मङ्लबार, साउन ८, २०७५
मध्यभोटेकोसीमा फेरि तालाबन्दी,टेन्डरले बढायो विवाद

मध्यभोटेकोसीमा फेरि तालाबन्दी,टेन्डरले बढायो विवाद


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन ८, २०७५

दिनेश थापा/सिन्धुपाल्चोक।

मध्यभोटेकोसी जलविद्युत् आयोजनाले साबिकको प्रभावित पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयलगायतका भौतिक संरचना निर्माणलगायतका काम लामो समय हुँदासम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले आयोजनामा फेरि तालाबन्दी गरेका छन् ।

जनप्रतिनिधिसहितको सहभागितामा आयोजनाविरुद्ध पहिलोपटक प्रभावित क्षेत्रका स्थानीय सर्घष समिति बनाएर नै आयोजनाविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । प्रभावित क्षेत्रका स्थानीयले विभिन्न १२ बुँदे माग राख्दै आयोजनामा अनिश्चितकालीन तालबन्दी गरेका हुन् ।


बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालगायतका जनप्रतिनिधिको उपस्थितिमा आयोजनाको साइट कार्यालय जम्बुमा पुगेर आयोजना प्रभावित क्षेत्रका स्थानीयले कार्यालयमा तालबन्दी गरेका हुन् । साबिकको लिस्ती, गाती, मार्मिङ, मानेश्वाँरा गाविसबाट सयौंको संख्यामा आएका प्रभावित स्थानीयले नारा जुलुस पनि गरे ।

आयोजना प्रभावित वडामा आयोजनाले वार्षिक २ करोड दिने सहमति गरेको थियो । सामुदायिक विकासका लागि आयोजनाले यो रकम दिने भने पनि अहिलेसम्म १ करोड मात्रै रकम पठाएको बाह्रविसे नगरपालिकाले जनाएको छ । स्थानीय निकायमा मात्रै नभई स्थानीयवासीले तार जाली, मेसिनरी वाललगायत काम गरेको रकम पनि आयोजनाले अहिलेसम्म भुक्तानी नगरेको स्थानीयको आरोप छ । काम गरेको पैसा पाइएन भनेर नगरपालिकामा दिनहुँ स्थानीय आउने गरेको बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले बताए ।

सन् २०१३ देखि आयोजना सुरु भएको थियो । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी सुरु भएको आयोजना अहिले पाँच वर्ष पूरा गरिसकेको छ । तर, पनि आयोजनाले ३५ प्रतिशत काम पनि पूरा गर्न सकेको छैन । व्यवस्थापकीय कमजोरीका कारण आयोजनाले गति लिन नसकेको स्थानीयको आरोप छ ।

अहिलेको कामको गतिलाई हेर्दा अझै लामो समयसम्म पनि आयोजना सक्न समस्या हुने आयोजना प्रभावितका स्थानीय एवं बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले जानकारी दिए ।

ब्याजसहित साढे १४ अर्बको लागनीमा निर्माण हुने मध्यभोटेकोसी आयोजनालाई चाहिने आवश्य पुँजीका लागि कर्मचारी सञ्चय कोषसँग यसअघि नै ऋण सम्झौता भइसकेको छ । आयोजनाको मुख्य सुरुङ निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले पाएको थियो । झन्डै ८ अर्बमा चिनियाँ कम्पनीले सुरुङ र पावरहाउस निर्माणको ठेक्का पाएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले जानकारी दिएको छ । आयोजना सुरु हँुदा प्रभावित क्षेत्रका स्थानीयसँग आयोजनाले गरेको लिखित सम्झौता अहिलेसम्म पनि पूरा नगरेको मेयर शेर्पाको आरोप छ ।

टेन्डरले बढायो विवाद
स्थानीयसँग गरेको सम्झौता कार्यन्वयनका लागि जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका साविकको पाँच गाविसमा विभिन्न भौतिक निर्माण कार्य गर्नका लागि ४ करोड रुपियाँको टेन्डर निकालेको थियो । टेन्डर आफ्नो पक्षमा पार्नका लागि नेपाली कांग्रेस निकट व्यावसायी र प्रभावित क्षेत्रका स्थानीय र ने क पा सम्बद्ध व्यावसायी आयोजनाको साइट कार्यालय जम्बुमा पुगेका थिए ।

टेन्डर फारम दर्ता गर्नै स्थल साइट कार्यालय आसपासमा शान्तिपूर्वक रूपमा नै टेन्डर फर्म दर्ता भइरहे पनि सडक क्षेत्रमा कांग्रेसका व्यवसायी र ने क पाका व्यावसायीबीच सामान्य झडप हुन पुग्यो ।

त्यस्तो अवस्थामा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले ठाडो निर्देशनमा ठेक्का दर्ता कार्य रद्द गर्न लगाएको आरोप बाह्रविसे नगरपालिकाका मेयर शेर्पाको छ । तर, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भने अन्य पक्षलाई फर्म दर्ता गर्न जानबाटै रोक लगाउने कार्य भएपछि सुरक्षाका कारण टेन्डर प्रक्रियालाई स्थगित गराएको दाबी गर्छन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले आयोजनाका लागि अधिग्रहण गरेको व्यक्तिगत तथा सार्वजनिक जग्गाको अहिलेसम्म क्षतिपूर्ती नदिएको, आयोजनाको लापरबाहीले स्थानीय सखुवामा रहेको पुलमा क्षति पुगेको स्थानीय सर्घष समितिका संयोजक सुप्पा श्रेष्ठले बताए ।

मध्यभोटेकोसी जलविद्यत् आयोजनाका आयोजना प्रमुख सुनिलकुमार लामा भने आफू यस क्षेत्रका सासंद, मन्त्रीलगायत जनप्रतिनिधि र स्थानीयसँग बसेर छलफलको माध्यमबाट निकास खोज्ने पक्षमा रहेको र त्यसको सुरुवात गरिएको बताउँछन् । (राजधानी बाट)

प्रतिक्रिया
सम्बन्धित समाचार