गत साता चलचित्र ‘कथा काठमाडौ’को गीत ‘रातको कथा…’ सार्वजनिक भयो । गीतको अन्तिम केही समयको सिनलाई लिएर कतिले ‘नेपालमा पनि यस्तो ?’ भन्दै आलोचना गरे । यौनका विषयमा खुलेर कुरा नगर्ने हाम्रो समाजमा खासगरी महिला पात्रलाई यसको तारो बनाइन्छ । यही गीतमा पनि प्रियंका कार्कीको आलोचना भयो, प्रमोद अग्रहरीलाई कसैको टिप्पणीले छुसुक्क पनि छोएन । ‘कथा काठमाडौ’लाई भीजे संगीता श्रेष्ठले निर्देशन गरिरहेकी छन् । उनले यो म्युजिक भिडियो नभएर चलचित्रको गीत भएको र अहिले भनिएको ‘बोल्ड सिन’को औचित्य ट्रेलर र चलचित्रले पुष्टि गर्ने बताइन् । डेब्यु निर्देशक संगीतासँग यिनै विषयको सेरोफेरोमा रहेर नरेश फुयाँलले गरेको कुराकानीः

तपाईंले यौन बिक्छ भनेर शुरूमै ‘बोल्ड सिन’ समावेश भएको गीत सार्वजनिक गर्नुभए जस्तो देखिन्छ । गीत हेर्दा यो फिल्म शहरी यौनजीवनमा आधारित जस्तो लाग्छ । वा त्यो नहुन पनि सक्छ । टिजर वा ट्रेलर सार्वजनिक नगरी ‘बोल्ड सिन’सहितको गीत राख्नुको उद्देश्य के हो ? बजारको माग ?
हामीले शुरुदेखि योजना बनाउँदा पहिला यो गीत नै बजारमा ल्याउने भनेका थियौं । त्यही तयारीअनुसार यो गीत आएको हो । पब्लिसिटी र यो किसिमको हल्ला हुन्छ भनेर होइन । चर्चाका लागि त हुँदै होइन ।
तपाईंले कतै भनिसक्नुभएको छ कि फिल्ममा योभन्दा पनि अझै ‘बोल्ड सिन’ छन् । नग्नता बर्जित जस्तै भएको समाजमा यस्ता दृश्य सजिलै पच्न सक्लान् जस्तो लाग्छ ?
मैले योभित्र अरु बोल्ड सिन छन् चाहिँ भनेकी छैन । मैले ‘यस्ता केही सिनहरू छन्, जसले तपाईंहरूलाई शक गर्नेछ’ भनेर चाहिँ भनेकी हुँ । त्यो भन्नुको कारण छ । चलचित्रभित्र जुन भूमिका प्रियंका कार्कीले खेलेकी छन्, त्यो भूमिकालाई जसरी अहिले हेरिरहनुभएको छ, चलचित्र हेरेपछि त्यो सिनप्रतिको तपाईंहरूको दृष्टिकोण नै परिवर्तन हुन्छ ।
एउटा फिल्ममेकरलाई प्रदर्शनअगावै नै गीत वा कुनै अंशका आधारमा यसरी आलोचना गरिनु कत्तिको न्यायोचित हो ? कि यो तपाईंहरूको पब्लिसिटी स्टन्ट हो ?
मलाई आलोचना भइरहेको छ जस्तो लाग्दैन । जसले प्रियंका कार्कीप्रति टिप्पणी गर्नुभएको छ, यसो नगरेको भए पनि हुन्थ्यो भन्नुभएको छ, उहाँहरूले प्रियंकालाई गर्नुभएको माया हो भन्छु म । प्रियंकाले केही गलत पो गरेकी हुन् कि भनेर शंका गरिरहनुभएको छ, त्यो दर्शकको माया नै हो । भर्खर भिडियोमात्रै आएको छ, यसमा छ चाँहि के भन्ने कुतूहल छ दर्शकमा । अर्को कुरा— चलचित्र पनि कुर्नु पर्दैन । जब ट्रेलर आउँछ, सबै कुरा आफैं स्पष्ट हुन्छ ।
खासगरी पुरुष कलाकारले जस्तासुकै सिन दिँदा पनि हाम्रो समाजले प्रश्न उठाउँदैन, मौन रहन्छ । जबकि कुनै स्त्रीले त्यस्तै दृश्य दिँदा खेपिनसक्नु आलोचना हुन्छ । जस्तोः भर्खरै नेटफ्लिक्समा सार्वजनिक भएको ‘स्याक्रेड गेम्स’मा त्यस्ता धेरै सिन छन् । नवाजुद्दिन सिद्दिकीलाई कसैले औंला उठाएन । तर, उनीसँग नांगिएकी राजश्री देशपाण्डेलाई सबैले गाली गरे । नेपालमा पनि यस्तै हुँदै आएको छ । समाजको यो आडम्बरलाई कसरी लिनुहुन्छ ?
शुरुदेखि नै पुरुषको कथा पहिला आउने भएर पनि होला । महिलाको कुरा पछि आउन थालेको पहिलेबाटै हो । यसरी एकैपटक अगाडि आउँदा ‘ए यस्तो पनि हुन्छ र ?’ भन्ने पनि भएको होला । तर, यस्तो कुरा बिस्तारै परिवर्तन हुँदै जान्छ ।
कला वा अभिनयको मापन लिंगले गर्छ वा कथाले ?
पक्कै पनि कथाले ।
फिल्म मेकिङका सीमाहरू के–के हुन् ? सीमा निर्धारण गर्ने निकाय सेन्सर बोर्ड नै हो कि फिल्म मेकरको स्वविवेक ? फिल्म मेकिङमा कुन तहसम्मको स्वतन्त्रता हुनुपर्छ ?
तपाईं–हामी पत्रकार पनि हौं । जसलाई हामी आज यो गीतको सिन बोल्ड भनिरहेका छौं, यसको इनसाइड स्टोरी के हो— नखोजी तपार्ईंले यो कुरा गर्न पाउनुहुन्न भनेर भनियो भने तपाईं अन्यायमा पर्नुभयो । चलचित्र मेकरका हिसाबले कुनै पनि विषयमा चलचित्र बनाएर दर्शकमाझ पुर्याउन मन लाग्यो भने त्यसमा मैले काम गर्न पाउनुपर्छ ।
मैले काम गर्ने क्रममा न्याय गर्न सकें/सकिनँ, त्यो आफ्नो ठाउँमा छ तर त्यसमा काम गर्न गर्न पाउँदिनँ भन्ने हुँदैन । हरेकका आ–आफ्नै कथा हुन्छन् । त्यसमा मैले तीन जनाको कथा चलचित्रमार्फत भन्न खोजेकी छु ।
भर्खरै नेटफ्लिक्समा दुइटा भारतीय कथा सार्वजनिक भए– ‘लस्ट स्टोरिज’ र ‘स्याक्रेड गेम्स’ । यी दुवै उत्पादन त्यस्तो समाजमा आए, जुन अहिले पनि पुरातनवादी सोचबाट जकडिएको छ । यस्ता कथा सार्वजनिक गर्न नेटफ्लिक्स जस्तो विदेशी माध्यम नै अगाडि आउनुपर्यो । नेपालमा पनि यस्ता कथा पर्याप्त होलान् । हलमा प्रदर्शन गर्दा अनेक खाले (सेन्सरदेखि आडम्बरी दर्शकसम्म) झमेला आइपर्ने जगजाहेर छ । ‘गाँजा बाजा’ फिल्मको नाममा समेत बखेडा झिक्ने सेन्सरबाट प्रताडित हाम्रो समाजमा नेटफ्लिक्स जस्ता प्लेटफर्म आवश्यक देखिएका हुन् ?
धेरै टाढा जानै पर्दैन । दर्शकको कुरा त पछि आउने पक्ष भयो । हामी सञ्चारकर्मीकै कुरा गर्दा जुन दिन हामीले यो भिडियो हलमा देखाइरहेका थियौं, त्यो भिडियोमा शुरुदेखि नै प्रियंका उदास देखिन्छिन् । कथा अगाडि बढ्दै जाँदा त्यहाँ उनलाई पुरुष पात्रले जबर्जस्ती गर्दै जान्छ । त्यो बलजफ्तीका कारण उनीहरुबीच केही समयको सिन शुरु हुन्छ । अघि प्रियंकाको उदास अनुहार देख्ने पत्रकारहरूले बलजफ्तीपछिको सिन आउँदा बिर्सिनुभयो । हामी पूरै त्यही अन्तिमको सिनमा मात्रै केन्द्रित भयौं । पूरै भिडियोको कथा हामीले बुझ्ने प्रयासै गरेनौं ।
मुख्य कुरा— यो म्युजिक भिडियो होइन, चलचित्रको गीत हो । यो गीत आउनुभन्दा अगाडि के सिन थियो, त्यो कुराले अर्थ राख्छ ।
कुरा रह्यो सेन्सरको । कुनै पनि व्यक्तिले आफूले चाहेको कुरा भन्न पाउनुपर्छ । मैले यो चलचित्रमा लस्ट, लभ र लाइफको कुरा भन्न खोजेकी छु । यी हामी काठमाडौंबासीका कथा हुन् । यसलाई उतार्ने क्रममा मैले काठडमाडौंका केही सकारात्मक र केही नकारात्मक कुराहरूलाई पनि देखाउनुपर्ने हुन्छ । सेन्सरसम्म हामी पुगेका छैनौं । त्यहाँभित्र पनि केहीले सकारात्मक रूपमा लिनुहोला, कतिले नकारात्मक रूपमा । अहिले नै यसै भन्न सकिँदैन ।
फिल्ममा ‘बोल्डनेस’ भन्नेबित्तिकै किन सधैं यौनसँग मात्रै जोडेर हेर्ने र निर्माण गर्ने गरिन्छ ? ‘बोल्डनेस’का अरु आयाम छैनन् ? समाजका हरेक सामान्यभन्दा सामान्य कथा पनि ‘बोल्ड’ हुन सक्छन्– राम्रो निर्देशकको हातमा पर्यो भने । तपाईंको बुझाइमा चाहिँ ‘बोल्डनेस’ के हो ?
कुनै पनि विषयको कन्सेप्ट जसरी तयार गरिएको छ, त्यसमा रिसर्च गरेर त्यसरी नै उतार्न सकियो भने त्यो नै ‘बोल्डनेस’ हो । ‘बोल्डनेस’ देखाउन लुगा नै उतार्नुपर्छ भन्ने छैन ।
तर, कथालाई भन्दा पनि यौनलाई नै ‘बोल्डनेस’ ठानेर हाम्रा मेकरहरूले काम गरिरहेका छन् नि !
कुन टिमसँग काम गरिरहनुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । हरेकका आ–आफ्नै धारणा हुन्छन् । मेरो कुरा गर्नुहुन्छ भने मैले उठान गर्न खोजेको विषयलाई मैले आत्मविश्वासका साथ पर्दामा देखाउँदैछु । मेरो चलचित्र हेरेपछि प्रियंका र प्रमोद अग्रहरी मात्रै होइन, चलचित्रका हरेक सिनमा दशर्कले उत्तिकै ‘बोल्डनेस’ पाउनुहुनेछ ।
तपाईं डेब्यु निर्देशक, यो वर्ष आजको दिनसम्म आइपुग्दा बक्स–अफिस रिपोर्ट निराशाजनक छ । यसले एउटा मेकरलाई हतोत्साही बनाउँदैन ?
व्यापार भन्ने चिज पहिला नै यसै भन्न सकिँदोरहेनछ । बक्स–अफिस त पछिको कुरा भयो, तपार्ईंले चलचित्रमा भन्न खोजेको कुरा दर्शकलाई बुझाउन सक्नुभयो कि भएन भन्ने कुरा महत्वपूर्ण हो । मेकरले बुझाउन खोजेको कुरा दर्शकले बुझेर त्यसलाई स्वीकार गर्नुभयो भने त्यो सफलता हो । मेकरलाई व्यापारले खासै असर गर्दैन । चलचित्रको व्यापार राम्रो भयो तर दर्शकले मन पराएनन् भने त्यो मेकर सफल हुँदैन ।
निर्देशक र कलाकारलाई त फरक नपर्ला तर निर्मातालाई त फरक पर्छ नि ! ऊ त पलायन हुन्छ ।
यही कारण म भन्छु— यो चलचित्र उद्योग १ करोड लगानी गर्नुस्, म २ करोड फिर्ता गर्छु भन्ने उद्योग होइन । जो निर्माता आउनुहुन्छ, उहाँले यो आर्ट हो भनेर बुझ्नुपर्छ । १ करोड लगानी गरी ४ करोड फिर्ता दिन्छु भनेर कसैले कसैलाई प्रलोभन देखाउनुहुन्छ भने त्यो गलत हो ।
चलचित्रको लगानी बालुवामा पानीसरह भइरहेको छ तर पनि लगानी भने झनपछि झन् बढिरहेको छ । के आकर्षण देखेर हो यस्तो ?
हामीले यो क्षेत्रलाई उद्योगको नाम दिएका छौं । यसको अर्थ केही त छ भन्ने पनि एउटा कारण हो । हरेकलाई चलचित्र बनाउने स्वतन्त्रता छ । तर, के हो चलचित्र, राम्रो चलचित्र बनाउन के गर्नुपर्छ भन्ने पर्याप्त तयारी नगरी आएमा सफलता नपाउने सम्भावना अधिक हुन्छ ।
चलचित्र बुझ्दै नबुझी निर्देशन र लगानी गर्नेहरू धेरै छन् ?
कतिपय यस्तो अवस्था पनि छ । यी कुराहरू त हामीले धेरै सुनेका पनि छौं । कति निर्माताहरू यस्तो पनि हुनुहुन्छ, जसले ‘मैले १ करोड लगानी गरेको छु, अब २ करोड हातमा आउँछ’ भनेर बसिरहनुभएको छ । कम्तीमा चलचित्रमा लगानी गरेपछि कसरी पैसा आउँछ भन्नेचाँहि बुझ्नुपर्छ ।
हामी विदेशी चलचित्र हेर्छौं तर विदेशीले हाम्रा चलचित्र हेर्दैनन् । के कारणले यस्तो भएको हो ?
केही नेपाली चलचित्र विदेशी फिल्म फेस्टिबलहरूमा जान थालेका छन् । कतिले त ती फेस्टिबलबाट अवार्डहरू पनि ल्याउनुभएको छ । यो शुरुआत हो जस्तो लाग्छ । हरेक कुरा परिवर्तन हुन समय लाग्छ । पक्कै पनि अबका केही वर्षमा निकै राम्रो होला ।
हामी कथामा कमजोर छौं कि प्राविधिक रूपमा चुकिरहेका छौं ?
कहिले राम्रो कथा भएर पनि हामी प्राविधिक रूपमा कस्तो झुर चलचित्र भनिरहेका हुन्छौं, अनि कहिलेचाहिँ कथा त त्यस्तै हो, तर प्राविधिक रूपमा गजब छ भनिरहेका हुन्छौं । सबै पक्ष पर्फेक्ट भएर आउनचाहिँ अझै समय लाग्छ । त्यसको शुरुआत भइसकेको छ । अहिले एउटा टिमले अर्को टिमलाई प्रि–प्रोडक्सनमा बसेर सुझाव दिन थालेका छन् । यसलाई पनि हामी सकारात्मक संकेतको रूपमा लिन सक्छौं । (बाह्राखारीबाट)
तस्बिरः सौरभ रानाभाट

