शब्द: इन्द्रकुमार श्रेष्ठ सरित तस्बिर: बिराज प्रधान

साहित्यकार लक्ष्मी उप्रेतीको संस्मरणको संगालो “मृत्यु स्पर्श” को आज एक भब्य समारोहका बिचमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घुम्टीखोली गर्दै सार्बजनिक गर्नु भयो ।

उक्त कृति सार्बजनिक गर्ने क्रममा उप्रेतीलाई भाषाविद वालकृष्ण पोखरेल, ज्ञानी शोभा तुलाधर, शम्भुजीत बास्कोटा, डा. राजेन्द्र बराल लक्ष्मी उप्रेती, सत्या मल्ल , उषा मैनाली, शान्ति शर्मा, सूर्य बिसी र गीता त्रिपाठीले पनि साथ् दिएका थिए ।

नमूना कलेज अफ फेशन टेक्नोलोजी द्वारा आयोजित कार्यक्रममा श्रष्टा लक्ष्मी उप्रेतीलाई आयोजकको तर्फबाट सम्मानित पनि गरिएको थियो. यसै महिना श्रष्टा लक्ष्मी उप्रेतीको जन्म महिना पनि परेकोले उनलाई कार्यक्रममा अन्य व्यक्ति तथा संस्थाका परतिनिधिहरुले खादा ओढाएर जन्मदिनको बधाई तथा सुभकामना पनि दिएका थिए ।

कार्यक्रममा लक्ष्मी उप्रेतीको शब्द, बुलु मुकारुंगको संगीत र विश्व नेपालीको स्वरमा सजिएको गीतको भिडियो पनि सार्बजनिक गरिएको थियो. उक्त भिडियो कार्यक्रमका विशेष अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाले स्विच थिचेर सार्बजनिक गरेका थिए । उक्त म्युजिक भिडियोको निर्देशन पुकार तिमल्सिनाले गरेका हुनभने क्यामेरामा मोहन अधिकारी रहेका छन् । म्युजिक भिडियोमा नवोदित कलाकारहरु रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन् ।

कार्यक्रममा मन्तब्य व्यक्त गर्ने क्रममा क्यान्सर विशेषज्ञ डा. राजेन्द्र बरालले क्यान्सर भयावह रोग भए तापनि यो निको हुने नसक्ने रोग भने नभयको जसको ज्वलन्त उदाहरणमा लक्ष्मी उप्रेती र ज्ञानीशोभा तुलाधर रहेको बताए ।यी दुवै जनाले स्तन क्यान्सरजस्तो बिमारीलाई आफ्नो दृढ इच्छाशक्तिको कारण र परिवारको एथेष्ट सहयोगका कारणले सहजै जितेको कुरामाथि प्रकाश पारेका थिए ।

कार्यक्रमलाई शम्भुजीत बास्कोटा र गीता त्रिपाठीले पनि सम्बोधन गरेका थिए ।
श्रोता र दर्शकले खचाखच भरिएको दर्शक दीर्घातर्फ इंगित गर्दै कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले साहित्यकार लक्ष्मी उप्रेतीको साहित्यप्रतिको लगाव, निष्ठा र योगदानले गर्दा नै आज क्यान्सरजस्तो भयानक बिमारीलाई पनि जितेर उनी पुन: साहित्य सिर्जनामा अग्रसर भएकोमा बधाई समेत दिएका थिए ।

कार्यक्रमका सभाध्यक्ष ज्ञानीशोभा तुलाधरले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेकी थिईन भने त्यसपछि उनले क्रमैसंग वालकृष्ण पोखरेल, शम्भुजीत बास्कोटा, डा.राजेन्द्र बराल, गीता त्रिपाठी, बुलु मुकारुंग, विश्व नेपाली, पुकार तिमल्सिना, मोहन अधिकारी, रामेश्वर ढकाल, अस्मिता भण्डारी, अर्चना भण्डारी, गोपी कृष्ण प्रसाई र सत्या मल्ललाई पनि मायाको चिनो प्रदान गरेकी थिईन ।

कार्यक्रमको सुरुमै स्वागत मन्तब्य व्यक्त गर्दै श्रष्टा लक्ष्मी उप्रेतीले लेखकीय मन्तव्यसमेत व्यक्त गरेकी थिईन. कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञानीशोभा तुलाधरले आफू साहित्यकार नभए तापनि श्रष्टा लक्ष्मी उप्रेतीको संगत र प्रेरणाले आजदेखि जानी नजानी आफू पनि साहित्यिक क्षेत्रमा प्रवेश गरेकको कुरा बताईंन् । क्यानसर कति पीडादायी रोग हो भन्ने कुराको सन्दर्भमा पनि उनले आफूले भोगेको अनुभव पनि सबैसंग बांडेकी थिईन ।

कृतिको बिक्रीबाट लेखकले पाउने रोयल्टी बापतको रकम स्तन क्यान्सर पीडितहरुको सहयोगार्थ प्रदान गरिने कुरा पनि जानकारी गराइएको थियो ।
कार्यक्रमको संचालन साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले गरेका थिए ।

