‘मिहिनेत र लगनका साथ विदेशमा चिकित्सा क्षेत्रमा अध्ययनरत जेन्युनली विद्यार्थीहरुलाई चोट लागेमा क्षमा चाहन्छु’
नेपाली कांग्रेसका सांसद गगन थापा आज प्रतिनिधि सभामा सभासद छन्भने हिजोका दिनमा उनले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । आफू स्वास्थ्य मंत्री हुँदा स्वास्थ्य क्षेत्रका समस्याहरुको समाधान गर्न यिनले के कस्ता कामहरु गरे त ? पद ओगटेर तलब र भत्तामात्रै पचाए कि कि कुनै परिणाममुखी काम पनि गरे । पछिल्लो समयमा नेपाली बिद्यार्थीहरु बंगलादेशमा पढ्न गएको कुरालाई लिएर जिम्मेवार मानिसहरु बाटै एकपछि अर्को खरो र आपत्तिजनक टिप्पणी सार्बजनिक भैरहेका छन् । आफ्नो अभिव्यक्तिलाई सन्तुलित बनाउन नसक्दा मंत्री शेरबहादुर तामांगले आफ्नो मंत्री पदलाई नै टाटा बाईबाई भन्नु पर्यो भने दूर्गा प्रसाईमाथि भने राज्यले कुनै कारवाही अगाडी बढाउछ कि बढाउदैन, त्यो भने हेर्न बाँकी नै छ ।
बंगलादेशमा पढ्न जाने विद्यार्थीहरुका बारेमा खरो टिप्पणी गर्नेमा पूर्ब स्वास्थ्य मंत्री एवम् वर्तमान सांसद गगकुमार थापा पनि पर्छन । उनले बोलेको कुरालाई लिएर सामाजिक संजालमा निकै तिखो टिका टिप्पणी भएका छन्, प्रतिक्रिया आएका छन्। आज १५ साउन फेसबुकमा लाइभ आएर थापाले तिनै विषयवस्तुलाई सम्बोधनगर्दै भन्छन-डा. गोविन्द केसीको अनसनको सन्दर्भमा भएको आमसभालाई सम्बोधन गर्ने क्रमममा नेपालमा मेडिकल कलेज कम भएर वा गोविन्द केसीको आन्दोलनका कारणले नेपाली विद्यार्थी हरु नेपाल बाहिर पढ्न गैरहेका छन् भन्ने कुराको मैले खण्डन गरेको थिए । चिन्,बंगलादेश, फिलिपिन्सजस्ता देशमा पढ्न जाने विद्यार्थीहरु त्यहाँका कलेजहरुमा पढ्दा प्रमाणपत्र प्राप्त गर्न सजिलो हुन्छन भनेर गएका हुन् भन्ने मैले मेरो धारणा राखेका थिएँ । मैले यी कुराहरु ब्यक्त गर्दा जुन अन्तरबार्ता, समाचारहरुलाई आधार बनाएको थिएँ त्यसमाथि आएको प्रतिक्रियाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
डा. रन्जितले मलाई इमेल पठाएर लेख्नु भयो, २०७१ मा मैले बंगलादेशबाट चिकित्सा शास्त्रमा स्नातक गरें,मलाई थाहा छ मैले कति दु:ख गरेर मेरो पढाई सक्याएको हुँ र अहिले चिकित्सकको रुपमा कार्यरत छु, तपाइको स्पीचले मजस्तो राम्रोसंग आफ्नो अध्ययन सिध्याएको विद्यार्थीलाई पनि चोट पुर्याएको छ । ,हाम्रो प्रतिष्ठामा आंच पुर्याएको छ ।
लाइभ कार्यक्रममा बोल्दै यस्तो संबेदनशील विषयलाई सामान्यीकरण गरिदिनाले दु:ख गरेर पढेको विद्यार्थीहरुलाई मर्का पर्छ भनेर सामाजिक संजाल मार्फत प्रतिक्रिया आएको कुरा ब्यक्त गर्दै थापाले -नेपलिज स्टुडेन्टस् एसोसियसन अफ बंगालदेशको बक्तब्य पढेको र विभिन्न पत्र पत्रैकिका जस्तै नागरिक दैनिक, स्वास्थ्य पत्रिका, मेडिकल काउन्सिलको आधिकारिक रिपोर्ट हेरेको र तिनैको आधारमा आफूले धारणा राखेको कुरा बताईरहे ।
मिहिनेत अनि लगनशीलताका साथ विदेशमा चिकित्सा क्षेत्रमा जेन्युनली अध्ययनरत विद्यार्थीहरुलाई चोट लागेको भए क्षमा चाहन्छु- भन्दै कसैलाई चोट पुर्याउने र कसैको चरित्र हत्या गर्ने आफ्नो मनसाय नभएको कुरा थापाले बताए. उनी भन्छन- राजनीतिक क्षेत्रमा सबैभन्दा बढी चरित्र हत्या गरिएको व्यक्ति हुँ म । त्यसैले कसैको चरित्र हत्या गर्ने मेरो मनसाय हैन ।
नागरिक दैनिकको असर २६ गतेको हवाला दिंदै उनी भन्छन- चिन तथा फिलिपिन्सबाट चिकित्सा शास्त्र पढेर आएका विद्यार्थी मेडिकल काउन्सिलको परिक्षामा दर्जनौ पटक फेल भएका छन् । मेडिकल काउन्सिलका अनुसार विद्यार्थी चिन नै नगई चीनबाट प्रमाणपत्र ल्याएर मेडिकल काउन्सिलको परीक्षामा सामेल भएका छन् । तर विदेशबाट पढेर आएका सबै डाक्टर नराम्रा छैनन् । मेरै परिवारमा पनि बंगलादेश र चिनबाट पढेर आएका डाक्टरहरु छन् ।
बंगलादेश्का लागि नेपालका राजदूत चोपलाल भुषालको हवाला दिंदै थापा भन्छन- यहाँका कतिपय कलेजको शैक्षिक स्तर अत्यन्त न्यून छ. नेपाली विद्यार्थीहरुलाई दलालले झुक्याएर पुर्याएको हुन् । अर्को कुरा यस्तो कलेजमा कम्जोर नेपाली विद्यार्थी नै आउछन, किनकी आमाबुवालाई आफ्नो सन्तानलाई डाक्टर नै बनाउने इच्छाले गर्दा ।
बगलादेशले समेत कालो सूचीमा राखेको ३६ वटा मेडिकल कलेजमा ७०० भन्दा बढी नेपाली विद्यार्थी पढिरहेका छन्. अब यहाँ पढेर आएका विद्यार्थीलाई नेपालको मेडिकल काउन्सिल को परिक्षामा बस्न दिने कि नदिने भन्ने गम्भीर प्रश्न छ भनेर थापा भन्छन । नेपलिज स्टुडेन्ट एसोसियसन अफ बंगलादेशका अध्यक्ष यादव भन्छन- अंग्रेजी माध्यममा पढाइ हुन्छ भनेको त् यहाँ ९० प्रतिसत त बंगला भाषामा पो पढाइ हुँदो रहेछ, टिचरलाई नै कतिपय अंग्रेजी शब्दको अर्थ नै थाहा नहुँदो रहेछ । उनीहरुले नेपाली विद्यार्थीको मतलब नै गर्दैनन् ।
थापाको विचारमा अधिकांश नेपाली विद्यार्थीहरुले पास हुने ग्यारन्टी भएको मेडिकल कलेज रोज्छन. तर अब आउने चिकित्सा विधयेक पारित भए पछी निश्चय नै केही मेडिकल खुल्नेछन र भएकाहरुलाई निश्चित नियममा बाँधेर राम्रो अनुगमन हुनेछन भन्ने आशा गरौं ।
नेपालबाट बाहिर डाक्टर पढ्नजाने बिद्यार्थीको बारेमा गगनले फेसबुक मार्फत राखेका तथ्य र उनको तर्कहरु यस्तो छ
गत असार ३० गते सोलिडारिटी फर डा. गोविन्द केसी एलाइन्सले बानेश्वरमा आयोजना गरेको सभामा चिकित्सा शिक्षाको लागि नेपाल बाहिर पढ्न जाने विद्यार्थीहरूका सन्दर्भमा मैले बोलेको विषयको सानो अंशमा केहि साथीको प्रतिक्रियाहरू प्रति मेरो ध्यानाकर्षण भएको छ । मैले उठाएका विषयसंग सम्बन्धित रहेका केहि तथ्यहरू प्रष्ट पार्न चाहन्छु।
१. नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार चिकित्सा शास्त्र अध्ययनको लागि नेपाली विद्यार्थी नेपाल बाहिर विभिन्न देशमा जानेको संख्या सन २०१४ मा १३७८ जना, सन २०१५ मा १४६१ जना रहेको देखिन्छ भने सन २०१६ मा त्यो संख्या घटेर ४७८ र सन २०१७ मा ४९५ रहेको छ । जुन सन २०१८ मा अझै घट्ने क्रममा छ । यसरी संख्या हात्तै घट्नुको मुख्य कारण हो सन् २०१६ देखि नेपाल मेडिकल काउन्सिलले शुरु गरेको विदेश जानुपुर्व नेपालको प्रवेश परिक्षा पास गरेपछि मात्रै इलिजिविलिटी सर्टिफिकेट दिने व्यवस्था । हेर्नुहोस: नेपालमा फेल भएका ९५ प्रतिशत विद्यार्थी डाक्टरी पढ्न विदेश जाने क्रमको अन्त्य http://nepallive.com/story/27850 ।
२. नेपाल मेडिकल काउन्सिलकै तथ्याङ्क हेर्ने हो भने चिकित्सक अनुमतिपत्र परिक्षामा हरेक पटक ६५-७० प्रतिशत अनुत्तिण हुने गर्दछन र ती मध्ये बहुसंख्यक नेपाल बाहिर पढेकाहरु छन । नेपालमा पढेका झण्डै ८० प्रतिशत उत्तिर्ण हुँदै गर्दा नेपाल बाहिर पढेका झण्डै ८० प्रतिशत नै अनुत्तिर्ण हुने गरेको मेडिकल काउन्सिलका पदाधिकारी बताउछन । कतिपय दर्जनौं पटकसम्म अनुत्तिण भएको देखिन्छ । उदाहरणका लागि गत मंसिरमा काउन्सिलले लिएको परिक्षामा त्यतिवेला ५२६ जना वाहिर पढेका परिक्षार्थी मध्ये ४६३ जना उत्तिण हुन सकेनन । विडिएस तर्फ ४१ मा ३७ जना अनुत्तिण भए जसमा बंगलादेश पढेका १४४ मध्ये १२५ अनुत्तिण भए,चिन पढेका २९२ मा २७१ अनुत्तिण भए । नेपाल बाहिर पढन जाने कलेजको गुणस्तरको सन्दर्भमा यो एउटा भयाबह तस्विर हो । (हेर्नुहोस तल तथ्यांक)
३. किन बाहिरका कलेज पास भएर आएका विद्यार्थीहरू लाइसेन्स परिक्षामा अनुत्तरिण हुन्छन त? जवकी नेपालको लाइसेन्सिङ परिक्षा आधारभुत ज्ञानसंग मात्र सम्बन्धित छ र तुलनात्मक रुपमा सजिलो मानिन्छ । यसको मुख्य कारण सन २०१६ पूर्व नेपाल बाहिर जानुपूर्व कुनै परिक्षा दिनु नपर्ने र नेपालको प्रवेश फेल भएका / कतिपय नेपालको शुल्क महङ्गो भएर,विद्यार्थीहरू बाहिर जाने कारणले यस्तो अवस्था आएको हो । लाइसेन्सिङ परीक्षामा ६५-७० प्रतिशत विद्यार्थी फेल हुन थालेपछि नै कमजोर विद्यार्थीलाई रोक्ने तर्फ सन २०१६ देखि प्रवेश परिक्षाको शुरुवात गरेको हो । सन २०१६ मा शुरु भएको प्रवेश परिक्षाको प्रावधानले अव सन २०२२ मा हुने अनुमतिपत्रको परिक्षामा यस्तो तस्विर आउने छैन भन्ने आंकलन गर्न सकिन्छ । (हेर्नुहोस नेपाल मेडिकल काउन्सिलका अध्यक्षसंगको कुराकानी: अझै पाँच बर्ष गुणस्तरहीन डा. भित्रिने खतरा http://www.swasthyakhabar.com/story/14484 )।
४. बिदेशको कलेजमा पढेर पास भएर आएका र पटक पटक गरेर भए पनि नेपालको अनुमतिपत्र पनि लिन सफल भएका थुप्रै चिकित्सकहरू चिकित्सकीय अभ्यास गर्न सकिरहेका छैनन । उदाहरणको लागि सन २०१६ मा स्वास्थ्य मन्त्रालयले १६२ जना करारको लागि आवेदन माग्दै गर्दा धेरै चिकित्सकहरू सामान्य अन्तरवार्ता समेत पास गर्न सकेनन । जवकी सरकारलाई त अझै धेरै चिकित्सक आवश्यक थियो । किन त्यस्तो भयो त ? यसको मुख्य गुणस्तरसंग जोडिएको छ ।
५. नेपालमा मेडिकल कलेज कम भएको र सिट संख्या कम भएकोले मात्रै विद्यार्थी बाहिर पढ्न गएका हुन भन्ने भ्रम पार्न खोजेको छ । तथ्यले त्यस्तो देखाँउदैन । गत बर्ष जानकी मेडिकल कलेज र नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज लगायतमा सिट खाली भएका छन । थुप्रै कलेजले तोकिएको समयमा सवै सिटमा बिद्यार्थी पुरा गर्न सकेनन,। (हेर्नुहोस तथ्याङ्क: मेडिकल कलेजलाई विद्यार्थीले पत्याएनन; https://setopati.com/from-paper/123679)
यो कुरा स्वयं आईओएमका डिनले स्वीकार गर्नुहुन्छ ।-‘चिकित्साशास्त्र अध्यायन संस्थानका डिन डा.जगदिश अग्रवालका अनुसार अहिले नेपालमा पढ्ने अवसर नभएर विद्यार्थी बाहिर गइरहेका हुने भन्ने तर्क आफैमा गलत छ। ‘आइओएम अन्तर्गतकै केही कलेजहरुमा तोकेका सिट थुपै अझै खाली छन्,’ उनले भने, ‘खै त नेपालमा अवसर नपाएको भए किन त्यहाँ गइरहेका छैनन् त?’ अहिले नेपालमा कतिपय गुणस्तर कम्जोर भएका कलेजमा मेरिटमा परेका विद्यार्थी पनि पढ्न गइरेका छैनन्। ‘शुल्क सुलभ बनाउँने हो भने बल्ल म्यारिटकै र नेपाली विद्यार्थीले कलेज भरिन्छ, अनि गुणस्तर पनि बढ्छ,’ डा.अग्रवाल भन्छन् । (हेर्नुहोस् :यसकारण जायज छन डा. केसीका माग https://nagariknews.nagariknetwork.com/news/51650/)
६. त्यसो भए नेपाली विद्यार्थी MBBS पढ्न बाहिर किन जान्छन त? माथिको तथ्यले नै प्रष्ट पार्छ-केहि विद्यार्थी छात्रवृत्ति पाएर गएका छन, केहि नेपालमा भन्दा राम्रो गुणस्तरको कलेज पाएर गएका छन, केहि नेपालका कम गुणस्तर कलेजमा भन्दा समयमै सर्टिफिकेट पाउन सकिने अवस्थाले गएका छन, केहि नेपालमा अधिकांश कलेजले एकमुष्ट रुपमा धेरै पैसा लिने र तोकेको भन्दा अत्यधिक धेरै लिने हुँदा नेपाल बाहिरको कलेजले लिने शुल्क पनि थोरै र किस्तामा बुझाउन पाइने भएकोले आर्थिक समस्याका कारण गएका छन, कतिपय नेपालमा पटक पटक उत्तिण हुन नसकेपछी डा.बन्नैपर्ने महत्वाकांक्षा र दवावका कारण गएका छन भने केहि विद्यार्थी नेपालमा भन्दा सजिलोसंग परिक्षा उत्तिण हुन सकिन्छ भन्ने लागेर गएको गएका छन । जसलाई स्वयं मेडिकल काउन्सिलका रजिष्टारले समेत स्वीकारेका छन।
( हेर्नुहोस नागरिक दैनिक २६ असार: विदेश पढ्न जानेमध्ये अधिकांश विद्यार्थी नेपालका कुनै पनि प्रवेश परीक्षा पास नगरेका (५० प्रतिशत अंक पनि नल्याएका) र जसरी पनि डाक्टर बन्ने चाहानेहरु थिए भन्ने पुष्टि हुन्छ।‘अहिले पनि धेरै छात्रवृतिमा जान्छन्, नीजि खर्चमा जानेहरु पनि सस्तो शिक्षण शुल्क, कम्जोर शैक्षिक स्तर भएका कलेजमा गइरहेका छन्,। त्यहि नागरिक दैनिकमा समाचार छ-यतिसम्म चीन, फिलिपिन्स, वंगलादेश जाने विद्यार्थी पढेर भन्दा पनि प्रमाणपत्र दिने कलेजमा जाने गरेका छन्। यी देशहरुमा नेपालीजस्तै देशका विद्यार्थीलाई लक्षित कलेजहरु खुलेका हुन्छन्। जहाँ नपढी पनि पाससम्मको ग्यारेन्टी हुन्छ। ‘त्यस्ता विद्यार्थी काउन्सिलको प्रवेश परीक्षामा दर्जनौपटक फेल हुने गरेका छन्,’ काउन्सिल एक सदस्यदले भने । यसको तथ्य केही वर्षअघि चीनबाट विशेषज्ञ पास गरेर आएको भन्दै प्रमाणपत्र लिएर काउन्सिलमा दर्ता हुन आएका एक चिकित्सकको पासपोर्ट मागेर हेर्दा उनी चीन नगईकनै प्रमाणपत्र लिएर आएको पुष्टि भएको थियो । (हेर्नुहोस नागरिक दैनिक २६ असार ’https://nagariknews.nagariknetwork.com/news/51650/ ) ।
७. सन २०१६ भन्दा अगाडि बिदेश जाने विद्यार्थी मध्ये झण्डै एक तिहाई नेपालमा फेल भएका विद्यार्थी थिए र ति मध्ये झण्डै ७०० विद्यार्थी बंगलादेशका त्यस्ता मेडिकल कलेजमा अध्ययनरत छन जसलाई बंगलादेशले कालो सुचिमा राखेको छ । सन २०१६ पछि नेपाल मेडिकल काउन्सिलले पनि कालो सुचिमा राखेको छ । सन २०१६ पछि मात्रै त्यसरी जाने क्रम रोकिएको छ । यस सन्दर्भमा बंगलादेशका काउन्सिल रजिष्टारको भनाइलाई कोट गर्दै हालै प्रकाशित एक स्थलगत रिपोर्टमा उल्लेख छ- बंगलादेशका अधिकांश निजी मेडिकल तथा डेन्टल कलेज चिकित्सा शिक्षा अध्ययनका लागि योग्य छैनन् । विशुद्ध व्यापारका लागि खोलिएका यस्ता कलेजमा डाक्टरी शिक्षा अध्ययन गर्न आउनु भनेको फस्नु मात्रै हो।’(हेर्नुहोस: बंगलादेशमा नेपाली बिद्यार्थी पढ्ने ८० प्रतिसत कलेज गुणस्तरहिन http://nepallive.com/story/27663)
माथिको तथ्यहरूले एउटा भयाबह चित्रको संकेत गर्छ । बंगलादेशका मेडिकल काउन्सिलका रजिष्ट्रार भन्छन-बंगलादेशका अधिकांश निजि मेडिकल कलेजहरू अध्ययनका लागि योग्य छैनन । नेपालको मेडिकल काउन्सिलका पदाधिकारी भन्छन- बहुसंख्यक नेपाली विद्यार्थी तिनै कलेजमा अध्ययनरत छन ।, ति कलेजमा नेपाली विद्यार्थी केवल सर्टिफिकेटमका लागि मात्र जाने हुन । काउन्सिलको लाइसेन्स परिक्षाले देखाउँछ विदेशमा पढेका ८० प्रतिसत भन्दा वढि विद्यार्थी फेल हुन्छन । अनि अर्को तथ्याङकले देखाउँछ नेपालवाट बाहिर पढ्न जानुपूर्व प्रवेश परिक्षा शुरु नहुँदा १४६१ जाने गरेकोमा परिक्षा शुरु भएपछि त्यो संख्या घटेर ४७८ हुन्छ । नेपालको मेडिकल काउन्सिल परिक्षा चाहि फेल हुने तर बिदेशमा पढेको कलेजको परिक्षा सजिलै पास हुने? हो यीनै तथ्यका आधारमा मैले आफ्नो धारणा राखेको हुँ- ‘झण्डै ९० प्रतिसत विद्यार्थी केवल प्रमाणपत्रका लागि जान्छन ।’
मेरो धारणाको आशय पहिला पहिला छात्रवृत्तिमा होस वा लगानी गरेर होस, विभिन्न देशमा गएर मेहनतका साथ गुणस्तरिय शिक्षा लिएर अहिले नेपालमा नै सेवा गरिरहेका हरूप्रति लक्षित होइन, अनि अहिले छात्रवृत्तिमा गएका, आफ्नो छनोटले गुणस्तरीय कलेजमा मेहनत साथ पढिरहेका प्रति पनि लक्षित होइन । पछिल्ला वर्षहरूमा(सन २०१६ अगाडि) नेपालमा प्रवेश परिक्षामा फेल भएका अधिकांश विद्यार्थी नेपाल वाहिर पढ्न जाने बढ्दो प्रवृत्ति र विदेशमा पनि नेपाल लगायतलाई नै लक्षित गरेर खोलेका कलेजहरूले गर्दा बहुसंख्यक विदेश गएका विद्यार्थीहरू केवल सर्टिफिकेटको लागि मात्रै गएका छन भन्ने मेरो आशय हो । मेरो धारणासंगै थुप्रै साथीहरूले त्यसरी प्रतिशतमा सामान्यीकरण नगरिदिएको भए हुन्थ्यो भनेर भन्नुभएको छ, साथीहरूको त्यो धारणाप्रति म सहमत छु । मेरो आशयलाई बुझिदिनुहुनेछ भन्ने पनि विश्वास लिएको छु ।
यद्यपी म यो पुन: प्रष्ट पार्न चाहन्छु-अहिले पनि बर्षको २०-३० जना विद्यार्थी छात्रवृत्तिमा पढ्न गएका छन । थुप्रै विद्यार्थी आफ्नो छनोटमा बाहिर गएका छन, मेहनेत गरेर पढिरहेका छन । त्यसमध्ये केहि विद्यार्थीहरू पढाइ सकेर नेपालमा आएर राम्रो सेवा दिइरहेका छन । जो माथी मैले उल्लेख गरेको श्रेणीमा पर्दैनन । मेरो भनाई ति लगनशील विद्यार्थीका निम्ति हुँदै होइन । तर पनि मेरो भनाइका कारणले कसैलाई चोट पुगेको भए दु:खी छु ।
अब नेपाल भित्रको विषय,
माथिको तथ्यगत विष्लेषणको अर्थ नेपालको कलेजमा गुणस्तर एकदम ठिक छ भन्ने हुँदै होइन, यहाको पनि केहि कलेज बाहेकको गुणस्तरमा प्रश्न नै छ । यसको पुष्टिका लागि काउन्सिले गत मंसिरमा लिएको लाइसेन्स परिक्षामा कहाँका कति उत्तिण भए भन्ने सानो उदाहरण हेरे पुग्छ । जसमा अधिकांश निजि कलेजको पास प्रतिसत २५ भन्दा कम छ । हेर्नुहोस: सरकारी नै अब्बल http://www.nayapatrikadaily.com/2018/07/24/74882/ यसले बताउँछ- चिकित्सा शिक्षामा गुणस्तर महत्वपूर्ण रहेछ । त्यसकारण पनि प्रष्ट हुन्छ-डा. गोविन्द केसीको माग कति जायज छन भन्ने कुरा ।
जसरी पनि डा. पढ्ने भन्ने मानसिकता, परिवार र समाजको पनि त्यस्तै दवावले गर्दा आज कतिपय विद्यार्थीहरू जसोतसो ऋण धन गरेर, घरखेत बेचेर पढ्न जाने प्रवृत्ति र आफु कहां कस्तो गुणस्तरको कलेजमा पढ्दैछु भन्ने पनि हेक्का नगर्दा धेरै विद्यार्थी कलेज पास भएर पनि नेपालमा लाइसेन्स परिक्षा पास हुन सकेका छैनन । यस्तो परिपाटीको अन्त्य हुनुपर्छ ।चिकित्सा शिक्षामा इच्छा गर्ने सवैले पढ्न पाउनुपर्छ भन्ने हुँदै होइन । सवैले पढ्ने पनि होइन । पैसा छ तर योग्यता छैन भने पनि पढ्नु हुँदैन । योग्यता छ तर पैसा नभएर पढ्न नपाउने अवस्थाको भने अन्त्य हुनैपर्छ । चिकित्सा शिक्षा पढ्ने चाहना छ र योग्यता छ भने त्यस्तो विद्यार्थीलाई नेपाल भित्रै पढ्ने वातावरण कसरी बनाउने, यो समुह भित्र पर्ने तर आर्थिक क्षमता नभएकोले पनि पढ्न पाउने कसरी सुनिश्चित गर्ने भन्ने नै आजको सवाल हो । तर यतिले मात्र पुग्दैन, प्रत्येक मेडिकल कलेजमा उम्दा स्तरको पठनपाठन हने सुनिश्चित गर्नैपर्छ ।
MBBS को लागि प्रवेश परिक्षाको Cut off Point अहिले ५० प्रतिसत छ त्यसलाई ६० प्रतिसन राख्नुपर्छ भन्ने पक्षमा म छु । यस्तो भयो भने छात्रवृत्ति बाहेक वाहिर पढ्न जाने मान्छे नै अत्यन्त न्युन हुन्छ । नेपाल मेडिकल काउन्सिलको परिक्षाको पुरै प्रारुप परिवर्तन गर्नुपर्छ भनेर मेरो कार्यकालमा नै काम अगाडि वढिसकेको थियो । प्रयोगात्मक अभ्यासलाई एकदमै धेरै भार दिनुपर्छ भन्ने मान्यता मेरो हो । जसले गर्दा क्षमता भएकोले पढ्न र योग्यता अनि सीप हांसिल गरेकोले मात्र चिकित्सकको लाइसेन्स हासिल गर्न सकुन ।
अन्त्यमा फेरि पनि प्रष्ट गर्न चाहान्छु-चिकित्सा शिक्षाको क्षेत्रमा समस्याहरू छन, सवैजना यहाँ नभएर वा नपाएर गएका होइनन । मुख्य सवाल यहाँको पनि गुणस्तरको हो र वाहिरको पनि गुणस्तरको हो । यहाँ कलेज थप्नुपर्छ तर गुणस्तर सुनिश्चित गरेर मात्रै थपौं भन्ने मेरो धारणा हो ।
बाहिर गएका केहि विद्यार्थीहरू राम्रो कलेजमा पढिरहनु भएको छ, मलाई कतिपय साथीहरूले लेख्नुभएको छ- ‘हामी मेहनत गरेर पढिरहेका छौं, अब्बलता प्रदर्शन पनि गरेका छौं तर सवैलाई एउटै डालोमा हालेर बिष्लेषण हुँदा हामीलाई चोट पुगेको छ।’ म ति साथीहरूलाई भन्न चाहन्छु-मेरो भनाइको आशय तपाईहरू जस्तो मेहनत गरेका विद्यार्थीहरूलाई हुँदै होइन,दु:ख नमान्नुहोला । यो क्षेत्रको बेथितिको अन्त्य गर्न र गुणस्तरीयता कायम गर्न म तपाईहरूसंगै अभियानमा छु ।’
हेर्नुस लाइभ भिडियो

