बेइजिङ । गएको जनवरीदेखि चीनमा यौन दुव्र्यवहारका घटना सार्वजनिक गर्ने क्रम बढेको छ । यो क्रम विश्वविद्यालय, मिडिया, खेलकुद, गैह्रसरकारी संस्था र धार्मिक स्थलमा पनि देखिएको छ । २० भन्दा बढी बौद्धिक व्यक्ति, मिडियाकर्मी तथा अभियन्ताहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । सार्वजनिक रुपमा लज्जित गरिएका विश्व विद्यालयका प्राध्यापकहरुलाई पदबाट हटाइएको छ ।
चीनको शिक्षा मन्त्रालयले विश्वविद्यालयहरुमा यौन दुव्र्यवहारबाट जोगाउनका लागि संस्थागत संयन्त्रलाई कार्यान्वयन गर्न आग्रह गरेको छ । त्यस्तै, देशको विधायिकाले पनि यौन दुव्र्यवहारको विरुद्धमा कानुन ल्याउने तयारी गरिरहेको छ ।

एक पार्टी राज्य रहेको चीनमा महिला अभियन्ता र सार्वजनिक जनजीवन केन्द्रिय प्रशासनको कडा नियन्त्रणमा रहेको छ । यो अभियानले अहिले सामाजिक सञ्जालमार्फत जनताको शक्ति देखाउने काम गरिरहेको छ । स्टोरी शेयरिङ्, सेन्सरसीप विरुद्धको रणनीति बनाउने कार्य जस्ता गतिविधि भइरहेका छन् । पीडित, मिडिया, कानुन व्यवसायी र नागरिक समाजबीचको कार्यगत एकता भइरहेको छ ।
चीनमा ‘मि टू’ मुभमेन्टमा सहभागीहरुले यौन दुव्र्यवहारका बारेमा रचनात्मक छलफल व्यापक बनाउँदै लगेका छन् । उनीहरुले यसका लागि सामाजिक सञ्जालकोसमेत उत्तिकै प्रयोग गरेका छन् । उनीहरुले सेन्सर गरिएका सामग्रीहरुलाई ‘स्क्रिनसट’ र ‘ब्लकचेन’को माध्यमबाट सेभ गरेर राख्ने गरेका छन् ।
जब ‘मि टु’को ह्यासट्याग चीनमा सेन्सरमा पर्यो तब चीनमा ‘ओएसी’ नामको ह्यासट्याग ल्याइयो । ‘मितु’ पनि ल्याइयो । त्यसमा सुन्दर खरायोको कार्टुनले भात खाइरहेको तस्बिर राखिएको छ । अर्को प्रमुख सामाजिक मिडिया एप, वि च्याट लगायतमा पनि पीडितहरुको ‘स्क्रिनसट’ फैलाउने काम गरिएको छ । जसमा यौन दुव्र्यवहारका कथा, मिडिया अनुसन्धान र कमेन्टहरु समावेश गरिएका छन् । माथि देखि तल सम्म राखिएका तस्वीरहरु फिल्टर गर्ने मामिला राज्य प्रणालीलाई अप्ठेरो भइरहेको छ ।
सामाजिक सञ्जालको रणनीतिका अतिरिक्त अभियन्ताहरुले सेन्सरसीपबाट जोगिने प्रयास समेत गरेका छन् । उदाहरणका लागि पेकिङ्ग विश्वविद्यालयका विद्यार्थी यु झिनले ‘ब्लकचेन’ प्रयोग गरेका छन् । जसमा बिटक्वाइन ट्रान्जिक्सन डेटा मार्फत काम भइरहेको पाइएको छ । त्यसले पीडितका खुलापत्र सेन्सर हुनबाट जोगाउने गरेको छ । उनको काममा कार्यालयको हस्तक्षेप भएपनि उनले आफ्नो अभियान चलाइरहेकी छन् । उनले २० वर्ष पुरानो यौन सम्बन्धको सूचना बाहिर ल्याएकी थिइन् । उनका समर्थकले उनको पत्रलाई ‘ब्लकचेन’मा हालेका थिए । त्यो चिठी अहिले स्थायी रुपमा नै सेभ गरिएको छ । उक्त चिठी बिटक्वाइन ट्रान्ज्याक्सनमा जाने मान्छेले हेर्ने गरेका छन् ।
नयाँ मिडिया आउटलेट ‘म्याटर्स’ले पनि ब्लकचेनमा आधारित आफ्नो वेवसाइटमा यौन दुव्र्यवहारबारेको सामग्री सेभ गरेको छ । र, केही अज्ञात अभियन्ताहरुले त्यो प्रविधि प्रयोग गरी ‘स्नोफ्लेक्स’ भन्ने वेवसाइट खोलेका छन् । त्यस मार्फत् पीडितका पीडाहरु सेयर गर्ने गरिएको छ । कानुनी र मानसिक सहयोग तथा परामर्शमा तल्लो तहका समूहहरुले ‘गीटहब’ को प्रयोग गर्ने गरेका छन् । प्रविधिका अतिरिक्त विभिन्न समूहहरुबीचको आपसी सहयोगले पनि चीनको ‘मिटू’ अभियानलाई अगाडि बढाइरहेको छ । ती समूहमा पत्रकार, कानुन व्यवसायी, पीडित र सामाजिक सञ्जालका अभियन्ताहरु छन् । जसले यो अभियान अघि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
विश्वविद्यालय क्षेत्रको अवस्था यसको एउटा उदाहरण हो । गएको जनवरीमा बेइहाङ्ग विश्वविद्यालयका पूर्व ग्राजुएट लुओ झीझीले स्वतन्त्र खोजी पत्रकार हुआङ्ग झुएकीन र मानवअधिकार सम्बन्धी कानुन व्यवसायी वान मियाओयानको सहयोग पाइन् । झीझीले विश्वविद्यालयका पूर्व सल्लाहकार चेन जिआओवुबाट यौन उत्पीडनमा परेको जनाएकी थिइन् ।
उनको यो मुद्दाका कारण चीनको बेइहाङ्ग विश्वविद्यालयले सल्लाहकारलाई अपदस्थ गरेको छ र यसप्रकारको गतिविधि रोक्नका लागि आवश्यक कदम चाल्ने सो विश्वविद्यालय चीनकै पहिलो भएको छ । विश्वविद्यालय क्षेत्रमा मात्रै होइन कि गएको जुलाई देखि पीडितहरुका कुरा बेइजिङ्ग न्यूज, चाइना न्यूजवीक, द पेपर, काइसिन मिडिया, द पोट्रेट म्यागेजिनलगायतले निरन्तर रुपमा समाचार दिँदै आइरहेका छन् ।
पीडितहरुले उनीहरुका कथाहरु पहिला सामाजिक सञ्जालमा सार्वजनिक गरे र मिडियाहरुले त्यसको आधिकारिकताका बारेमा कुराकानी गरेर, कागजात चेक गरेर यौन दुव्र्यवहारको प्रकृति बुझे र अनुसन्धान गरे । दुव्र्यवहारका पीडित पक्षलाई संयुक्त रुपमा संरक्षण तथा तालीम लगायतको व्यवस्था गरियो । यौन दुव्र्यवहारमा परेका महिलाहरुका लागि एनजीओ मिटू, एनजीओ सीएन तथा अरेन्ज अम्ब्रेला तथा अन्य तल्लो तहका समूहले मनोवैज्ञानिक र कानुनी सहयोगको अफर गरे । यौन दुव्र्यवहार विरुद्धका गोष्ठीहरुको आयोजना गरे । अनि आफैं कसरी यस्ता गतिविधिबाट बच्ने भन्ने रणनीति आपसमा शेयर गरे । यद्यपि उनीहरुको संयुक्त प्रयासले भने जस्तो काम गर्न भने सकेको छैन ।
चीनको मिटू मुभमेन्टमा त्यहाँको सामाजिक अवस्थाको प्रभाव परेको छ । लैंगिक समानतालाई प्रवद्र्धन गर्ने खालका वेवसाइटहरु सेन्सरमा परेको पाइएको छ । अर्को कुरा यौन दुव्र्यवहारको घटनाबारेको सचेतना जब अगाडि आउँछ यो केवल एलीट वर्गमा मात्रै केन्द्रित हुने गरेको छ । तर, सामान्य नागरिकहरुले यसमा बढी ध्यान दिइरहेका छन् ।
जस्तो कि भ्याक्सिन स्क्यान्डल जसले दैनिक गतिविधिमा नै असर गरेको थियो । अझै पनि कतिपय प्रबुद्ध मान्छेले समाजको अवस्था नै खल्बल्याउने हिसाबले काम भइरहेको जनाउने गरेका छन् । त्यसले यो मामिलालाई पछि धकेल्ने काम गरेको छ । र, उनीहरुले यो अभियानलाई बढाइचढाइ गरिएको भन्ने अर्थ लगाइरहेका छन् । जस्तो कि एक प्रसिद्ध बुद्धिजिवी तथा राजनीति शास्त्रका प्राध्यापक लिउ युले यो कुराले गलत दाबीलाई मद्यत गर्न सक्ने भएकाले सामाजिक सञ्जालमा आवाज उठाउनु भन्दा कानुनी प्रक्रियामा जानु ठीक हुने सुझाव दिए ।
त्यस्तै, मिडिया प्रयोगकर्ता झाङ वेनले चिनियाँ संस्कृतिको हिसाबले ठूला जमघटमा किस खाने वा माया गर्ने कुरा असामान्य नभएको बताए । यो अवस्थाले गर्दा चिनियाँ समाज अझै पनि लैंगिक समानताकालागि अगाडि बढ्न लामो दूरी हिंड्न बाँकी देखिन्छ ।
संयुक्त अभियानले काम गरेपनि त्यसका लागि उपचारात्मक गतिविधि सीमित मात्रै देखिएका छन् । सार्वजनिक भएका मुद्धाका आधारमा कतिपय निकायले त्यस्ता व्यक्तिलाई बर्खास्त गरेपनि कतिपय निकाय भने त्यस्ता कुराहरुमा प्रणालीगत जवाफदेहितामार्फत जानबाट पन्छिएको पाइएको छ ।
(अलजजिराको रिपोर्टमा आधारित)

