शुक्रबार, साउन ११, २०७५
इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन ११, २०७५

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले बढाएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । बिहीबार सञ्चार मन्त्रालयमाभएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीचमूल्य समायोजन गर्ने सहमति भएको हो ।

इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मल््यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताउनुभयो ।

अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति भएको हो । सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताउँदै आएको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले राख्दै आउनुभएको थियो ।

तर, सेवा प्रदायकले यसरी दस्तुर थपिँदा पनि मूल्य नबढाए घाटा हुने तर्क गर्दै आएका थिए । कार्यदलको बिहीबारको बैठकमा भने इन्टरनेटको मूल्य पुरानै कायम गर्न सेवा प्रदायक सहमत भएका हुन् ।

सहमतिअनुसार अब सेवाप्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवाशुल्कबापतको १३ प्रतिशत अतिरिक्त शुल्क लिने छैनन् । उनीहरुले पहिले उपभोक्तासँग लिँदै आएको मूल्यबाटै दूरसञ्चार सेवा दस्तुरको रकम सरकारलाई बुझाउनेछन् ।यो सहमति घरायसीप्रयोगको लागि इन्टरनेट किन्ने उपभोक्तालाई मात्रै लागू हुनेछ । कर्पोरेट ग्राहकले भने अतिरिक्त १३ प्रतिशत तिर्नुपर्ने हुन्छ ।

दूरसञ्चार सेवाप्रदायकहरुले सरकारले १३ प्रतिशत दूरसञ्चार शुल्क लगाएपछि उक्त शुल्क उपभोक्ताबाट लिन सुरु गरेका थिए । सरकारले दूरसञ्चार शुल्क लगाएपछि इन्टरनेट महँगिएको भन्दै चर्को विरोध भएको थियो ।(चक्रपथ.कम बाट)

 

प्रतिक्रिया
सम्बन्धित समाचार