सुरक्षाका दृष्टिले अति संवेदनशील रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई काठमाडौंमा एउटै तहको सबैभन्दा उच्च सुरक्षा प्रबन्ध गरिएको छ।

(भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा सामाग्री र सैनिक कमाण्डो लिएर आएको भारतीय वायुसेनाको विमान)
बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आउन लागेका मोदी र हसिनाको सुरक्षामा आधुनिक हतियार बोकेका सेना, शसस्त्र र नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका गरी करिब १० हजार सुरक्षाकर्मी बर्दी र सादा पोशाकमा खटिनेछन्।
मोदीको सुरक्षाका लागि भारतबाटै आएका स्पेशल प्रोटेक्सन ग्रुप (एसपीजी) का करिब २७ जना कमाण्डो ‘जेड प्लस’ तहमा तैनाथ हुनेछन्। ती कमाण्डोमध्ये एक दर्जन बढी नेपाल आइसकेका छन्। मोदीलाई अति नजिकबाट सुरक्षा दिने कमाण्डो दस्ता उनीसँगै विशेष विमानबाट बिहिबार बिहान काठमाडौं ओर्लने छन्।
२५ देखि २७ जनासम्मको दस्ताले अति नजिकबाट खुलास्थानमा सुरक्षा दिने प्रक्रियालाई ‘जेड प्लस’ तहको सुरक्षा मानिन्छ। गृहमन्त्रालयका सुरक्षा अधिकारीका अनुसार बिमस्टेक सम्मेलनको क्रममा उच्च सुरक्षा चुनौती रहेको मानिएका दुई देशका सरकार प्रमुखलाई मात्र यस्तो उच्च तहको सुरक्षा दिन लागिएको हो।
मोदीको सुरक्षा प्रयोजनका लागि दुई थान बुलेटप्रुफ गाडी पनि काठमाडौं ल्याइसकिएको छ।
नेपालखबरले प्राप्त गरेको सुरक्षा योजना अनुसार दिल्लीबाट आउने कमाण्डो दस्ता २४ घण्टा नै मोदीसँगै रहने छ भने नेपाल सरकारले उनको सुरक्षाको पहिलो घेरामा नेपाली सेना समेत खटाउने छ। मोदी करिब ३० घण्टा मात्र काठमाडौंमा रहने छन्, त्यो समय उनी सहभागी हुने बिमस्टेक सम्मेलन स्थल र रिट्रिट सेन्टरमात्र अहिले खुलाइएको छ। उनले काठमाडौं उपत्यकाभित्र र नजिक रहेका धार्मिक स्थलमा जाने इच्छा देखाए लैजाने तयारी समेत भइरहेको छ। शुक्रबार मोदीको दिल्ली फर्कने समय तय गरिएको छैन।
मोदीको सुरक्षाको सम्पूर्ण अनुगमन र निर्देशन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हेर्दै आएका छन्। बिमस्टेक सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी हुने गरी डोभाल मोदीसँगै काठमाडौं आउने बुझिएको छ।
बंगलादेशका प्रधानमन्त्री हसिना पनि आफ्नै स्पेशल सेक्युरिटि फोर्सेस (एसएसएफ) को कमाण्डो दस्तासहित बिहिबार बिहान नै काठमाडौं आउँदै छन्। बंगलादेशका राष्ट्रपति, प्रधानमन्त्री र विदेशबाट जाने विशिष्ठ पाहुनाको सुरक्षार्थ खटिने यो विशेष सुरक्षा दस्ताका सदस्य हसिनासँगै विशेष विमानमा नेपाल आउन लागेका हुन्।
चुनावी तयारीको चटारोकाबीच बिमस्टेक सम्मेलनमा सहभागी हुन समय निकालेकी हसिना काठमाडौंमा करिब २६ घण्टा मात्रै रहनेछन्।
भारत–भुटान, बंगलादेश–म्यानमार, श्रीलंका–थाइल्याण्ड
बिमस्टेक सुरक्षा योजना अन्र्तगत दुई देशका राष्ट्रध्यक्ष र सरकार प्रमुख, नजिकका नातेदार (पहिलो महिला), मन्त्री, सचिव र पर्यवेक्षकलाई एउटा च्यानलमा राखिएको छ।
सुरक्षा निकायले भारत र भुटान, बंगलादेश र म्यानमार तथा म्यानमार र श्रीलंकालाई एउटै च्यानलमा राख्ने प्रबन्ध गरेको हो। यो सुरक्षा प्रबन्ध अनुसार विशिष्ठ पाहुनाको आवागमन, कार्यक्रम स्थल र अन्य भ्रमणको प्रबन्ध र विश्लेषण एउटै च्यानलबाट हुनेछ।
यस्तै सवारीका लागि कार्गेड, सवारी मार्गको कर्डन र विशेष सूचना संकलन तथा आपतकालिन अवस्थाको प्रबन्ध समेतका लागि दुई देशको एक च्यानल तय गरिएको हो।
४० जनाको कमाण्ड पोष्ट, एसएसपी कमाण्डर
प्रहरीले विशिष्ठ पाहुनाको कार्गेड, कार्यक्रमस्थल र कर्डनका लागि वरिष्ठ उपरिक्षकको नेतृत्वमा ४० सदस्यीय कमाण्ड पोष्ट बनाएको छ। एक जना एसपी र दुईजना डिएसपी रहने पोष्टमा ४ जना प्रहरी निरीक्षक तथा ८ जना जुनियर प्रहरी अधिकृत रहने छन्।
कमाण्ड पोष्टले सूचना लिने र प्रवाह गर्ने, आवश्यक निर्देशन दिने र आपतकालीन अवस्थाको बन्दोबस्तीका लागि तत्काल निर्देशन दिनेछ। पोष्टले केन्द्रीय कमाण्ड सेन्टरसँगको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउनेछ।
प्रहरीले विशिष्ठ पाहुनाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षबाट कार्यक्रम स्थल होटल सोल्टीसम्म कर्डन गर्नेछ। जसका लागि बाटोको सुरक्षामा ३०० जना बर्दीधारी र ८० जना सादा पोशाकका प्रहरी खटिनेछन्।
विशिष्ठ पाहुनाहरुका लागि विमानस्थल, तिनकुने, नयाँ बानेश्वर, थापाथली, कालिमाटि हुँदै होटल सोल्टीसम्म सवारी चलाइनेछ। यसको विकल्पमा विमानस्थलबाट चक्रपथ हुँदै कलंकी र त्यहाँबाट सोल्टीमोड भएर होटलसम्म पु¥याउने व्यवस्था गरिएको छ। जसमा १३५ बर्दीधारी र ३५ जना सादा पोशाकका प्रहरी खटिनेछन्।
राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको कार्गेड
बिहिबार अपरान्ह बिमस्टेक सम्मेलन उद्घाटन सत्र र बैठकमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओली सहित ७ देशका विशिष्ठ पाहुनाहरुका लागि मोटरसाईकल, जामर, एम्बुलेन्स र सुरक्षाकर्मी सहितको गाडीको बिचमा राखेर कार्गेड चलाइने छ। जसमा १० देखि १३ सवारीसाधन प्रयोग हुनेछन्।
कार्गेडमा साना र ठूला हतियार सहितका सुरक्षाकर्मी खटिनेछन्। सवारी चलेको समय बाटोको दायाँबायाँ पर्ने घरका पहिलो तल्ला बाहेक झ्यालढोका बन्द राख्नु पर्नेछ। आकाशे पुल, पुल र अग्ला भवनमा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ।
सवारी चलेको समय शंकास्पद लागे जो कोहीलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार सुरक्षाकर्मीले दिइएको छ। सडकको १५ मिटर दाँयाबायाँ सर्वसाधारणलाई आउन रोक लगाइने छ।
-नेपाल खबर

