सामाजिक विकृति प्रहरीलाई चुनौती : मुख्यमन्त्री शाही

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजमा रहेका विकृति हटाउन प्रहरीको चुनौती भएको बताएका छन्।६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई चुनौती हुने बताए।

‘समाज गलत दिशामा हिँड्न थालेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘समाजमा मदिरा सेवनका कारण हुने विभिन्न घटना, चोरी, डकैती, बलात्कार जस्ता घटनाहरू न्यूनीकरण गर्न प्रहरी संगठनलाई चुनौती हो।’

यस्ता आपराधिक क्रियाकलाप बन्द गर्न प्रहरी उच्च मनोवलका साथ काम गर्न उनले आग्रह गरे।

विगतका हरेक आन्दोलन तथा युद्धमा सामान्य हतियारको सहयोगमा नेपाल प्रहरीले उच्च मनोवलका साथ भूमिका निर्वाह गरेको बताउँदै मुख्यमन्त्री शाहीले अबका दिनहरूमा पनि निरन्तर उच्च मनोवल कायम राख्न आग्रह गरे।

आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरीलाई साधनस्रोतका अभाव भएकोले आवश्यक साधनस्रोतका उपलब्धताका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।

‘कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुरक्षा निकायलाई अब्बल बनाउने योजना राख्ने हामीले निर्णय गरिसकेका छौं,’ उनले भने, ‘विकटमा प्रहरी बस्ने चौकीहरू नै कमजोर र जीर्ण छन्, केही प्रहरी चौकी निर्माणका लागि हामीले बजेट पनि छुट्याएका छौं।’

-सेतो पाटी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu