पत्नी सीतासँग कान्छी छोरी गंगा दाहाल र नातिनी ईशानवीका साथ नेकपा अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणमा रहेका बेला उपराष्ट्रपति नन्दबहादुर पुन चाहिँ प्रचण्डका कान्छा ज्वाइँलाई लिएर चीन भ्रमणमा निस्किएका छन्।

प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यलाई ‘उपराष्ट्रपतिका विज्ञ’ का हैसियतमा उपराष्ट्रपति पुनले बुधबार (३ असोज) देखि सुरु भएको चीन भ्रमणको प्रतिनिधिमण्डलमा समावेश गरेका हुन्।
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिमगरले भ्रमणबारे जारी गरेको विज्ञप्तीमा आचार्यलाई ‘उपराष्ट्रपतिका विज्ञ’ भनेपनि आचार्य के विषयका विज्ञ हुन्, त्यो चाहिँ उल्लेख छैन। यसअघि आचार्यलाई ‘उपराष्ट्रपति विज्ञ’ मा नियुक्त गरिएको सार्वजनिक गरिएको थिएन।
कान्छा ज्वाइँ आचार्यलाई ‘उपराष्ट्रपतिको विज्ञ’ मा नियुक्ति दिलाएका प्रचण्डले जेठा ज्वाइँ सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्ति दिलाएका छन्। केसीपनि अघिल्लो हप्ता सभामुख महराको चीन भ्रमण टोलीका सदस्य थिए।
तत्कालिन माओवादीमा कुनै राजनीतिक पृष्ठभूमि नभएपनि आचार्य प्रचण्डकी कान्छी छोरी गंगासँग विहे गरेपछि तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका थिए। र, गत निर्वाचनमा मोरङ-६ बाट प्रदेश सभाको उम्मेदरवार बन्ने अवसरपनि पाएका थिए। प्रतिनिधि सभामा लालबाबु पण्डित विजय हासिल गरेको सो क्षेत्रमा आचार्य चाहिँ पराजित भए।
६ दिने औपचारिक भ्रमणका सिलसिलामा ‘विज्ञ’ आचार्यका साथ उपराष्ट्रपति पुन चीनको सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेको मगरले बताएका छन्। उनी सिए ४३८ नं को ‘एयर चाइना’ को विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन्।
नेकपाको अध्यक्षको हैसियतमा चीन भ्रमणमा गएका प्रचण्ड चाहिँ पत्नी सीता, छोरी गंगा, नातिनी इशानवी, स्वकीय सचिव जोखबहादुर महरा र पत्नी सीताको स्वास्थ्योपचारमा संलग्न एकजना नर्सका साथ चीन भ्रमणमा छन्। र, आजै साँझ काठमाडौँ फर्कँदैछन्।
उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्वबर्ती प्रमुख सेनानी अरुण कुमार केसी छन्।
उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमान स्थलमा सिचुवान प्रान्त जनसरकारका उच्च अधिकारीले स्वागत गरेका थिए। उपराष्ट्रपति छेन्दुमा बिहिबारबाट सुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन ‘विज्ञ’ आचार्यसहितको नेपाली प्रतिनिधि मण्डलका साथ चीन पुगेका हुन्।
पुनले बिहीबार (४ असोज) विहान ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई संबोधन गर्ने कार्यक्रम छ।
उपराष्ट्रपतिसँग बुधबार (३ असोज) साँझ नै चीनका उपप्रधानमन्त्री हु छुन ह्वाले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। बुधबार साँझ नै उपराष्ट्रपति चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्रिभोजमा सहभागी हुनेछन्।
उपराष्ट्रपतिको भ्रमण टोलीका अन्य सदस्यहरुमा परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिवार पनि छन्।
-नेपाल खबर

