मुन्धुम विज्ञका रुपमा परिचित डा. चन्द्रकुमार शेर्मा किरात धर्म, संस्कृति र परम्पराका पनि बिज्ञ हुन् । एक दर्जनभन्दा बढी संघसंस्था खोलेर किरात धर्म, भाषा, संस्कृतिका लागि काम गरिसकेका र अहिले पनि गरिरहेका उनै विद्वान डा. चन्द्रकुमार शेर्माले डाँफे टेलिभिजनसँग गरेको कुराकानीमा उनी भन्छन:-
अहिलेसम्म ५० औं कृति लेखिसकें अब ५१ औं र ५२ औं कृति लेख्दैछु । मेरा कृतिहरु किरात धर्म र दर्शन, मुन्धुम , ज्योतिष, धार्मिक, भाषिक र सांस्कृतिक विषयसंग सम्बन्धित छन् । मेरा कृतिका विषयहरु धार्मिक आध्यात्मिक नै हुन् ।
किरात धर्म अत्यन्तै प्राचिन र सनातन धर्म हो, यो कुरा पुराण, वेद र स्मृतिहरुमा पनि उल्लेख छ । तिब्बतको दक्षिण भारतको बिन्द्याचल उत्तर, अफगानिस्तानको पूर्ब र बर्माको पश्चिम पहिले ग्रेट किरात थियो, प्राचिन कालमा । अहिले हाल, माझ किरात , वल्लो किरात र पल्लो किरात साँगा पूर्ब मेची पश्चिमलाई माझ किरात, वल्लो किरात र पल्लो किरात भनिन्छ ।
किरात भनेको शिवशंकरको प्रचलित नाम हैन किरातेश्वर हो । किरात धर्म अरु कुनै धर्म नभएर किरात धर्म नै हो । शिव भगवान कहाँ हिन्दू को हो त्, हिन्दूले मान्ने त सिन्धुघाटीको सभ्यताबाट सुरु भएर सिबिलाइजेसन भएको हो, सत्य युगमा भगवान ब्रम्हाको पालो, द्वापर युगमा सूर्यको त्रेता युगमा विष्णु भगवानको पालो कलियुगमा शिव भगवानको पालो हुनाले सबैले शिवलाई आराध्यदेव-इष्टदेवको रुपमा मानेको त कलि प्रवेश पश्चात हो । हाम्रो किरातेश्वर्लाई एउटा वर्गले शिवजी भन्दिए, हाम्रो मुन्धुम भाषाबाट त अझै पनि शिव पनि भन्दैनौ, हामी त हान्गसांग थेबा भन्छौं । एउटा इष्टदेवको विविध नामले सम्बोधन गरिएको विविधता मात्रै हुन् ।
अहिलेको कलियुगमा पैसा ईश्वर हैन तर इश्वर भन्दा कम पनि छैन । किरात धर्मसंग पैसा छैन, हामीसंग मिडियामा जाने, टेलिभिजन किन्ने , रेडियो स्थापना गर्ने , हाम्रा मुन्धुम्हारू, अंग्रेजी, संस्कृत, नेपालीमा अनुवाद गरेर प्रचार गर्ने हामीसंग साधन श्रोत छैन । त्यसो भएको हुनाले मिडियामा वा बाहिर प्रचार नभएको हो ।
धर्म भन्ने चिज मानिसले जन्मिंदै लिएर आएको हुन्छ, स्वभावको नाम नै धर्म हो । जस्तो स्वभाव त्यो अनुसारको कर्म गर्छ, जस्तो कर्म गर्छ त्यो अनुसारको धर्म लाग्छ । धर्म परिवर्तन गर्ने चिज हैन । आमाको डिम्बमा पिताको शुक्रकिट जोडिएपछी सुरुवात हुन्छ र तीन महिना आमाको गर्भ शैयामा शुक्रकिटको विकासक्रममा आमाको नाइटोबाट आत्मा प्रवेश गर्छ । एउटा आमको आत्मा र एउटा शिशुको आत्मा, दुइटा आत्मा भएको हुनाले नै गर्भवती महिलालाई दुई जिउ भनिन्छ । त्यो आत्मा प्रवेश भएको नै अध्यात्म हो, त्यतिबेला नै मानिसले धर्म लिएर जन्मेको हुन्छ । बच्चाले जन्मिदा नै आमाको धर्म, पिताको धर्म लिएर नै आएको हुन्छ । आत्मा नै अध्यत्म हो र अध्यात्म भनेको नै धर्म हो ।
२०६८ सालको जनगणना अनुसार नेपालमा किरात धर्म मान्ने ८ लाख १८ हजार रहेका छन । उक्त गणना अनुसार पहिलो हिन्दू, दोश्रो बुद्ध, तेश्रो मुस्लिम र चौथोमा किरात धर्मावलम्बीहरु रहेका छन् ।
नेताहरु समय सीमाभन्दा अगाडी बढ्ने सकेका छैनन् ।मैले स्थापना गरेका एक दर्जनभन्दा बढी संघ संस्थाहरु किरात धर्म तथा साहित्यको उत्थानसंग सम्बन्धित छन् । संस्था दर्ता त भएका छन्, तर ती लापता छन्, बेपत्ता छन् । यहाँ संस्था दर्ता गरेर थापी खाने भाँडो बनाएका छन्, समाज कल्याण परिषद्मा जाँदा ४० हजार भन्दा बढी संस्था दर्ता छन् तर तिनले के काम गर्छन थाहा छैन तर यो चै हराउन लागेको आदिबाशी जनजातिको भाषा लिपि, इतिहास, धर्म, संस्कार, भेषभूषा र गरगहनासंग रिलेटेड , सभ्यतासँग रिलेटेड, धर्म ज्ञानसँग सम्बन्धित भएको हुनाले अन्य संघसंस्थाभन्दा यिनको अस्तित्व अलि पृथक छ ।
यो संसारमा ठुल्ठुला मानिसहरुको पनि जन्म र जयन्ती बाहेक केही पाइदैन । दुई दिने चोलामा मानिसले केही न केही गरेर जानु पर्छ भन्ने मेरो मान्यता हो। मेरो नाम पनि प्रतिष्ठान छ, मैले एकसय एघार रोपनी जग्गा दान गरेको छु । मेरो जन्मभूमिको स्कुललाई उनीहरुले नमागी जग्गा दान गरेको छु. तर यस्तो पून्यको काममा मान्छेको होस् वा राज्यको ध्यान जादैन । ५० वटा त मैले दर्शनका कृति लेखिसके तर मेरो इच्छा १०८ वटा कृति लेख्ने हो । दुई वटा लेख्दै छु, अरु बाँकी छन् । जन्मेपछि हामी मर्ने निश्चित छ तर मर्दा ‘अ’ हुने अर्थात् अमर हुने उपाय खोजिरहेछु ।
क्रिश्चियन मिसन भयङ्कर खतरापूर्ण छ । मान्छे हरुलाई धर्मको कूटनीतिक र धर्मको दर्शनबारे त्यति ठुलो ज्ञान छैन । नेपालमा क्रिश्चियन मिसन ३ हजार भन्दा बढ्ता द्वारहरुबाट आएको छ । “इन गड वी ट्रष्ट” भनेर लेखिएको अमेरिकी डलरमा अहिले ब्रह्माण्ड कब्जा गरेको छ । प्रत्येक जनजातीहरुको घरमा मुन्धुम भन्दा पहिले बाइबल पुगेको छ । नेपालको गरिबी , अशिक्षा , जातीय विभेद र बेरोजगार जस्ता कमजोरीलाई समातेर क्रिश्चियन मिसन बढेको छ , यसलाई बन्द गराउने जिम्मा यहाको सरकार र ठुलो भनिएको हिन्दु र बौद्ध समुदायको हो । नेपालको सनातन धर्म संस्कृति जोगाउन पहिलो प्राथमिकतामा पर्नु पर्छ ।
कुराकानीको क्रममा सम्पूर्ण नेपालीहरुको सुख र शान्तिको कामनासमेत गर्ने डा. चन्द्रकुमार राईको अध्ययन र अनुभवले खारिएको जीवनले जीवन, जगत र धर्मको बारेमा अरु के के भन्छ त ? ती सबै जान्नका लागि भिडियोमा क्लिक गर्नु होस् ।

