बिहिबार, साउन २४, २०७५
नेपाल–बंगलादेश उर्जा सहकार्य सम्झौता हुँदै

नेपाल–बंगलादेश उर्जा सहकार्य सम्झौता हुँदै


  • स्वदेश नेपाल
  • बिहिबार, साउन २४, २०७५

नेपाल र बंगलादेशबीच उर्जा सहकार्य सम्झौताका लागि बंगलादेशी उर्जा राज्यमन्त्री नसरुल हमिद बिहीबार नेपाल आइपुगेका छन्।

‘नेपाल र बंगलादेशबीच लामो समयदेखि उर्जा क्षेत्रमा सहकार्यको विषयमा छलफल हुँदै आएको छ’ उर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले भने, ‘दुई देशबीच शुक्रबार उर्जा खरिद सम्झौतामा हस्ताक्षर हुने छ।’


त्यसअघि मन्त्रीहरुबीच सिँहदरवारमा एक्लाएक्लै र दुबै देशका प्रतिनिधि मण्डलबीच उर्जा सहकार्य बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ।

सम्झौतामा दुबै देशबीच उर्जा क्षेत्रको व्यापार र लगानीका लागि संयुक्त उर्जा संयन्त्र गठन गरिने छ।

त्यसको खाका सन् २०१४ मा नेपालमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा भएको उर्जा सहकार्यको खाका अनुसार नै हुने बताइएको छ।

आपसी सीमा नजोडिएको नेपाल र बंगलादेशबीच उर्जा आदान-प्रदानका लागि प्रशारण लाइन निर्माणको विषय भने जटिल रहेको छ। किनभने, यसमा नेपाल र बंगलादेशबीचमा रहेको भारतको सहमति हुनुपर्छ।

नेपालले यसअघि नै सीमा जोडिएका दुई छिमेकी भारत र चीनसँग उर्जा सहकार्य सम्बन्धी सम्झौता गरिसकेको छ। भारतसँग उर्जा खरिद सम्झौतासमेत भइसकेको छ।

उर्जा संकट बेहोर्दै आएको बंगलादेशले यसअघि पनि नेपालका जलविद्युत आयोजनामा लगानी गरेर उत्पादित विजुली आफ्नो देश लैजाने बताउँदै आएको छ।

बंगलादेशले उर्जा संकटको समाधान गर्न जलविद्युतका साथै आणविक उर्जामा समेत जोड दिँदै आएको छ।

बंगलादेशले नेपालको सुनकोसी-२ र सुनकोसी-३ जलविद्युत आयोजनामा लगानी गर्न चाहेको छ। यस सम्बन्धमा छलफल प्रारम्भिक चरणमा रहेको उर्जा मन्त्रालय स्रोतले जनाएको छ।

प्रस्तावित परियोजना सुनकोसी-२ को क्षमता ११ सय १० मेगावाट छ भने र सुनकोसी-३ को क्षमता ५३६ मेगावाट क्षमताको रहेको छ।-नेपाल खबर

प्रतिक्रिया
सम्बन्धित समाचार