टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोगानले पत्रकार जमाल खशोग्गीको हत्या सुनियोजित रुपमा भएको बताएका छन्। सरकारमा रहेको आफ्नो पार्टीका सांसदसँगको छलफलका क्रममा उनले अक्टोबर २ मा पूर्व योजना बनाएर नै खशोग्गीको हत्या भएको बताए।

यसअघि साउदी अरेबियाले झडपका क्रममा उनको हत्या भएको बताएको थियो। एर्दोगानले खशोग्गी हत्या प्रकरणका आरोपितलाई टर्कीमै मुद्दा चलाउनुपर्ने समेत बताएका छन्।
उनले साउदी अरेबियासँग खशोग्गीको लाश कहाँ छ भनेर समेत प्रश्न गरेका छन्। उनले घटना कसले गराएको त्यसको जानकारी पठाउन साउदीसँग आग्रह गरेका छन्।
टर्किस राष्ट्रपति एर्दोगान
एर्दोगानले सांसदसँगको छलफलका क्रममा साउदी नागरिकका ३ टोली खशोग्गी हत्यामा संलग्न भएको बताएका थिए। उनले १५ जना साउदीका एजेन्टहरु विभिन्न फ्लाइटमा आएको, खशोग्गी हत्यापश्चात उनीहरुले टर्की छाडेको समेत जानकारी दिए।
उनले साउदी वाणिज्य दूतावासले सिसिटिभी क्यामेरा समेत हटाएको आरोप लगाए।
अमेरिकी सञ्चार संस्था सिएनएनले प्रकाशित गरेको समाचारले समेत खशोग्गी हत्या सुनियोजित भएको पष्टिगर्ने विश्लेषकहरु बताउँछन्। सिएनएनले सार्वजनिक गरेको भिडियोमा खशोग्गी तथा साउदी एजेन्टहरु वाणिज्य दूतावास पसेको दृश्यहरु देखाइएको छ।
खशोगी दूतावास छिरेको केही बेरमा खशोग्गीकै पहिरणमा एक व्यक्ति निस्कन्छन्। शारीरिक बनावट खशोग्गीजस्तै भएपनि जुत्ता र कपालले उनी खशोग्गी होइनन् भन्ने पुष्टि हुन्छ। सोही व्यक्ति खशोग्गी हुन् भनेर दूतावासले झुक्याउने प्रयास गरेको प्रस्ट हुने बताइएको छ।
यसअघि साउदीले खशाग्गी सकुशल बाहिर निस्किएको प्रतिक्रिया दिने गरेको थियो। टर्कीस राष्ट्रपति एर्दोगानले आरोपित सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताएका छन्।
खशोग्गी मृत्यु प्रकरणको सम्पूर्ण जानकारी
अक्टोबर २ तारिखका दिन पत्रकार जमाल खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावास पुगेका थिए। त्यसपछि उनी त्यहाँबाट फर्किएनन्। उनी बेपत्ता भए।
उनीसँगै उनका टर्किस प्रेमिका त्यहाँ पुगेकी थिइन्। साउदी नागरिक खशोग्गी आफ्नी प्रेमिकासँग विवाह गर्न चाहन्थे। त्यसैकारण पत्नीसँगको सम्बन्ध विच्छेद भएको कागजात लिन उनी टर्किस दूतावास गएका थिए।
स्थानीय समयअनुसार दिउँसो एक बजे दूतावास पुगेका खशोग्गीलाई बाहिरै दश घण्टा जति पर्खिएपछि प्रेमिका फर्किइन। त्यसपछि ३ तारिखमा टर्कीले खशोग्गी बेपत्ता भएको खबर विश्वभर सार्वजनिक गर्याे।
खशोग्गीले प्रेमिकालाई आफू दूतावासबाट नबाहिरिए घटनाबारे टर्कीस राष्ट्रपतिका सल्लाहाकारलाई यसबारे बताउन भनेका थिए। टर्कीले खशोग्गी बेपत्ता भएको सुरुवातदेखि नै साउदी एजेन्टहरुले नै उनको हत्या गरेको आरोप लगाएको थियो।
अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत अन्य यूरोपेली मूलुकले समेत यस विषयमा जवाफ दिन साउदी अरेबियालाई दबाब दिएको थियो। तर, साउदीले बारम्बार खशोग्गी हत्यामा आफ्नो संलग्नता नभएको बताउँदै आएको थियो।
साउदी अधिकारीले खशोगी दूतावासबाट सकुशल त्यसैदिन फर्किएको प्रतिक्रिया दिने गरेका थिए। तर, १८ दिनपछि साउदी अरेबीयाले शनिबार पत्रकार खशोग्गीको मृत्यु भएको पुष्टि गर्यो।
साउदीको सरकारी टेलिभिजनले खशोग्गीको मृत्यु दूतावासका अधिकारीसँगको झडपको क्रममा भएको स्वीकार गरेको हो।
खशोगीको मृत्यु प्रकरणसँगै पत्रकार खशोग्गी किन दूतावसमै मारिए भनेर सबैले प्रश्न गरिरहेका छन्। साउदीका राजकुमार सलमानकै निर्देशनमा उनको हत्या भएको हुनसक्ने समेत आशंका गरिएको छ।
किन मारिए खशोग्गी
कुनै समय साउदी राज परिवारसँग राम्रो सम्बन्ध भएका खशोग्गी र साउदीको सम्बन्धमा केही समययता चिसोपना छाएको थियो।
साउदीका विभिन्न समाचार संस्थामा सम्पादकको भूमिका निभाइसकेका खशोग्गीले साउदी सरकारको सल्लाहाकारको रुपमा समेत काम गरेका थिए। उनले आतंककारी नेता ओसामाबिन लादेनसँग समेत अन्तर्वार्ता लिएका थिए।
गतवर्ष साउदी छाडेर अमेरिका पुगेका खशोग्गीले वासिङटन पोस्ट पत्रिकाबाट साउदी सरकारको नीति, राजकुमार मोहम्मद विन सलमान, राजा सलमानको आलोचना गर्दै आएका थिए।
उनले साउदीले आतंककारी समूहविरुद्ध साउदीले कुनै कदम नचालेको समेत बताएका थिए। उनले गिरफ्तार हुने डरले साउदी छाडेको बताउँदै आएका थिए।
साउदीको आलोचना गरेकै कारण खशोग्गीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। यस विषयलाई साउदी सरकारले अस्वीकार गरेको छ।
एजेन्सी

