ईसाई समुदायका एक अगुवा एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायाले सबै धर्मको रक्षाको निम्ति नेपाल हिन्दू राज्य हुनु पर्ने धारणा व्यक्त गरेका छन्। बीबीसीको साप्ताहिक नेपाल सन्दर्भमा बोल्दै उनले धर्मनिरपेक्ष नेपालीको एजेन्डा नभएको बताए। डा. केबी रोकाया भनेर चिनिनुहुने कालीबहादुर रोकाया क्षत्री मानवअधिकारकर्मी, प्रतिष्ठित बुद्धिजीवी एवम् समाजसेवी र एक धार्मिक समुदायसम्बद्ध व्यक्तिका रूपमा चिनिन्छन । हाइड्रो इन्जिनियरिङमा पिएचडी गरेका डा. रोकाया आफ्नो विषयगत विद्वताका कारणले भन्दा पछिल्लो समय राजनीतिक सोच–विचार तथा फरक धारणाका कारण चर्चामा छन ।
क्रिश्चियन धर्म अवलम्बन गरेका व्यक्ति भएर पनि उहाँले पछिल्लो समय नेपाल संवैधानिक राजसंस्थासहित को हिन्दूराष्ट्रका रूपमा रहनुपर्ने धारणा चर्कोसँग प्रकट गर्दै आएका छन् । कुनै बेला माओवादी युद्धमा आफ्नै प्रकारको भूमिका निर्वाह गरेका व्यक्ति आज राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा किन र कसरी उभिन पुगे त ? यही जिज्ञासालाई मध्यदृष्टि दिएर बिबिसी नेपाली सेवाले डा. रोकायासँग गरिएको विस्तृत कुराकानी प्रस्तुत गरिएको छ ।
मुलुकी ऐन विस्थापित गर्न जारी गरिएका कानुनले धर्म परिवर्तनको नियतले गरिने प्रचारलाई दण्डनीय ठान्ने जस्ता प्रवधानबारे कुरा गर्ने क्रममा उनले त्यस्तो मत राखेका हुन्।
धर्मनिरपेक्ष राष्ट्रमा त्यस्ता कानुन बन्नुलाई उनी स्वाभाविक ठान्छन्। विगतमा आफूले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर गल्ती गरेको उनको स्वीकारोक्ति छ। तीन वर्षयता अध्ययन गर्दा ‘धर्म निरपेक्षता र गणतन्त्र’ नेपाल र नेपालीको एजेन्डा नभएको निचोडमा पुगेको उनले सुनाए।
उनी भन्छन्, “राष्ट्रिय एकता र अखण्डताको निम्ति कुनै न कुनै रूपमा राजतन्त्र र सबै धर्मको रक्षा एवम् समाजलाई सही बाटोमा हिँडाउन नेपालको सन्दर्भमा हिन्दू राज्य पुनर्स्थापना जरुरी छ।”
बाह्य शक्तिको स्वार्थमा ती निर्णय भएको निर्क्योल गर्दै उनले पुनर्विचार नगरिए सबै धर्मको विनाश हुने र राष्ट्रिय अस्तित्व नै खतरामा पर्ने विश्लेषण गरेका छन्।
तीनवटा कुराले नेपालको पहिचान दिँदोरहेछ अर्थात् तीनवटा कुराको ‘पिलर’ (खम्बा)माथि नेपाल अडेको रहेछ । नितान्त मेरो व्यक्तिगत बुझाइ हो यो– गलत पनि हुन सक्ला, ती तीन खम्बामा पहिलो– शाहवंशीय राजसंस्था, पृथ्वीनारायण शाहले यो देश बनाएका हुन्, नेपाल निर्माण गरेका हुन्, त्यसकारण नेपालको ऐतिहासिक पहिचानसँग जोडिएको शाहवंशीय राजसंस्था एउटा खम्बा रहेछ, अर्को रहेछ नेपाली सेना ।
नेपाली सेना बनाएकै नेपाल एकीकरण गरी नयाँ नेपाल राष्ट्र बनाउन हो, जो नेपाली सेना अहिले पनि हामीसँग छँदै छ । यसर्थ, यो नेपाली सेना पनि हाम्रो (नेपालको) अर्को महत्वपूर्ण पहिचान हो ।
र, अर्को महत्वपूर्ण खम्बाचाहिँ हिन्दूधर्म रहेछ । शाहवंशीय राजसंस्था र नेपाली सेना दुवै नङ–मासुको सम्बन्ध राख्ने निकाय हुन्, अनि नेपालको सन्दर्भमा हिन्दूधर्म जतिसुकै अन्यथा ठान्न खोजिए पनि नेपालको पहिचान भनेकै यी तीन कुरामा अडिएको रहेछ ।
त्यसकारण नेपाल रहनका लागि यो तीनवटा खम्बा रहनु अपरिहार्य छ भन्ने निष्कर्षमा म पुगेको छु । यो तीनवटा खम्बा हटाएपछि नेपाल रहँदैन भन्ने निचोडमा म पुगेको छु । यसर्थ यी तीन कुरा हटाएपछि नेपाल रहँदैन, मेरो नितान्त व्यक्तिगत बुझाइ हो यो, तर कसैले माने पनि नमाने पनि यो एकदम फ्याक्ट हो ।
सुनुहोस रोकायासंग गरिएको कुराकानीको अडियो

