मलेसियन निजी एयर कम्पनी ‘एयर एसिया’ले ६ वर्षदेखि क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर उडान बन्द गर्ने निर्णय गरेको छ।
एयरलाइन्सले यात्रु अभावको कारण देखाउँदै एक वर्ष उडान बन्द गर्नेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेको छ। बजेट एयरलाइन्सको रुपमा चर्चित एयर एसियाले सातामा ४ वटा उडान गर्दै आएको थियो।

तस्बिर : चार्ल्स पर्ट्वी
तर, एयरलाइन्सले अक्टोबर १ अर्थात् असोज १५ गतेबाट उडान बन्द गर्न सूचना दिएको हो। एयरलाइन्सले भने जस्तै नेपालबाट मलेसियाको रोजगारीमा जाने कामदार बन्द भएसँगै यात्रु संख्यामा भने कमी आएको थियो। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र नेपालकै निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पनि उडान कटौती गरेका थिए।
तर, सबै एयरलाइन्सले उडान कटौती गरिरहेको बेला मलेसियाकै निजी हवाई सेवा प्रदायक मालिन्दो एयरलाइन्सले भने उडान बढाउँदै आक्रामक बजार विस्तार गरिरहेको छ।
यसरी सुरु भएको थियो एयर एसियामाथि संकट
नियमित उडान गरिरहेको एयर एसियाले लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई विमानस्थल विकास शुल्क तथा पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटन शुल्क बापतको रकम बुझाएको थिएन।
यो रकम एयरलाइन्सको टिकट खरिदमा यात्रुसँग नगद नै लिने गर्थ्यो। विमानस्थल कार्यालयको माथिल्लो तहका कर्मचारीको मिलोमतोमा लामो समयदेखि तिर्नुपर्ने रकम नै नतिरी उडान गरिरहेको थियो।
उडान सुचारु गरिरहेको अवस्थामा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम साँवा मात्रै २७ करोड रुपैयाँ पुगेको थियो। त्यसमा पनि विलम्ब शुल्क १३ करोड थप भइसकेको थियो। साँवा र विलम्ब शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै ४० करोड रुपैयाँ बुझाउनुपर्ने भइसकेको थियो। यो विषयमा मिडियामा आउन थाले।
एयर एसियाको नेपाल एजेन्ट हरिमान लामाले पटकपटक विमानस्थल कार्यालयलाई कहिले १५ दिन त कहिले एक महिनामा बाँकी बक्यौता रकम दाखिला गर्ने सहमति गरे। तर, रकम तिरेनन्। यसपछि कदम चालेका विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा एयर एसियाको कम्पनीलाई रकम नतिरे उडान बन्द गरिदिने चेतावनी सहितको पत्र काटे।
पत्र काटेलगत्तै एयरलाइन्सका प्रतिनिधि नेपाल आए। दुईपक्षीय छलफलमा एयरलाइन्स कम्पनीले मासिक ५ देखि साढे ५ करोड रुपैयाँका दरले रकम तिर्ने लिखित सम्झौता गर्यो। तर, एयरलाइन्सका प्रतिनिधिले विलम्ब शुल्क भने छुट गरिदिनुपर्ने माग गरेका थिए। कम्पनीको प्रस्तावलाई विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीले भने शुल्क छुट नहुने जवाफ दिए। त्यसपछि कम्पनीले अप्रिल, मे र जुन महिनामा गरी १६ करोड रुपैयाँ बक्यौता दाखिला गर्यो।
तर, एयरलाइन्स कम्पनीले जुलाईको किस्ता तिर्न ढिलाइ गरेपछि विमानस्थल कार्यालयका प्रमुखले बेलाबेला कम्पनीको उडान कहिले ३० मिनेट त कहिले ४० मिनेट बन्द गरिदिएका थिए। उडानमा अवरोध गर्न थालेपछि एयरलाइन्स कम्पनीले जुलाई महिनाको बक्यौता चुक्ता गर्दै उडान बन्द गर्ने अनौपचारिक खबर दिएको थियो।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमा शोषण भएको भन्दै गत जेठ ३ गतेबाट रोजागारीमा जान प्रतिबन्ध लगाइदिए।मलेसिया जाने युवासँग विभिन्न नामको संस्था खडा गरी अवैध शुल्क संकलन गरिरहेका व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गर्न थाल्यो। कामदारमाथि थप आर्थिक भार पार्ने भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था, माइग्राम, आइएसी र ओएसी जस्ता अवैधानिक संस्था पनि बन्द भए।
जसका कारण मासिक १० हजारको हाराहारीमा मलेसिया जाने कामदारको संख्या ठप्प भयो। त्यसमा पनि एयर एसियाका लागि एजेन्टका रुपमा टिकट काट्ने भिएलएन नेपालका राम श्रेष्ठ पक्राउ परे। उनले लिँदै आएको जिम्मा पूरा हुन सकेन। श्रेष्ठ अदालतबाट धरौटीमा छुटे तर मलेसियाको रोजागारी बन्द भइसहेको थियो। श्रेष्ठले पहिलेको जस्तै फेरि एयर एसियालाई सहयोग गरेनन्।
उनले मालिन्दो एयरलाइन्सलाई सहयोग गर्न थाले। जसको प्रत्यक्ष असर एयर एसियाले भोग्नुपर्यो। एयर एसियाले मलेसियाबाट काठमाडौं आउँदा ८० देखि ९० प्रतिशत ‘अकुपेन्सी’मा नै आइरहेको थियो। तर, काठमाडाैंबाट जाँदा भने ३ सय यात्रु क्षमताको जहाजमा ३० देखि ४० यात्रु लिएर गइरहेको थियो। जसका कारण अन्ततः एयरलाइन्सले १ वर्षका लागि नेपालबाट उडान बन्द गर्ने निर्णय गर्न बाध्य भयो।
बक्यौता रकम के हुन्छ अब ?
एयरलाइन्स कम्पनीले अब साँवा बापतको ५ करोड र विलम्ब शुल्क १३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउन बाँकी छ। एयरलाइन्सले उडान बन्द गरे पनि बक्यौता रकम तिर्नैपर्ने बताउँछन्, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री।
‘अबको एक-दुई दिनमै एयरलाइन्स कम्पनीले अगस्ट महिनाको किस्ता तिर्नेछ,’ क्षेत्रीले भने, ‘बाँकी बक्यौता जहाज रोकेरै भए पनि संकलन गर्छु। जेट एयरलाइन्सले नेपाल उडान बन्द गर्नु राम्रो भने होइन। यसले नेपालको सकारात्मक सन्देश दिँदैन।’
नेपालले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा मनाउँदै गरेको अवस्थामा आफूहरु कसरी बढी पर्यटक भित्र्याउन सकिन्छ भनेर लागिपरिरहेको उनले बताए। ‘एयर एसियाको उडान बन्द गर्ने निर्णयको नकारात्मक सन्देश जान पनि सक्छ,’ क्षेत्रीले भने।
कानुनमा के छ ?
विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० मा विमानस्थल कार्यालय प्रमुखले वायुयान कम्पनीले समयमै रकम दाखिला नगरेको अवस्थामा कारोबार रोक्कादेखि तत्काल उडान बन्द गराउन सक्ने उल्लेख छ।
नियमावलीको नियम ३० को १ मा नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क समयमा नबुझाउने व्यक्ति वा संस्थालाई विमानस्थलबाट जारी भएको अनुमतिपत्र, सम्झौतापत्र वा अन्य कुनै कारोबार गर्न दिएको अनुमति विमानस्थल प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको निजको सम्पत्ति रोक्का राखी निजको काम कारबाही वा व्यवसायमा रोक लगाउन सक्ने उल्लेख छ। साथै त्यसरी रोक लगाएको सूचना अविलम्ब प्रधान कार्यालयमा पठाउनुपर्ने हुन्छ।
नियम २ मा कुनै व्यक्ति वा निकायले बिल जारी भएको मितिले ६० दिनसम्म पनि विमानस्थलसँग सम्बन्धित शुल्क नबुझाएमा विमानस्थलको प्रमुखले त्यस्तो व्यक्ति वा संस्थालाई विमानस्थलमा व्यवसाय गर्न रोक लगाउँदै वायुसेवाको हकमा उडानमा तत्काल रोक सक्ने उल्लेख छ।
नियम ३० को ३ मा प्राधिकरणले यस नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएमा वा प्राधिकरणसँग भएको सम्झौता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाका सञ्चालकलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको कामकारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्न सक्नेसमेत नियमावलीमा उल्लेख छ।
नियमावलीका ४ मा समयमा शुल्क नबुझाउने व्यक्ति वा संस्थाउपर समयमै नियम बमोजिमको कारबाही प्रक्रया सुरु नगर्ने विमानस्थल प्रमुखउपर विभागीय कारबाही गरिने पनि उल्लेख छ।
- नेपाल लाइभ

