उनका श्रीमानले राजा त्रिभुवनसँग भेट गर्न लगेछन्। श्रीमानले भनेका थिए, ‘एकदम झुकेर हात जोडेर दर्शन गर्नू है।’
‘मैले गर्ने सलाम जस्तो छ, त्यस्तै गर्छु,’ उनले भनिछन्। राजा त्रिभुवनका साथमा महावीरशमशेर र नरशमशेर पनि थिए।
‘आदाव अर्ज,’ उनले भनिछन्। ‘कित्ना अच्छेसे सलाम किया है,’ राजा त्रिभुवनले खुसी हुँदै भनेछन्।

‘हामीलाई पछि फेरि राजाले पार्टीमा बोलाउनुभयो,’ पुराना दिन सम्झँदै ८८ वर्षीया रजीया बेगमले भनिन्, ‘त्यो बेला महेन्द्र पनि थिए। उनीहरूका श्रीमती पनि थिए। हामी बाहिर बगैंचामा बसेका थियौं। गीत बज्न थाल्यो। कोही गाउन थाले। त्यही बेला मलाई पनि शर्माजीले एउटा गीत सुनाउन भने।’
शर्माजी अर्थात् बिएल शर्मा। रजीया बेगमका श्रीमान। शर्माको इन्द्रचोकमा प्रख्यात मिठाई पसल ‘अमृत भण्डार’ थियो। उनी राजा त्रिभुवनसँग निकट थिए। त्यही निकटताले उनीहरूलाई त्यो पार्टीसम्म पुर्याएको थियो। अनि गीत गाउनुभयो त?,’ मैले जान्न चाहेँ।’मैले गजल गाउँछु भनेर शर्माजीले राजालाई भनेका थिए। उहाँले गाउन लगाउनुभयो। मैले एउटा गजल सुनाएँ,’ यसो भन्दै गर्दा रजीयाको मन मात्रै होइन, आँखा पनि हाँसिरहेका थिए।मैले रजीयाको त्यो सुखद पललाई वर्तमानमा आत्मसात् गराउँदै अनुरोध गरेँ, ‘कुन गजल हो? गाउनुस् न!’
‘दिल मुझे ऐसी जगह ले चल जहाँ कोई न हो
अपना पराया मेहरबां ना-मेहरबां कोई न हो
ए दिल मुझे ऐसी जगह ले चल…
जाकर कहीं खो जाऊँ मैं, नींद आए और सो जाऊँ मैं
नींद आए और सो जाऊँ मैं
दुनियाँ मुझे ढूँडे मगर मेरा निशां कोई न हो
ए दिल मुझे ऐसी जगह ले चल…जहाँ कोई न हो’
मजरुह सुल्तानपुरीको शब्द र तलत मेहमुदको स्वरले ५० को दशकलाई मुग्ध पारेको त्यो कालजयी हिन्दी गजल रजीयाले आँखै रसाउने भावमा गाएर सुनाइन्। त्यो बेला राजा त्रिभुवनले गजल सुनेर के भने होलान्? मेरो उत्सुकता बढ्यो।’सबैले मनपराए,’ उनले भनिन्, ‘राजा त्रिभुवनले मेरो नाम रजीयाबाट ‘मधु’ बनाइदिनुभयो।’ उनको स्वरको मिठासले भारतका प्रसिद्ध गायिकालाई पनि लोभ्याएको रहेछ। रजीयाका अनुसार उषा मंगेशकरसँग भेट हुँदा बम्बई आएर गीत गाउने अनुरोध गरेकी रहिछन्। उषाले बम्बईमा तालिम दिने प्रस्ताव राखिछन्। तर बुबा र परिवारले नपठाउँदा जान पाइनछिन्।उनी भन्छिन्, ‘पहिलेको जमानको मान्छे। बुबाहरूले पठाउँदैनथे। फेरि मुसलमानको जात। त्यसैले जान पाइनँ।’त्यति मात्र होइन, उनले गाएको ‘नातिया कलाम’ (हिन्दूहरूको भजनजस्तै) सुनेर मुग्ध पाकिस्तानी दूतावासका एक वरिष्ठ अधिकारीले सन् १९९० मा पटकपटक आफ्नो कार्यक्रममा निम्ता पनि गरेका रहेछन्।
धेरै ठक्कर र हन्डरको बाबजुद रजीया हारेकी छैनन्। थाकेकी छैनन्।
स्वरकै कारण रजीयाको जीवनको रौनक बेग्लै भयो। कहिलेकाहीँ राजाको निजी ‘डकोटा’ जहाजमा श्रीमानसँगै उड्थिन्। काठमाडौंमा ब्रेकफास्ट खाएर खाना खान कलकत्ता या पटना पुग्थिन्। फेरि बेलुकीको खाना खान काठमाडौं नै आइपुग्थिन्। सिनेमाको कथाजस्तो जीवन बाँचेकी थिइन् उनले। उनको बिहेको कथा पनि सिनेमाकै कथाझैं लाग्छ।उनका बुबा हैदर साह मल्लकालमा नेपाल पसेका सुन्नी मुसलमान समुदायका थिए। आमा हैसन बानू थिइन्। उनीहरू इन्द्रचोक, वटु टोल बस्थे।रजीयाको जन्म वटु टोलमै भयो। १५ वर्षको उमेरमा विवाह छिनिएको थियो। उनी बिहेको निम्ति भारतको पटना पुगिन्।बिहेको तीन दिनअघि उनकी हुनेवाला सासूको मृत्यु भयो। बिहे रोकियो। त्यो बिहेमा उपस्थित हुन बिएल शर्मा पनि पुगेका थिए। उनी रजीयाका बुबा हैदर साहका साथी घाँसीरामका छोरा थिए। घाँसीरामलाई विवाहमा सरिक हुन निम्ता थियो। बिरामी भएकाले उनी जान सकेनन्। सट्टामा छोरा बिएल शर्मा बिहे भोज खान पटना पुगेका थिए।बिहे त रोकियो। बिएल शर्माको मन भने थामिएन। रजीयाको सुन्दरताबाट मोहित शर्माले हैदर साहसँग रजीयाको हात मागेछन्। हैदर कहाँ मान्नेवाला थिए र! मारवाडी समुदायका शर्मासँग रजीयाको बिहे उनलाई मञ्जुर भएन। बिएल शर्मा पनि के कम! उनलाई रजीयाको सौन्दर्यले यति मुग्ध पारिसकेको थियो, उनीसँग बिहे गर्न धर्म परिवर्तन गर्ने निर्णय गरे। मुस्लिम बने। अनि चिनेजानेका २०/२५ जना साथीभाइ बोलाएर रजीयासँग बिहे गरे।
रजीया शर्मासँगै नेपाल आइन्। यता राजा त्रिभुवनसँग उनीहरूको निकट सम्बन्ध छँदै थियो। राजाले उनीहरूलाई बेलाबेला उपहार पनि दिइरहन्थे। ‘के के दिए त उपहार?’ मैले प्रश्न गरेँ। ‘त्रिभुवनले पुष्पाञ्जली (न्युरोड, पिपलबोट नजिकैको पहिला बालसंसार बसेको घर) को एउटा घर दिनुभएको थिए। जहाँ अहिले बिशालबजार छ, त्यो पनि लिनू भन्नुभाथ्यो। तर शर्माजीले लिएनन्,’ उनले विगत सम्झिँदै सुनाइन्, ‘मेरो छोरा जन्मेको बेला एउटा चाँदीको किस्तीमा पाँच सयको असर्फी पठाउनु भएको थिए। चाँदीका घडा पनि दिनुभएको थियो। गजल गाउँदा एउटा घडी दिनुभयो। घडीमाथि हिरा थियो। बेल्ट पनि पूरा हिराको थियो। अहिले हिसाब गर्ने हो भने त्यो धेरै मूल्यवान थियो।’ ‘खै त त्यो घडी?”शर्माजीले कसलाई लगेर दिए, थाहा छैन,’ उनले भनिन्। ‘अनि अरू सामान?’
‘केही ल्याएन बेटा! मैले केही ल्याएन। प्रेम नै छुट्टिहाल्यो लोग्ने-स्वास्नीको। पैसाले के गर्ने,’ रजीयाको अनुहारको रंग फेरियो। भनिन्, ‘त्यति बेला सबै गरगहना लिएर आउँ भन्ने बुद्धि नि आएन। शर्माजीले बोलाउँछन् कि, बोलाउँछन् कि भनेर बसिराखेको। बर्बाद गरिदिए।’ बिहेको १० वर्ष काट्दै गर्दा रजीयाको जीवनमा ठूलो बज्रपात परेछ। १५ वर्षमा बिहे गरेकी रजीयाको १८ वर्ष हुँदा पहिलो सन्तान छोरा जन्मियो। २० वर्षमा दोश्रो। शर्मासँग बिहे भएको ११ वर्ष लाग्दै थियो। उनले कतैबाट सुनिछन्- बिएल शर्मा एक युवतीसँग नजिकिएका छन्। उनले शर्मासँग सत्य जान्न खोजिछन्। पहिले त शर्माले होइन भनेछन्। पछि ‘हो!’ भनेर स्वीकारेछन्। ‘मसँग बिहे गर्नुअघि पनि उनको मारवाडी नै श्रीमती रहेछ। हामीलाई थाहै थिएन। मसँग बिहे गरेपछि फेरि तेस्रो बिहे गरे शर्माजीले,’ रजीयाले दिक्क मानेको अनुभूतिमा सुनाइन्।
त्यत्रो सुखसयलमा बसेकी रजीया ७ र ९ वर्षका दुई छोरा र ६ महिनाको गर्भसमेत लिएर शर्माको घरबाट निस्किइछन्। घरबाट त निस्किइन् तर जाने ठाउँ माइतबाहेक कहीँ थिएन। निस्कँदा सम्पत्तिको नाममा लगाइरहेको लुगा र त्यही धोतीको सप्कोमा गाँठो पारेर बाँधेको ५ रुपैयाँबाहेक केही रहेनछ। केही दिनपछि शर्माले घर गृहस्थीका लागि केही भाँडाकुँडा पठाइदिएछन्। रजीया भने श्रीमान आफूलाई लिन आउलान् र फर्किएर उनको अंगालोमा बाँधिन जाउँला भन्ने कल्पनामै बसिन्। उनको स्वर र सुन्दरताले सबैलाई मुग्ध गराउँथ्यो। त्यस्तो प्रेमले मागेर, धर्म परिवर्तन गरेर ल्याएको प्रेमीले आफूलाई चटक्कै छाडिदेलान् भन्ने उनले कल्पना पनि गरेकी थिइनन्। भनिन्, ‘शर्माजी आएनन्, अर्को बिहे गरेर बसे।’उनको तेस्रो सन्तान माइतमै जन्मियो। उनले त्यो सन्तानको खुसी धेरै दिन मनाउन पाइनन्। त्यसको केही दिनमै उनको जेठो छोरोको अत्यन्तै कडा टाउको दुखाइले ज्यान गयो। त्यो दिनको पीडा सुनाउँदै गर्दा उनको गह भरियो। स्वर निस्किन गाह्रो भयो। जेठो छोरोको मृत्यू भएको एकाध वर्षमै माइलो छोराको पनि अकस्मात् निधन भयो।
ती क्षण सम्झँदै उनले भनिन्, ‘रातको बेला मेरो छोरा बिरामी भयो, मसँग एक पैसा थिएन। म बेहोसजस्तै भएँ। राति सुतेको लुगा मात्रै लगाएर वटु टोलबाट पुष्पाञ्जली पुगेँ, तलैबाट शर्माजीलाई बोलाएँ।’ शर्माजी सँगै आए। तर छोराको इहलीला समाप्त भइसकेको थियो। दुइटा छोरा गुमाएपछि रजीया मानसिक रूपले यति विक्षिप्त भइन्, उनका अगाडि बच्चाहरू आउनै हुँदैनथ्यो। आफ्नो कपाल आफैं लुछ्ने, चिच्याउने, कराउने गर्न थालिन्। उनकी आमा हुसेन बानूले विश्वासअनुसार झारफुक, टुनामुना सबै गर्न लगाइन्। करिब दुई वर्ष यस्तै चल्यो। एक दिन अकस्मात् उनी ठीक भइन्। उनले आफू र बाँकी रहेको एउटै सन्तानलाई बस्ने वासको व्यवस्था गरिदिन बिएल शर्मालाई कराउन थालिन्। शर्माले ४५ हजार हालेर कुपन्डोलतिर वासको व्यवस्था गरिदिए। उनी कढाई गरेर (कपडामा जरी भर्ने काम) लुगा सिएर छोरा हुर्काउन थालिन्।
रजीयाका अनुसार शर्माले उनलाई खर्च चलाउन त्यति बेला दिनको ५ मोहर दिन्थे। त्यो मोहर लिन दिनभरी उनका छोरा शर्माको पसलमा गएर कुर्थे। दिन बित्दै गए। छोरा मनोज एसएलसी दिने भए। जाँच दिन भैरहवा गएका थिए। तर जाँचै नदिई फर्किएर आएछन्। घर आएर बोल्दा पनि नबोल्ने, खाँदा पनि नखाने। ‘छोरा जाँच दिन भैरहवा गएको थियो। यहाँ आएर त भात पनि खाँदैन। के हो के हो,’ उनले सुनाइन्, ‘उसको साथी अमीरले पो आएर सुनायो बल्ल। छोराको एउटा केटीसँग प्रेम भएछ। जाँच नदिएर केटी भेटेर आएछ। त्यसको बिहे छिनिएको रैछ। त्योसँग बिहे गर्न नपाए रिभल्वर हानेर मर्छु रे।’ अमीरको कुरा सुनेपछि रजीयाको मन झसंग भयो।’डसनामुनि रिभल्वर राखेको रहेछ। अमीरले सुनाउँदै थियो, मेरो छोरा टुप्लुक्क आयो,’ उनले भनिन्, ‘मैले रिभल्वरबारे सोध्दा केही बोलेन।’
उनले त्यस बेला भोगेको त्यो तनाव अझै बिर्सेकी छैनन्। भन्छिन्, ‘छोरा केही बोल्दैन। जवाफै दिँदैन।’अनि एक दिन आएर छोराले दिल्ली जान्छु भनेछन्। दुईचार दिनमा आउँछु भनेर झोला पनि नलिई हिँडेछन्।’मैले ब्रस, टुथपेस्ट राख भनेको थिएँ। आउँदा पान खान जर्दा ल्याउनू पनि भनेँ। मेरो बुबाले पनि लुंगी ल्याऊ है भन्नुभयो। ऊ भने केही नबोकी हिँड्यो,’ उनले सुनाइन्, ‘दिउँसो छोरा हिँड्यो। त्यही रात घरमा एक महिला पुलिस लिएर आइन्।’प्रहरीले उनलाई सोधे, ‘यो मनोजको घर हो?’
‘हो,’ उनले जवाफ दिइन्।
‘तपाईं को हो?’ प्रहरीको प्रश्न।
‘म उसको मम्मी,’ रजीयाको जवाफ।
‘म घरमा प्लास्टर लाउँदै थिएँ। उनीहरूले भित्र आउन सक्छौं भनेर सोधे। मैले आउनू भनेँ। छोरा खै भनेर सोधे। मैले दिल्ली गयो भनेँ,’ उनले भनिन्, ‘अनि पो मैले कुरा बुझेँ। छोरा त केटी लिएर भागेछ।’ प्रहरी लिएर आएकी ती महिला उसकी प्रेमिकाकी फुपू रहिछन्। भदैनी लिएर भागेको भन्दै खोज्न आएकी। रजीयालाई भने केही थाहा थिएन। उनका छोरा र केटीलाई रजीयाको परिवारले कतै लुकाएर राखेको आरोप लगाएछन्। अलि अलि धम्क्याएछन्।
छोराले प्रेम गरेकी केटी हिन्दू थिइन्।
यो २०३३/३४ सालतिरको कुरा हो। हिन्दू बाबु र मुस्लिम आमाको छोरासँग कुनै हिन्दू छोरीको बिहे वर्जित थियो। यहाँ त केटा-केटी नै हराइरहेका थिए। त्यस्तो बिहे समाजले कहाँ पचाउँथ्यो?प्रहरीसहित आएकी महिलाले रजीयालाई राति १२/१ बजे आफ्नो नातेदार बस्ने ठाउँ बागबजार लिएर गइछन्।’मैले उनीहरूलाई कति भनेँ, छोरा दिल्ली गएको छ भनेर। उनीहरू भने होइन, यहीँ कहीँ छ, तपाईंहरूले लुकाएर राख्नुभएको छ भन्थे,’ उनी ती पल सम्झँदै भन्छिन्।’मैले कहीँ लुकाएको छैन। घरमा हेर्नुस्। मेरा नाता-साइनो जहाँ छन्, सबैतिर गएर हेर्नुस्। तर याद राख्नु, मेरो एउटा छोरा छ। तपाईंको पनि छोरी छ। यो राजा नभएको मुलुक होइन। मेरो छोरालाई केही भयो भने म सिधा नारायणहिटी पुग्छु। अनि मलाई गोली हाने पनि पीर छैन,’ प्रहरीको करकरमा रजीयाले यसरी जवाफ दिइछन्।’मलाई गोली हाने पनि पीर छैन भनेपछि चार दिनसम्म पुलिसले मलाई घरमै थुनेर राखे। बाहिर जान दिएनन्। कसैलाई आउन पनि दिएनन्। रुँदै बसिरहेँ। चार दिनपछि उनीहरूले फोन गरेर भने, तपाईंको छोरा र ती केटी भेटिए,’ उनले सुनाइन्, ‘छोरा पठाइदिन्छु भने।’छोरा भेटिएपछि उनका श्रीमानले घरमा मान्छे पठाएछन्।
‘२० हजार दिन्छु, छोरा भगाइदेऊ भनेर खबर पठाए। पाँच मोहर लिन मेरो छोरा उसको पसलमा कुरेर बस्छ, आज यति सजिलै किन २० हजार दिने भए भन्ने सोचेँ,’ उनले भनिन्।उनले छोरालाई भगाइनन्। केटी पक्षले पनि ती प्रेमिल जोडीलाई टिकाटालो गरेर भित्र्याउन राजी भए। ती जोडी जीवनका आरोह-अवरोह पार गरेर सुखी जीवन बिताइरहेछन्।
यति धेरै ठक्कर र हन्डरका बाबजुद रजीया आफ्नो एउटै मात्र छोरा र बुहारीसँग बस्दिनन्। उनी आफ्नै धर्म र संस्कृति अँगाल्ने नातेदारका समूह बसेको क्षेत्रपाटीमा बस्छिन्। उनका छोरा, बुहारी, नातिनातिना, पनातिनीहरू विशालनगर बस्छन्।नातिको बिहेमा बुहारी, नातिनी बुहारी र छोरा मनोजसँग रजीया। तस्बिरः रजीयाको पारिवारिक संकलन।उनी आफ्नो छोराको परिवारसँग नबस्नुको कारण पनि लुकाउन चाहन्नन्।भन्छिन्, ‘म ८८ वर्ष भएँ। लोग्नेको पीर पनि हेरेँ। छोराको पीर पनि हेरेँ। बुहारी जाती छ। तर मेरो धर्मको नभएर दु:ख लाग्छ। मेरो धर्मको भएदेखि उसको खुट्टै दबाएर बस्थेँ। जुठो खाएर बस्थेँ।’उनी सुँक्सुकाउन थालिन्।’तर केही दु:ख छैन। सँगै नबसे पनि उसैले हेर्छ,’ आँखाभरी आँशु भर्दै सोफामा सँगै बसिरहेकी बुहारी अञ्जुलाई रजीयाले बेस्सरी च्यापिन्।
रजीयाको जीवन धर्ममा कतै जेलिएको छ। मारवाडी समुदायका बिएल शर्मा उनलाई विवाह गर्न मुस्लिम बनेका थिए रे! २०७१ पुस २८ गते शर्माको मृत्यु भयो। मुस्लिम धर्मअनुसार अन्तिम संस्कार गरेको भए उनको शरीर गाडिन्थ्यो। तर शरीर जलाइयो। त्यसैले रजीयाका छोरा मनोज शर्मा बाबुको अन्तिम संस्कारमा गएनछन्।उनी भन्दै थिए, ‘मेरो आमाको धर्मअनुसार त्यसो गरिन्न। मैले आमाको चित्त दुखाउन चाहिनँ।’
दशकौं बितिसक्यो, तर रजीया बेगमको चालचालन र स्वाभिमानमा अलिकति पनि आँच आएको छैन। आज पनि सितारा भरेका उज्याला लुगाले उनलाई लोभ्याउँछ। अरूले पकाएको खाना उनलाई हतपत जँच्दैन। आफैं स्वादिलो र मीठो पकाएर खानुपर्छ। हरेक रात सुत्नुअघि नुन र जिरा हालेको स्याउ खाएर मात्रै उनको दिनको अन्त्य हुन्छ।
अहिले पनि उनको जीवन उनलाई प्रिय लाग्ने गजल ‘…ए दिल मुझे ऐसी जगह ले चल, जाकर कहीं खो जाऊँ मैं, नींद आए और सो जाऊँ मैं…’ जसरी नै चलिरहेको छ।
‘मेरो कथा, मनभरिको व्यथा हो,’ रजीया भन्छिन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी
-साभार- सेतो पाटी

