सोमबार विहान कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालक केही समयदेखि घरबाट सम्पर्कविहीन भएको र बालककी आमालार्इ कसैले फिरौतीको रकम माग्न फोन गरिरहेको मुद्दा महानगरीय अपराध अनुसन्धान महाशाखाको टेवलमा आइपुग्छ।
‘बालक अपहरण भएको पक्का जस्तै भइसकेको थियो’ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भन्छन्,’त्यसपछि हामीले छुट्टाछुटै टोली बनाएर सर्च अप्रेसन सुरु गर्यौं।’
काँडाघारीस्थित मनोहरा खोलाको छेउमा सागर डिपोसँगै रहेको एउटा सानो चिया पसल। त्यही चिया पसलकी सञ्चालक हुन् चमेली खड्का अर्थात अपहरणपछि हत्या गरिएका बालक निशान खड्काकी आमा।
त्यो दिन अर्थात आइतबार निशान अपरान्ह चार बजेतिर अपहरणकारीको फन्दा परिसकेका थिए। उनकी आमा चमेली छोरो अन्य दिन झैँ कहीँ कतै साथीभाइसँग खेलिरहेकै होला भनेर ढुक्कले पसलको काममा व्यस्त थिइन्।
अाइतबार राति ९ बजेसम्म पनि निशान घर आएनन्। तर, ४० लाख फिरौतीसहितको चमेलीको मोबाइलमा फाेन आयो। सिन्धुपाल्चोकको ज्यामिरेमा स्थायी घर भएका निशानका बुबा अर्थात चमेलीका श्रीमान गणेश खड्का रोजगारीको शिलशिलामा मलेसिया छन्। चमेलीसँग फिरौती तिर्ने रकम ४० लाख रकम पनि थिएन, साथमा श्रीमान पनि थिएनन्।
सोमबार बिहानै चमेली प्रहरीमा पुगिन् र प्रहरीलार्इ सबै घटनाक्रम सुनाइन्। घटनाक्रम थाहा पाएसँगै महानगरीय अपराध अनुसन्धान महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँसँग सहयोग लिँदै सर्च अप्रेसन सुरू गर्योे।

‘अनुसन्धान थाल्दा सुरुमा फिरौती नम्बर माग्न प्रयोग भएको मोबाइल नम्बर ट्रयाक गर्यौं,’ अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सिंह अनुसन्धानबारे भन्छन्।
एसएसपी सिंहका अनुसार दिउँसो १२ बजेर ३० मिनेटमा प्रहरीले अपहरणकारीको ठाउँ पत्ता लगायो। त्यो ठाउँ थियो, भक्तपुरस्थित थिमि-९ को बन्दै गरेको नयाँ घर। प्रहरी त्यहाँ पुग्दा निशानको हत्या भइसकेको थियो। ‘अपहरणकारीको पिछा गर्दै जाँदा हामीले निशानको मृत शरिर गाडिएको अवस्थामा फेला पार्यौं ,’ एसएसपी सिंह भने।
उनका अनुसार त्यसपछि प्रहरी अपहरणकारीको खोजीमा लाग्यो। प्रहरीले गोप्य सूचना पायो-अपहरणकारी पाइलट बाबा अाश्रमतिरकाे जङ्गलतर्फ भागेका छन् भन्ने।
‘दुई अपहरणकारी जङ्गलमै रहेछन्। प्रहरीलार्इ देख्ने वित्तिकै उनीहरुले गोली चलाए। प्रहरीले पनि गोली चलायो’ एसएसपी सिंह भन्छन्,’प्रहरीको गोली लागेर अपहरणकारी नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाचोक कर्थली २३ वर्षीय अजय तामाङ मृत्यु भयो।’
प्रहरीले सुल्झाउन नसकेको एउटा रहस्य
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सिंहका अनुसार निशानको अपहरणपछि हत्या भएको पुष्टी भइसक्दा पनि प्रहरी वृ्त्तमा उक्त घटनामा एउटा रहस्यको रुपमा देखा परेको छ। एउटा सामान्य चिया पसलेको छोरालार्इ अपहरण गर्नु, ४० लाख माग्नु र फिरौतीबारे दोहोरो संवाद नगर्नु आफैमा अनौठो रुपमा देखा परेकाले घटनाको यो विषय एउटा रहस्यको रुपमा देखा परेको हो।
एसएसपी सिंह भन्छन्,’अपहरणकारीहरु सबै चिने जानेकै छन्, निशानको घरको अवस्था पनि उनीहरुले नियालेकै थिए होला। अनि ४० लाख मागेर हत्या गरिदिनु आफैमा अनौठो भएको छ।’ उनका अनुसार याे घटनाकाे रहस्यबारे प्रहरीले अझैं अनुसान्धान गरिहरेको छ।
स्पेसखबरबाट

