सामाजिक सञ्जाल, त्यस अन्तरगतका विभिन्न प्लेटफर्महरुको नशाले मानिसको जीवन नै कैदीको जस्तो भैसकेको छ । तपाई हाम्रो महत्वपुर्ण समय जति सबै सामाजिक सञ्जालले खोसेर लगिसक्यो ।
तपाई हामी भने यसको रसमा र लतमा शायद नराम्रोसँग फसिसक्यौँ । त्यो भन्दा पनि ठुलो यससँग सम्बन्धित अपराधहरु छन् । जसको जालमा परेर मानिसहरुले आत्महत्या समेत गरेका रेर्कडहरु छन् । आज मैले दिन खोजेको दृष्टान्त अत्यन्त जरुरी छ ।
कृपया ध्यान दिएर सुन्नुहोला, र बुझ्ने प्रयास गर्नुहोला । केही सुन्दर, आकर्षक देखिने विदेशी युवतीहरु म्यासेन्जर, भाइबर, इमो, ह्वाट्स्याप मार्फत नेपाली पुरुषहरुसँग कुराकानी गर्छन् । क्रमशः ती पुरुषहरुलाई आफ्नो बशमा पारेर भिडियो च्याटमै आपत्तिजनक क्रियाकलाप गर्न लगाउँछन् तर ती सबै गतिविधिहरु ती युवतीहरु रेकर्ड गर्दछन् र त्यसपछि तपाईलाई त्यही भिडियो पठाइदिन्छन् र बल्याकमेल गर्न सुरु गर्छन ।
यति पैसा पठाइनस भने म यो भिडियो विभिन्न साइटमा पोष्ट गर्छु भनेर धम्क्याएपछि आफ्नो प्रतिष्ठा समाप्त हुने डरले कयाँै पुरुषहरुले पैसा पठाएको पठाएकै छन् । स्थिती यस्तो सम्म भैसक्यो कि कतिपय मानिसहरुले ऋण माथि ऋण लिएर सम्पत्ती बेचेर पनि पैसा पठाएको पठाई छन् ।
कतिपय विदेशी पुरुषहरुले नेपाली नारीहरुलाई त्यसरी नै ठगेका छन् । चित्त नदुखाउनु होला, एउटा सीधाकुरा गर्न चाहान्छु्, विदेशी केटा अझ खैरो कपाल र गोरो अनुहार भएका युरोपेली अमेरीकी देख्ने वित्तिकै मरिहत्ते गर्ने चेलीहरु धेरै छन् ।
यो खैरेसँग प्रेम गरियो भने त भोली भिषा लाग्छ, पर्सी विदेश उडिन्छ भन्ठान्ने सोझा साझा दिदीबहिनीहरुलाई बचाउनका लागि मैले केही निर्मम शब्दहरु प्रयोग गरेछु भने माफ गर्नुहोला तर त्यसै गरी गोरे केटासँग भिडियो च्याट गर्दै उसले भने अनुसार निर्वस्त्र हुने दिदीबहिनीहरु धेरै संख्यामा यस्तै ब्ल्याकमेलको शिकार भएका छन् ।
यो दृष्टान्त सुन्दा जति अप्र्रिय र लाज लाग्दो छ, यसबाट पीडितहरुको वास्तविक कथा मैले भन्न सके भन्दा घिनलाग्दो छ । त्यसैले सावधान, कसैका अगाडि भिडियो च्याटमा कोही पनि कतै पनि कुनै पनि हालतमा ननाङगीनुहोला, कसैले युरोप अमेरिका त के चन्द्रमा, मंगलग्रह मै लैजान्छु भने पनि निर्वस्त्र हुँदै नुहुनु होला ।
यो सब ब्ल्याकमेलिङ गर्ने खेल हो । जसको शिकार बनेका कयौँ पीडितहरु हाम्रो कार्यालयमा आइरहेका छन् । त्यती मात्र होइन तिमी विना भुतुक्कै हुन्छ, पुक्लुक्कै ढल्छु भनेर प्राणै त्याग्न रेडी भएका मायालुहरुले समेत एक अर्कालाई बल्याकमेल गरीरहेका छन् । आकाशको तारा झारीदिन्छु भन्नेहरु एउटा नाङगो फोटो खिचेर बंगारा झार्दिन्छु भन्ने स्थितीमा आइसके ।
भिडियो च्याटमा कहिले पनि कसैलाई पनि विश्वास नगर्नुस् । वैदेशिक रोजगारीले गर्दा छुटिएर बस्न बाध्य श्रीमान श्रीमतीबीच पनि त्यस्ता तस्वीर र भिडियोको आदानप्र्र्रदान हुनु हुँदैन । श्रीमान श्रीमतीको साथीले तिनको मोवाइलमा भएको भिडियो आफ्नो मोवाइलमा सारेर समेत ब्ल्याकमेल गरिरहेका छन् । यो विषय हुन सक्ला निम्न कोटीको सुनियो होला तर सयौँ हजारौ मानिस यो पीडाबाट गुज्रिरहेका छन् ।
अर्को इमो, भाइबारमा यतिको चिठ्ठा प¥यो, उतिको चिठ्ठा प¥यो भनेर म्यासेज आँउछ । विदेशबाट उपहार आएको छ,अथवा विदेश आउने भिषाको डकुमेन्ट आएको छ, भन्सार छुटाउन यति पैसा पठाउनु भनेर समेत म्यासेज आउँछ । केही विदेशी पुरुषहरु सोझा नेपाली चेलीहरुलाई विदेश बोलाउने झुठो आश्वासन दिदै गिफ्ट पठाएको छु, भन्सार छुटाउन यति पैसा पठाउ भन्छन् ।
सबका सबै झुठ हो गलत हो, फेक हो । आजको जमानामा सित्तैमा मान्छेले गाली त गर्दैन् चिठ्ठा, उपहार ? असम्भव । विशेष सन्देश नेपाली चेलीहरुलाई । नालापानी लडाईमा पानीको एक घुट्को समेत नपिएर कयौँ दिनसम्म युद्ध लडेर गोराहरुलाई भगाउने विरगंनाहरुको देश हो यो ।
यस्तो गौरवाशाली इतिहास बोकेको देश नेपालका चेली हो, एउटा झोले गोरेले विदेश बोलाउँछ भन्दैमा भिडियो च्याटमा त्यसका अगाडि नांगिने होइन । सावधान । पानी बिना नै बाँच्न सक्ने आमा, दिदी बहिनीको देशका चेलिहरुलाई कुनै झोलेले फगत भिषाका लागि ननङ्ग्याओस ।

