नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५ औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी छिन् ।
नेपाली सेनामा १४ वर्षअघि भर्ना भएका महिलाहरूको पहिलो समूहकी सुलोचना पौडेल सेनानीको पदमा कार्यरत छिन्।
अहिले उनी ‘कमान्ड एन्ड स्टाफ कोर्स’ गर्दैछिन्। सो कोर्स गर्ने आफू प्रथम महिला सैनिक अधिकृत भएको उनी बताउँछिन्।
महिलाले हीनताबोध नगरी एउटा लक्ष्य राखेर काम गरे सफल हुन सकिन्छ भन्ने उनको विश्वास छ।
नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।
सहायक सेनानीमा विसं २०६१ सालमा भर्ना भई हाल कल्याणकारी निर्देशनालयमा कार्यरत सेनानी सुलोचनाले सेनाको उक्त प्रतिष्ठित कोर्ष गर्न पाउने पहिलो महिला भइ सैनिकको क्षेत्रमा नौलो इतिहास रचिने भएको छ । पच्चिसौँ कमाण्ड एण्ड स्टाफ कोर्षका लागि यस वर्ष सात महिलासहित ३०० सैनिक अधिकृतले प्रतिस्पर्धा गरेकामा ४९ जना छनोट भएका थिए ।
दश वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्षका लागि तीन पटक प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त कोर्ष सैनिक संगठनमा माथिल्लो तहमा पदोन्नति हुन अनिवार्य मानिन्छ । सहसेनानी र सेनानीले उक्त कोर्षका लागि प्रतिस्पर्धा गर्न पाउने सैनिक ऐनमा व्यवस्था छ ।

एउटै कोर्षमा सुलोचना र परिचित दम्पती
सुलोचनालाई उक्त कोर्ष आफ्ना पति सेनानी परिचित देउजासँगै एकैसाथ सहभागी हुने अवसरसमेत जुटेको छ । परिचित नेपाली सेनाको ४५औँ समूहमा तथा सुलोचना ४६औँ समूहमा भर्ना भएका अधिकृत हुन ।
हामी दुवैले निकै मेहनत गरेर परीक्षा दिएकाले सफल भएका हौँ, निकै खुशी लागेको छ, यो कोर्षका लागि निकै ठूलो प्रतिस्पर्धा हुन्छ, यस पटकदेखि महिलाका लागि पनि ढोका खुल्ला भएको छ, सेनानी सुलोचनाले भन्छिन ।

दम्पति
पछिल्लो समय शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज विश्वका शक्तिशाली मुलुकका सेनाका लागि उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।
उक्त कलेजमा सञ्चालित २५औँ शृङ्खलाको कमाण्ड एण्ड स्टाफ कोर्षमा बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बेलायत र अमेरिकासहित नौ मुलुकका १० विदेशी सैनिकको सहभागिता रहेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजनासहित उक्त कोर्षमा ६२ प्रशिक्षार्थीको सहभागिता छ । सेनानी सुलोचना एक्ली महिला प्रशिक्षार्थी हुन् ।
-भिडियो

