निर्वासित तिब्बती सरकार रहेको उत्तरी भारतको धर्मशालामा १४ औँ दलाई लामाको स्वास्थ्यको विषयलाई लिएर ठूलो अफवाह फैलिएको छ।
निक्की एसिया रिभ्यु अनलाइनले जनाए अनुसार ८३ वर्षीय बौद्ध धार्मिक नेता दलाई लामाको स्वास्थ्यको विषयलाई लिएर निर्वासनमा रहेका तिब्बतीहरुबीच धेरै चिन्ता छाएको छ।

दलाई लामाको स्वास्थ्यको विषयलाई आधार बनाएर प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय सरकारले चीनसँग सम्बन्ध सुधार गर्न खोजिरहेको अनलाइनले दावी गरेको छ।
निक्की एसिया रिभ्यु अनलाइन जापानको संस्थापन निकट सञ्चार माध्यम हो, जसले भूराजनीतिक विषय बढी समेट्दै आएको छ।
‘दलाई लामाको अवस्था गम्भीर छ भन्ने हल्ला निकै फैलिएको छ’, धर्मशालाकी ४९ वर्षिया गृहणी मिग्मार चोदोनले भनेकी छन्, ‘मैले सुनेअनुसार हिज होलिनेश (दलाई लामा) को स्वास्थ्य राम्रो छैन।’
‘मपनि चिन्तित छु’, धर्मशालाकै एक रेस्टुरेन्टका २७ वर्षीय कामदारलाई उद्धृत गर्दै निक्की एसिया रिभ्युले लेखेको छ, ‘होलिनेश बिरामी छन् भन्ने कहीँ पढेको हुँ।’
सन् १९५९ मा १४ औँ दलाई लामा तिब्बतबाट भारततर्फ निर्वासित भएका थिए।त्यसपछि कम्तीमा १ लाख ३० हजार तिब्बतीले आफ्नो जन्मस्थान छाडेको मानिन्छ। अहिले भारतमा बस्दै आएका ८५ हजार तिब्बतीमध्ये करिब ८ हजार धर्मशालामा बस्छन्। त्यहीँ निर्वासित तिब्बती सरकार र १४ औँ दलाई लामा बस्दै आएको गुम्बा छ।
दलाई लामाको कमजोर स्वास्थ्यको विषयलाई लिएर धर्मशालामा निरन्तर अफवाह फैलिरहेको छ। पछिल्लो पटक जुन महिनामा एक भारतीय सञ्चार माध्यमले दलाई लामा प्रोष्टेट क्यान्सरको अन्तिम अवस्थामा रहेको समाचार दिएको थियो।
लामाका चिकित्सक र निर्वासित सरकारले तत्काल त्यसको खण्डन गरेका थिए। त्यही खण्डनलाई विश्वास गर्दै धर्मशालामा रहेको तिब्बती समुदाय शान्त हुने कोसिसमा छ।
तर भारत सरकार लामाको क्यान्सर सम्बन्धी समाचार विश्वासनीय र गम्भीर हो भन्ने ठान्छ। दिल्लीको सरकारी स्रोतले भन्यो, ‘प्रोष्टेट क्यान्सर लिम्फ नाडसम्म फैलिसकेको छ, त्यसैले उनको जीवन त्यति लामो छैन।’
विगत दुई वर्षदेखि दलाई लामाले अमेरिका तथा आफू निकट व्यक्तिको अस्पतालमा उपचार गराइ रहेका छन् र आफ्नो स्वास्थ्य सम्बन्धी सूचना अमेरिकी अधिकारीहरुले चुहाए भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन्।
स्रोतले भन्यो, ‘दलाई लामा अगस्ट महिनामा रेडियोथेपारीका लागि स्वीट्जरल्यान्ड जानेछन्।’
वार्गेनिङ कार्ड
भारतले दलाई लामाको कमजोर स्वास्थ्यबारे फैलिएको विषयलाई चीनसँग थप मेलमिलापको रुपमा प्रयोग गरेको निक्की एसिया रिभ्यु अनलाइनले दावी गरेको छ। यस विषयमा गत अप्रिलमा चीनको उहानमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक छलफल भएको थियो।
‘सो भेटमा मोदीले राष्ट्रपति सीसँग दलाई लामाको स्वास्थ्य अवस्था र उनको मृत्यु भएपछि भारतले के गर्ने भन्ने बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए’, स्रोतले भन्यो, ‘मोदीबाट प्राप्त त्यो सूचनालाई सीले आश्चर्यको रुपमा लिए र उहान भेटमा यस विषयमा लामो समयसम्म छलफल गरे।’
भारतीय सरकारी पक्षको भनाई उद्धृत गर्दै त्यो कुराकानीमा मोदीले दलाई लामाको मृत्युपछि तिब्बतबारे आफ्नो अडान के हुन्छ भन्नेबारे जानकारी गराएको समाचारमा उल्लेख गरिएको छ।
मानवीय, रणनीतिक र अन्य कारणहरुले भारतले निर्वासित तिब्बतीहरुलाई करिव ६० वर्षदेखि स्वीकार्दै आएको छ।
चीनले स्वशासित क्षेत्र तिब्बतमा आफ्नो अवस्थालाई मजबुत बनाउँदै लगेको छ । यही कारण सन् २०१७ मा जम्मा ५७ जना तिब्बती निर्वासनका लागि तिब्बत छाडेका थिए, जबकि एक दशकअघिसम्म यो संख्या २ हजारभन्दा बढी थियो।
सामरिक दृष्टिले तिब्बतको महत्व घट्दै जाँदा भारतले पनि तिब्बतको विषयमा आफ्नो अडान कमजोर बनाउँदै लगेको छ। नत्र, यसअघि चीनसँग बार्गेनिङको एउटा कार्ड तिब्बत पनि बन्ने गरेको थियो।- नेपाल खबर

