म्याद थप्याथप्यै, काममा प्रगति छैन

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार

कञ्चनपुर — कञ्चनपुरको महाकाली नगरपालिकाको मुख्य सडक झोलुंगे–कुतियाकभर साढे ११ किलोमिटर सडक निर्माणको सम्झौता सकिएको २ महिना भईसक्यो । तर हालसम्म न म्याद थपिएको छ नत काम नै सुरु भएको छ । निर्माण कम्पनीले गत वर्ष केही ठाउँमा ग्राभेल भरान गरे पनि त्यो बाढीले बगाइसकेको छ ।


उक्त सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरडीपी) अन्तर्गत २०७४ वैशाखमा १५ महिनाभित्र काम सक्नेगरी महालक्ष्मी एमकेजेभी निर्माण कम्पनीसँग ६ करोड ९६ लाखमा सम्झौता भएको थियो । एसएनआरडीपीले निर्माण कम्पनीको धरौटी जफत गर्न बैंकलाई समेत पत्राचार गरिसकेको छ । यसैगरी निर्माण कम्पनीलाई पनि धरौटी जफत नगर्नुपर्ने कारणबारे स्पष्टीकरण सोधिसकेको एसएनआरडीपीका इन्जिनियर प्रदीप पन्तले बताए ।

‘निर्माण कम्पनीले अहिले आएर म्याद थपका लागि आवेदन दिएको छ,’ इन्जिनियर पन्तले भने, ‘तर एक पटकको म्याद सकिँदासम्म २० प्रतिशत पनि काम सकिएको छैन ।’ उनले जिल्लामा एसएनआरडीपी अन्तर्गत निर्माणाधीन योजनाको काम समयमा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको बताए ।

सोही कार्यक्रम अन्तर्गत निर्माणाधीन कृष्णपुरको वाणी– देखतभुली सोढ ६ किलोमिटर सडकको निर्माण कार्य पनि अलपत्र नै छ । ०७३ असारमा १५ महिनाको म्याद सकिएपछि थप गरिएको ८ महिनाको अवधिमा पनि आधा मात्रै काम भएको छ । एकपटक थपिएको ८ महिनाको म्याद चैतमा सकिएको हो ।

उक्त सडक कालोपत्रे गर्न सन्तोषी थेगिन जेभी धनगढीसँग ३ करोड ९२ लाखमा सम्झौता भएको हो । सोही सडक निर्माणका लागि उक्त कम्पनीले कृष्णपुरको बण्डा नदी किनारमा अस्थायी क्रसर उद्योग पनि सञ्चालन गरेको छ । तर सडक निर्माणमा भने चरम लापरबाही देखिन्छ ।

‘ठेकेदार सम्पर्कमै आउन चाहँदैनन्,’ इन्जिनियर पन्तले भने, ‘पटकपटक पत्राचार र फोन गर्दा पनि सम्पर्क हुन सकेको छैन ।’ उनका अनुसार उक्त सडक खण्डको साढे ५ किलोमिटर बेस निर्माणको काम मात्र सकिएको छ । १ किलोमिटर बेस निर्माण र ओटासिल गर्ने काम अलपत्र रहेको उनले बताए । उक्त कम्पनीलाई पनि कारबाहीका लागि जिल्ला प्रशासनमा पत्राचार गरिएको पन्तले जानकारी दिए ।

एसएनआरडीपी अन्तर्गतकै महेन्द्रनगर बजारदेखि बागफांँटा–सुन्दरपुर–सिसैया साढे ९ किलोमिटर सडकको काम पनि अलपत्र नै छ । अन्य सडकभन्दा उक्त सडकको निर्माण कार्यमा प्रगति भए पनि थप गरिएको समयावधि सकिएको ६ महिनाभन्दा बढी भइसक्दा समेत काम सकिएको छैन ।

उक्त सडक निर्माणका लागि २०७३ असोजमा राजेन्द्र मालिका जेभी निर्माण कम्पनीसँग ५ करोड १ लाखमा १५ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो । ५ महिना थप गरिएको समयावधि पनि वैशाखमा सकिएको छ । तर अझै १५/२० प्रतिशत काम बांँकी रहेको इन्जिनियर पन्तले बताए ।

‘ओटासिलको काम सम्पन्न भएको छ,’ उनले भने, ‘तर अझै पनि स्यान्डसिल (कालोपत्रे माथि बालुवाको धुलो हाल्ने) गर्ने काम बांँकी छ ।’ निर्माण कम्पनीले तिहार अघि नै काम सक्ने प्रतिबद्धता जनाएकाले कारबाहीका लागि पत्राचार नगरिएको उनले जानकारी दिए ।

निर्माण कम्पनीहरूले पनि विभिन्न बहाना बनाउँदै काम अल्झाउने गरेका छन् । उनीहरूले निर्माण सामग्रीको अभाव, कामदार र उपकरण आदिको अभाव देखाउँदै काम समयमै नसकिएको बताएका छन् ।

‘नगरपालिकाले अस्थायी क्रसर उद्योग राख्न नदिँदा निर्माण सामग्री अभाव भई काम सुरु गर्न नसकिएको हो’ झोलुंगे–कुतियाकभर सडक निर्माणको ठेक्का पाएको महालक्ष्मी एमकेजेभीका प्रबन्धक चक्र शाहले भने, ‘अहिले नगरपालिकाले अनुमति दिएपछि क्रसर सञ्चालनको तयारीमा छौं, अब छिट्टै काम सुरु गरेर ३ महिनाभित्र सक्छौं । ‘उनले २० हजार घनमिटर क्रसरबाट उत्पादित सामग्री आवश्यक पर्ने भएकाले अब निर्माण कार्यमा अवरोध नहुने बताए ।

स्थानीय प्रशासनले पनि समयमा काम नगर्ने निर्माण कम्पनीको नामलिस्ट संकलन गरेको गृह मन्त्रालयमा पठाएको थियो । तर हालसम्म त्यस्ता निर्माण कम्पनीलाई कुनै पनि कारबाही हुन सकेको छैन । त्यतिबेला केहीलाई बोलाएर स्पष्टीकरण सोध्नेबाहेक कुनैलाई पनि सचेत पार्ने र कारबाही गर्ने काम हुन सकेन ।कान्तिपुर न्युजबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu