एजेन्सी । अघिल्लो गृष्म बहराइन, इजिप्ट, साउदी अरबीया र युएईको गुटले कतारमाथि आर्थिक तथा कुटनीति नाकाबन्दी गर्दा दोहा आफूहरु सामु झुक्ने आशा गरेका थिए । उनीहरुको मुख्य मागहरुमा अल–जजिरा टीभी सञ्जाल बन्द गर्नेदेखि इरान र टर्कीसँग सम्बन्ध तोड्ने सम्मको थियो ।

तर, परिणाम उनीहरुले सोचेजस्तो आएन ।
आफ्ना चार छिमेकीहरुको दबाब अघि झुक्नुभन्दा कतारले पनि आफ्ना अलग कदम चाल्यो । यसबीच कतारले नयाँ व्यापारिक सम्पर्कहरु निर्माण गर्यो तथा आफ्ना प्रतिद्वन्द्वीहरु बिरुद्ध सुझबुझ रुपमा कुटनीतिक द्वन्द्व लड्यो ।
हाल आएर यो विवादको कारण एक नसोचिएको परिणाम निस्किएको छ । विवादपछि चालिएका यी सुधारहरुले कतार भ्रमणकर्ताहरुको लागि सबैभन्दा खुलामध्य एक राष्ट्र बनेको छ ।

959_14_W020-012567A
प्रतिबन्ध लागु गरिएपछि कतारले आफ्नो भिषा नियमहरुमा सुधार ग¥यो । सुधारहरुमा उसले भिषाबिनै प्रवेश गर्न सक्ने राष्ट्रहरुको सङ्ख्यामा बृद्धी ग¥यो । साथै उसले आफ्ना एयरपोर्टहरुमा अर्को विमान पर्खिरहेका ट्रान्जिटका यात्रुहरुको लागि कतारमा बस्ने समय थप्यो ।
यी परिवर्तनहरुको उद्देश्य नाकाबन्दीको बाबजुद नयाँ हमाद अन्तराष्ट्रिय एयरपोर्ट प्रयोग गर्ने यात्रुहरुको सङ्ख्या बढाउनुका साथै देशको ठूलो वायुसेवा कतार एयरवेजमा यात्रुहरुको सङ्ख्या कम हुन नदिनु थियो । यी सुधारहरुको परिणाम स्वरुप कतार यो क्षेत्रमा भ्रमण गर्न सबैभन्दा सहज देश बनेको छ ।
संयुक्त राष्ट्र विश्व पर्यटन संगठनले सेप्टेम्बर ३ मा प्रकाशित गरेको ‘भिषा ओपननेस रिपोर्ट’ मा कतार भिषा सुविधा प्राप्त गर्ने सहजताको हिसाबमा ८ औँ सबैभन्दा सहज राष्ट्र भएको छ ।
सन् २०१४ मा कतार यो सूचीमा १७७ औँ स्थानमा थियो । पहिले देखिनै अरब क्षेत्रका राष्ट्रहरु भ्रमण गर्न चाहनेहरुको लागि भिषा प्राप्त गर्न कठिन स्थानको रुपमा मानिन्थ्यो ।
कतारले अहिले ८८ राष्ट्रहरुका नागरिकहरुलाई भिषाबिना नै प्रवेश दिन्छ, त्यो पनि निःशुल्क । यसमा रसिया र चीन समेत समावेश छन् ।
केही अर्थमा सुधारले फल दिन थालेको छ । कतार पर्यटन प्राधिकरणका अनुसार सन् २०१८ को पहिलो आधा भागमा भारतीयहरुको आगमनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा १८% ले बृद्धी भयो भने चीनबाट आउने भ्रमणकर्ताहरुको सङ्ख्या ४३% बढ्यो । सबैभन्दा बढी बृद्धी रसियाबाट आउने भ्रमणकर्तामा देखिन्छ । यो अवधिमा अघिल्लो वर्षको तुलनामा रसियाबाट ३६६% बढी भ्रमणकर्ताहरु आए ।
तथापि समग्रमा भने नाकाबन्दीले यो देशको भ्रमणमा आउनेहरुको सङ्ख्यामा असर पारेको देखिन्छ । कतार पर्यटन प्राधिकरणले बताए अनुसार कतार आउने समग्र भ्रमणकर्ताको सङ्ख्या अघिल्लो वर्षको तुलनामा एक तिहाईले घटेको छ । सन् २०१७ को पहिलो आधा भागमा १४.६ लाख पर्यटक कतार आएकोमा यो वर्ष ९.४५ लाख पर्यटक आए ।
यो मुख्यत बाँकी अरब राष्ट्रहरुबाट पहिले आउने भ्रमणकर्ताहरुको सङ्ख्यामा उल्लेख्य गिरावटको कारणले भएको हो । यो अवधिमा गल्फ कोपरेशन काउन्सिल राष्ट्रहरुबाट आउने भ्रमणकर्ताहरुमा ८४% ले कम भएर १,००,००० पुगेको छ । त्यस्तै अन्य अरब राष्ट्रहरुबाट आउने भ्रमणकर्ताहरुको सङ्ख्या ४५% घटेर ६३,००० पुगेको छ ।
होटल उपभोग दर पनि सन् २०१८ को पहिलो आधा भागमा अघिल्लो वर्षको सोही समयको तुलनामा ६०%ले घटेको छ । कतार एयरवेजले यो अवधिमा आफूले उल्लेख्य आर्थिक घाटा बेहोरेको जानकारी दिएको छ ।
तथापि छिमेकीहरुको प्रतिबन्धको असर भोग्ने कतारको ट्राभल उद्योग मात्र होइन, अन्य क्षेत्रहरुमा पनि केही असर परेको छ । असरका बाबजुद प्रतिबन्ध एक वर्ष नाघिसक्दा कतारले प्रतिबन्धका असरहरुसँग बाच्न सिकिसकेको जस्तो देखिन्छ ।
-फोर्ब्सबाट

