छैन । आफूमा भएको सबै तर्क, बुद्धि र मानवीय सम्वेदनालाई मारेर केवल आदेशको पालना गर्नु नै फौजीको कर्तव्य हो ।
प्रहरीमा पनि यही हो । भीडभाडमा लाठी हान्न जानुपर्ने । उता कमाण्डरले ‘लाठी चार्ज’ गर्ने आदेश दिइसक्छ यता दर्शनवादी सोच्न थाल्छ, यसलाई किन लौरोले हिर्काउने ? यसलाई आजसम्म मैले देखेको छैन र चिनेको पनि छैन । मेरो केही बिगार गरेको पनि छैन । यसको बालबच्चा, बाबुआमा र पत्नी घरमा बाटो हेरेर बसिरहेका होलान् । यसरी अनाहकमा मैले लाठी हानेर घाइते बनाउनु उचित हुँदैन । आखिर मान्छेलाई बाँच्ने अधिकारबाट मानिसले नै बञ्चित गर्न मिल्ने कुरो हुँदैन । त्यसैले पख्नोस् एकछिन मलाई सोच्न दिनुहोस् त्यसपछि लाठी, गोली हान्न मिल्ने हो कि होइन राम्रोसँग बुझेपछि मात्र म काम गर्नेछु भन्ने मानिस प्रहरी र सेनामा काम छैन ।
म अब उही पुरानो गन्थनमा फर्कँदैछु । प्रहरीमा भर्ना हुन मैदानमा उभिएका प्रतिष्पर्धीहरूसँग एक शब्द पनि नबोली छनोट गर्ने अधिकारीहरू फटाफट छनोट गर्दै गइरहेका थिए । जागिरे हुन कसैको भनसुन र सिफारिस नचाहिने भएर पनि होला, छनोट गर्ने अधिकारीले कुनै प्रतिष्पर्धीको नाम, थर र ठेगाना सोधेको सुनिएन । पहिलो चरणमा यसरी छानिएका युवाहरूको वास्तविक परीक्षा भने सुरु हुन बाँकी नै थियो । यसरी छानिएकाहरूको आँखा, कान, हातखुट्टा काम गर्न सक्ने स्थितिमा छन् कि छैनन् हेर्ने परीक्षा सुरु हुन लागेको थियो । यी सबै परीक्षणका लागि चउरको अर्को कुनामा राखिएको टेबुलमा चिकित्सा क्षेत्रका केही कर्मचारी थिए । छानिएकाहरू एक–एक गर्दै त्यस टेबुलमा पुगे । तल्लो दर्जामा भर्ना हुन आएका अधिकांश युवाहरू ग्रामीण थिए, धेरै त विद्यालयको मुखसम्म नदेखेका थिए । दृष्टिदोष जाँच्न कागज पढ्न लगाइयो । अक्षर चिनेकाले पढेर सुनाए । पढ्न नजान्नेका लागि त्यही कागजको छेउमा अक्षरकै आकारका चित्रहरू थिए । चित्रहरू भरसक ग्रामीण भेगमा पाइने रुख, गाई, भैंसी, गोरु, बाख्रा, हलो, कोदालो आदिका थिए ।
बोलीचालीमा यसो गर, उसो गर भनेको बुझ्यो र सोहीबमोजिम काम ग¥यो भने कान र दिमाग ठीक भएको अनुमान लगाइन्थ्यो र ऊ श्रवण परीक्षामा उत्तीर्ण हुन्थ्यो । लाज ढाक्ने एकसरो कपडामा उभिएका प्रतिष्पर्धीलाई छिटो–छिटो केही पाइला हिँड्न लगाइयो र अगाडि झुक्दै जमिनमा हात टेकेर घोप्टो पर्न लगाइयो । यति गर्न सक्ने जति सबैको ढाड र आत ठीक भएको अनुमान गरियो । उनीहरू शारीरिक परीक्षामा उत्तीर्ण भए । यति धेरै परीक्षाहरू पार गरिसक्दासम्म ऊ कहाँबाट आएको कसको सन्तान हो, नाम के हो, उमेर कति हो भन्नेमा कसैलाई सरोकार थिएन । परीक्षाका सबै प्रक्रिया सम्पन्न भएपछि हाम्रो काम सुरु भयो । उनीहरूको अभिलेख राख्नका लागि हामी आवश्यक विवरण बुझ्न थाल्यौं ।
एक–एक गर्दै उनीहरूलाई हाम्रो टेबुलसामुं पठाइयो । न कसैसँग शैक्षिक प्रमाणपत्र छ, न नागरिकताको प्रमाणपत्र । छिटपुछ आठ र त्योभन्दा तल्लो कक्षाका प्रमाणपत्र भेटिए । नाम, ठेगाना, जन्ममिति, बाबुको नाम आदि त्यही प्रमाणपत्रमा छँदै थियो, हामीले आफू सँग भएको अभिलेख फारममा त्यही विवरण टिप्यौँ । प्रमाणपत्र नहुनेको विवरणको आधार भनेको उसको मुखबाट निस्केको बोली नै हो । उसले यो टेबुलमा आएर जे बताउँछ उसको जागिरे जीवन र बाहिरी जीवनका लागिसमेत त्यही विवरण अकाट्य ढुङ्गे अक्षर बन्थ्यो । ………क्रमश

