भारतीय जनता पार्टी (भाजपा) का एक वरिष्ठ नेताले नेपालको विदेश नीतिलाई ‘लुक साउथ’ (दक्षिण हेर) बनाउन सुझाव दिएका छन्। राजधानीमा अस्ति मंगलबार आयोजित नेपाल भारत थिङ्कट्याङ्कहरुको सम्मेलनका प्रमुख वक्ता भाजपाका महासचिव राम माधवले नेपालले लुकिङ साउथ नीति ल्याएर भारत र हिन्द महासागरबाट फाइदा लिनुपर्ने सुझाव दिए। भारतको सामरिक प्राथिमकता र चासोलाई छिमेकी देशहरुले बुझ्नुपर्ने पनि उनले बताए।
पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको कार्यक्रममा प्रमुख वक्ता रहेका महासचिव माधवले नेपालका लागि महत्वपूर्ण सुझाव भन्दै ‘लुक साउथ पोलिसी’ अपनाउन आग्रह गरेका हुन्।
‘नेपालले लुक साउथ पोलिसी वा यस्तै केही नीति ल्याउँदा राम्रो हुन्छ, लुक साउथ भनेको भारतसहित पुरै क्षेत्रमा सक्रिय हुने हो’ माधवले भने, ‘महासागरहरुले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। हिन्द महासागरपनि धेरै देशको लाइफ लाइनको रुपमा रहेको छ।’ स्मरणीय छ, भारत हिन्द महासागरसँग जोडिएको छ।
महासचिव माधवले नेपालका लागि यसले धेरै अवसर सिर्जना गर्ने भन्दै भने, ‘नेपालले भारतको कोलकोता र बगलादेशको चटगाउँबाट हिन्द महासागरमा पहुँच बनाउन सक्छ।’
एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (नेपाल) र नेहरु मेमोरिएल म्युजियम एन्ड लाइब्रेरी (भारत) द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा बोल्दै माधवले हिन्द महासागरले नेपालका लागि मात्रै नभएर चीनको तिब्बतमा समेत अवसर लिनसक्ने दावी गरे।
‘अब भूभागमा आधारित सोचलाई महासागरमा आधारित सोच बनाउनु पर्छ’ माधवले भने, ‘नेपाली नेताहरुले ‘लुक साउथ पोलिसी’ लाई बुझ्ने र यो कार्यान्वयन गर्न प्रयास गर्ने हुने ठानेको छु।’
मोदी सरकारको डिफ्याक्टो विदेश मामिला सल्लाहकार मानिने महासचिव माधवले नेपालले भारतको यो सामरिक स्वार्थ र चासोलाई बुझ्ने अपेक्षा लिएको बताए।
‘सबै छिमेकी देशहरुको सार्वभौमिकता समान हुन्छ, सार्वभौमिकताका साथसाथै ठूलो दायित्वपनि आउँछ, दुई सार्वभौम देशहरुले एक अर्काको सामरिक प्राथमिकता र चासोलाई बुझ्नु पर्छ’ माधवले भने, ‘यतिबेला हामीसँग परिपक्व नेतृत्व छ, जसले छिमेकीको प्राथमिकता र चासोलाई राम्रोसँग बुझ्छ।’

सार्वभौमसत्तासम्पन्न मुलुकले आफ्नो विकास कसरी गर्ने हो भनेर आफै निर्णय गर्न बताउँदै त्यसो गर्दा छिमेकी देशको सामरिक प्राथमिकताका के हो भनेर ध्यान भने दिनुपर्ने पनि बताए।
माधव भाजपा निकट थिङ्कट्याङ्क संगठन मानिने ‘इन्डिया फाउन्डेसन’ का निर्देशक समेत हुन्। यो संगठनले बेलाबेला नेपालका शीर्ष नेताहरुलाई नयाँदिल्ली निम्त्याएर यस्तै खालको अन्तरक्रिया गर्दै आएको पनि छ। यसबाहेक माधव राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँगपनि जोडिएका छन्। आरएसएस त्यही बृहत् संगठन हो जसले भाजपालाई अभिभावकीय नेतृत्व दिँदै आएको छ।
भारतले हिन्द महासागरलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा ठान्दै आएको परिप्रेक्ष्यमा माधवले हिन्द महासागरसम्म आफ्नो दृष्टि पुर्याएर नेपालले विदेश नीति निर्माणको सुझाव दिएका छन्। भारतले पछिल्लो समय चीनबाट दक्षिण एशियाका छिमेकी देशहरु तथा हिन्द महासगारमा क्षेत्रमा रहेका प्रभावमाथि चुनौति सामना गर्नु परेको छ। चीन-भारतबीच हिन्द महासागरमा आफ्नो प्रभाव कायम राख्न तीब्र प्रतिस्पर्धा छ। र, चीनले हिन्द तथा प्रशान्त महासागर क्षेत्रमा बढाउन थालेको प्रभाव रोक्न भारतले अमेरिका, जापान, दक्षिण कोरिया र अस्ट्रेलियासहितका देशहरुसँग सहकार्य गर्दै आएको छ।
यसै साता दक्षिण अफ्रिकामा आयोजना भएको उदाउँदा शक्ति राष्ट्रहरुको संस्था ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागी हुन जाँदा भारत र चीनका नेताहरुले हिन्द महासागारका देशहरुको भ्रमणलाई गरेको कुरा यहाँनिर स्मरणीय छ।
भारत र चीनले हिन्द तथा प्रशान्त महासागर क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन के गर्दैछन् भन्ने कुरा बुझ्न मौरिसस, सिसेली, ओमान, श्रीलङ्का, म्यानमारलाई हेर्दा हुन्छ। जस्तो कि, भारतले द्वीप राष्ट्र मौरिसस र सिसेलीमा नौसैनिक क्याम्प राख्न खोज्दैछ भने खाडी राष्ट्र ओमानमा नौसैनिक अखडा बनाउन लागि सम्झौता गरिसकेको छ।
चीनपनि के कम, जसले सामारिक दृष्टिले अति महत्वपूर्ण मानिने देश डिजिवाउटीमा नौसैनिक क्याम्प स्थापना गरिसकेको छ। यसैगरी श्रीलंकाको हम्बानटोटा, श्रीलंकाका गदवार र म्यानमारको क्युउक्ययुमा बन्दरगाह निर्माण निर्माण गर्दैछ।
यसबाहेक चीन र भारत दुबै हिन्द महासागरमा अवस्थित माल्दिभ्समा आफ्नो प्रभावलाई कायम राख्न प्रयासरत छन्।
नेपालका दुई छिमेकी चीन र भारतबीच समुद्रमा प्रभाव र पहुँच बढाउने प्रतिस्पर्धा बढिरहेका बेला भाजपामा विदेश मामिलाका जानकार मानिने बरिष्ठ नेता माधवले नेपालले पनि महासागर केन्द्रित विदेश नीति अख्तियार गर्न सुझाव दिएका हुन्। माधवले राजनीतिक स्थायीत्व प्राप्त गरेको भन्दै नेपालको विकासमा सघाउने बचन पनि दिएका थिए।
नेपालखबरबाट

