तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर चुनाव लड्दा गठबन्धनले बहुमत ल्याएपछि दुई अध्यक्षले पालो पालो सरकार चलाउने सहमति भएको थियो ।
बहुमत आयो । सहमतिअनुसार केपी ओली प्रधानमन्त्री बने । पार्टी पनि एकीकरण भयो र जन्मिएको नेकपा । तर, नेकपा जन्मिँदै गर्दा भने निकै लामो प्रशव पीडा भएको थियो । प्रचण्ड र ओलीबीच आलोपालो सरकार चलाउने सहमति भएपछि ‘वेथा’ले जन्माएको थियो नेकपा । यसको कुनै लिखित सम्झौता नभए पनि त्यति बेला प्रचण्डले नै यो सहमति भएको सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने यस्तो सम्झौताबारे कहिल्यै पनि स्पष्ट जवाफ दिएनन् । प्रधानमन्त्रीले यो विषयमा नबोल्नु स्वभाविक पनि थियो । यद्यपी उनले आफै ५ वर्ष प्रधानमन्त्री हुन्छु भनेर पनि भनेकाले त्यति बेला ओली र प्रचण्डबीच आलोपालो सरकार बनाउने सहमति भएको बुझिएको थियो ।
तर, राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानन्त्री ओलीले त्रिभुवन विमानस्थलबाटै देशवासी र प्रचण्डलाई एक महत्वपूर्ण सन्देश दिएका छन् ‘पाँच वर्ष यही सरकार चल्छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराउँछ र अझ बलियो भएर आउँछ ’ उनले थपे, ‘एउटा कुनै हावा चल्यो र पात हावामा बग्यो भने त्यसका पछाडि कुद्ने राजनीति कुनै विषय, दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका समग्र यथार्थ समस्या सम्झिने राजनीति होइन ।’
प्रधानमन्त्री ओलीको यो भनाईले प्रचण्डलाई झट्का लागेको हुनुपर्छ । बिहीबार अपराह्न ओलीबाट आएको यो अभियव्यक्तिको प्रचण्डबाट प्रक्रिया आउन केही समय लाग्नेछ । किनभने प्रचण्ड हाल मलेसियामा छन् । उनी त्यहाँबाट फर्केपछि पक्कै पनि यो विषयमा केही भन्नेछन् ।
गत वर्ष माघमै गर्ने भनिएको पार्टी एकता शक्ति बाँडफाँडको विषयका कारण जेठसम्म पुगेको कसैबाट लुकेको छैन । त्यो बेला प्रचण्डलाई मनाउन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निकै दौडधुप गरेका थिए भने ओली र प्रचण्डबीच दर्जनौ पटक वार्ता भएको थियो ।
दुई नेताबीच शक्ति बाँडफाँडमा कुरा मिलेपछिमात्र पार्टी एकीकरणले मुर्त रुप लिएको थियो । पार्टी एकीकरण भएर निर्वाचन आयोगबाटसमेत मान्यता पाइसेको छ । अब माओवादी केन्द्र र नेकपा एमाले अस्तित्वमा छैनन् । तर, नेकपा भित्र भने यसका दरिला खम्बा बाँकी नै छन् ।
त्यसैले पनि प्रधानन्त्री ओलीले आफै ५ वर्ष सरकार चलाउने अभिव्यक्तिले पक्कै पनि नेकपा भित्र भुँइचालो ल्याउने निश्चित छ । खासगरी वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले आलोपालोको विषय पछिल्ला दिनहरुमा उठाएका छन् । उनीहरुले ओली अब २ वर्षमात्र प्रधानमन्त्री बन्ने बताइरहेका छन् ।
हालै वरिष्ठ नेता नेपालले संसदमै सरकारको चर्को विरोध पनि गरे । प्रधानमन्त्री अमेरिकामा रहेका बेला नेपालले सरकारको आलोचना गरेको र भारतबाट फर्किँदा प्रचण्डले सरकारबारे दिएको अभिव्यक्तिको जवाफका रुपमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको आयुबारे भनेका हुनसक्ने अनुमान गरिएको छ ।
आखिर जुन सन्र्दभमा आए पनि ओलीको अभिव्यक्तिले प्रचण्डको मनमा भने शंका उत्पन्न गराउने छ । ओलीले साँच्ची प्रचण्डलाई धोका दिनै लागेका हुन् त ? यो प्रश्न उठेको छ । यदि उनले धोका दिने सोचेकै हुन भने चौतर्फी आलोचना खेपिरहेको यो सरकारका आगामी दि थप सकसपूर्ण बन्नेछन् । किनभने नेपाल पक्ष अहिले नै ओलीप्रति आक्रमक बनेको छ । अब प्रचण्ड पनि ओलीप्रति आक्रमक बन्नेछन् । यस्तो अवस्थामा ओलीलाई सरकार र पार्टी दुबै सञ्चालन गर्न फलामको च्यूरा चपाए जस्तै हुनेछ ।
वैधानिक रुपमा यो सरकारलाई ५ वर्षभन्दा पहिला हटाउन अप्ठ्यारो भने अवश्य छ । किनभने यो सरकारलाई प्रतिस्थापन गर्न नेकपा की ओली आफैले राजिनमा दिनुपर्छ । वा नेकपाकै सांसदले ओलीप्रति अविश्वासको मत संसदबाट पारित गराउनुपर्छ । ओली आफैले राजिनामा दिने सम्भावनामाथि भने अब शंका उत्पन्न भइसकेको छ । अविश्वासको मत ल्याउँदा ओली विरोधीको संख्या पुग्ने अवस्था तत्काललाई छैन ।
किनभने अविश्वासको मत ल्याउनेलाई ओलीले कारबाही गर्ने अवस्था छ । यदि प्रचण्ड र नेपाल मिलेर पार्टी नै विभाजन गरे भनेमात्र यो सरकार प्रतिस्थापन हुन सक्छ । नत्र ओलीले भने जस्तै यो सरकार ५ वर्षे पूर्ण कार्यकाल पूरा गर्न सक्छ ।(डिसी नेपालबाट)

