न्यूयोर्क : अमेरिकाको न्यूयोर्कमा बिहीबार बसेको दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को बैठकमा भारत र पाकिस्तानबीचको विवाद छताछुल्ल भएको छ । पाकिस्तानसँगको तनावका कारण भारतीय विदेशमन्त्री सु्ष्मा स्वराजले आफ्नो भनाइ राखेपछि बीचमै बैठक छाडेर हिँडिन् ।

नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले डाकेको अनौपचारिक बैठकमा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीको मन्तब्यसमेत सुन्दै नसुनी उनी बैठक छाडेर हिँडिन् । यसबारेमा कुरैसीले भने, ‘मैले उनको (सुष्मा स्वराज) भाषण सुनेँ, उनी क्षेत्रीय सहयोगको कुरा गरेकी थिइन् । कसरी क्षेत्रीय सहयोग सम्भव हुन्छ जब कोही बसेर अरुको कुरा सुन्न तयार नै हुँदैन ।’
संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा चलिरहेकै बेला सार्कका विदेश मन्त्रीको बैठक बसेको थियो । यो बैठकमा सुष्मा स्वराज र पाकिस्तानी विदेश मन्त्री कुरैसी पनि सहभागी थिए । सुष्माको भाषण पाकिस्तानी विदेश मन्त्री भन्दा पहिले थियो । सुष्मा आफ्नो कुरा राखिसकेपछि बैठक चलिरहेकै बेला उठेर हिँडिन् ।
सुष्मा हिँडे पनि कुरैसीको भाषणका क्रममा भारतीय विदेश सचिव विजय गोख्ले भने उपस्थित थिए । पाकिस्तानी विदेश मन्त्रीले भारतीय विदेश मन्त्रीले आफ्नो कुरा नसुनेकोमा आपत्ति जनाएको छ।
शाह कुरैसीले भने, ‘हामीबीच कोही कुरा पनि भएन । उनी (सुष्मा स्वराज) बीचमै उठेर हिँडिन् । सायद उनको स्वास्थ्य पो ठीक थिएन कि ।’
आतंकवाद समाप्तिपछि सहयोग
सुष्मा स्वराजले आफ्नो भाषणमा आतंकवादको जिकिर गरिन् । उनले भनिन्, ‘क्षेत्रीय सहयोगको कुरा जबसम्म हुन सक्दैन तबसम्म दक्षिण एसियाका लागि आतंकवादको खतरा रहन्छ । आतंकवादी हमला र तीसँग जोडिएका घटनाले बताइरहेका छन् आतंकवाद यहाँ कुन गतिमा बढिरहेको छ।’
उनले दक्षिण एसिया र विश्वमा शान्ति र स्थिरताका लागि आतंकवाद एक्लो सबैभन्दा ठुलो चुनौती रहेको जिकिर गरिन् । उनले पाकिस्तानतिर इशारा गर्दै सबैभन्दा पहिले आतंकवादका हरेक स्वरुपलाई समाप्त पारेपछि मात्रै क्षेत्रीय सहयोगको कुरा गर्न सकिने पनि जिकिर गरिन् ।
यहाँ रोचक कुरा के छ भने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई भारतले सार्कलाई भन्दा धेरै प्राथमकिता दिइरहेको छ ।
एक महिनाअघि नेपालमा बिम्स्टेकको सम्मेलन पनि भएको थियो । पाकिस्तानसँगगको शत्रुतापूर्ण सम्बन्धका कारण भारतले दक्षिण एसियाली क्षेत्री सहयोग संगठन (सार्क) लाई बेवास्ता गर्दै बिम्स्टेकलाई प्राथमिकता दिइरहेको छ। सार्कको प्रमुख सदस्य पाकिस्तान बिम्सटेकमा सदस्य नरहेकाले भारतले उसलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्ल्याउने रणनीति अनुरुप बिम्स्टेकलाई विशेष प्राथमिकता दिइरहेको छ।
केही साता अघि मात्रै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका थिए । यसमा दुवै देशका विदेश मन्त्रीबीच संयुक्त राष्ट्रसंघमा वार्ता हुनुपर्ने अपिल गरिएको थियो । यस बैठकका लागि भारत तयार पनि थियो तर काश्मीरमा पुलिसको हत्यापछी भारतले यस वार्तालाई इन्कार गरिदिएको थियो ।
सार्क बचाउने नेपालको प्रयास
यसैबीच नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार संयुक्त राष्ट्र सङ्घको महासभा बाहिर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) मन्त्रिपरिषद्स्तरमा दिवाभोजको आयोजना गरे ।
उक्त भोजमा सार्क सदस्य मुलुकका विदेशमन्त्रीहरूको सहभागिता रहेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ।
उक्त भोजको आरम्भमा मन्त्री ज्ञवालीले सार्कका प्रक्रिया यस क्षेत्रका जनताको भलाइका लागि प्रभावकारी तथा नतिजामूलक हुनुपर्नेमा जोड दिएका थिए । सहभागी मन्त्रीहरूले पनि सार्क शिखर बैठकले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले सार्क प्रक्रियालाई पुनः सशक्त बनाउने विभिन्न विषयमा छलफल गरेका थिए ।
नेपालले सार्कलाई बचाइराख्ने प्रयास गरिरहँदा भारतले पाकिस्तानकै कारण सार्कलाई सक्रिय बनाउने कुराको पुरै बेवास्ता गरिदिएको छ। भारतले पाकिस्तानतर्फ इङ्गित गर्दै आतंकवाद नसकिएसम्म सार्कको कुरा गर्नु व्यर्थ हुने बताइसकेको छ।
-अन्नपूर्ण पोस्ट

