पहिरोले एकै परिवारका तीनको मृत्यु
सयौं घर, अस्पताल र विद्यालयको तल्लो तला जलमग्न
बस्ती नै जोखिममा पर्ने गरी कटान
भूकम्पपीडितको बिचल्ली
करिब ५ सय परिवार आंशिक विस्थापित
लीला श्रेष्ठ
भक्तपुर — अतिक्रमणका कारण नदी साँघुरिएकाले अविरल वर्षापछिको बाढीले निकास पाउन नसक्दा भक्तपुर जलमग्न भएको छ । बुधबार रातिदेखिको वर्षाले हनुमन्ते नदीमा बाढी आएपछि सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका अधिकांश स्थान डुबानमा परेको हो । प्रत्येक वर्ष जिल्लाको मुख्य नदी हनुमन्ते तथा सहायक खोलाहरू अतिक्रमणका कारण साँघुरिँदै गएका छन् ।

भक्तपुरमा बुधबार रातिदेखि परेको लगातारको वर्षाले बस्ती डुबानमा परेपछि घरभित्रै फसेका शिशु र आमाको डुंगाबाट उद्धार गरिँदै । तस्बिर : हेमन्त श्रेष्ठ
बालकोट, सिरुटार, कौशलटार, गठ्ठाघर, सागबारी, नयाँ थिमि, शंखधरचोक, एसएस चोक, ब्राइटर, कमेरोटार, राधेराधे, सिर्जनानगर, सल्लाघारी, निकोसेरा, दुवाकोट, जगाती तथा लिवाली क्षेत्रका सयौं घर, अस्पताल, विद्यालय डुबानमा परेका छन् । हनुमन्तेको बाढी ६ लेनको सूर्यविनायक–तीनकुने सडकभन्दा ४ फिटसम्म उचाइको बस्तीमा पुगेको थियो । डुबानका कारण अरनिको राजमार्गअन्तर्गत कोटेश्वर, सूर्यविनायक भएर चल्ने लामो दूरीका यातायातसमेत प्रभावित भए । उपत्यकाबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लामा चल्ने सवारीसाधन रोकिँदा सयौं यात्री अलपत्र परेका थिए । यातायात बिहीबार दिउँसो मात्र खुलाइएको थियो ।
भक्तपुर नगरको बस्तीमा मध्यरातिदेखि तथा सूर्यविनायक, मध्यपुर थिमि आसपासमा बिहान ५ बजेदेखि हनुमन्तेको बाढी पसेपछि जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

बाढीले भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घर डुबानमा परे । ‘टहरामा एक्कासि पानी पसेपछि भूकम्पपीडितको बिचल्ली भएको छ,’ शिविरमा बस्दै आएका वीरेन्द्र खाइजुले भने, ‘निकाल्न सकिने सामान निकाल्यौं, धेरै त झिक्नै पाइएन ।’ मध्यपुर अस्पताल, सिद्धि स्मृति, डा. इवामुरालगायत अस्पताल डुबानमा पर्दा उपचार सेवा प्रभावित भएको छ भने विद्यालय डुबानका कारण बिहीबार अधिकांशमा पठनपाठन भएनन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले बाढी तथा डुबानमा फसेका १ सय ११ जनाको सकुशल उद्धार गरिएको छ । जसमध्ये सल्लाघारीकी १८ वर्षीया अमृता श्रेष्ठ, १९ वर्षीया अरुली श्रेष्ठ र सिर्जनानगरकी ६५ वर्षीया सोमती लामा घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए ।
बाढीले २५ चौपाया तथा २ हजार कुखुराको चल्ला बगाएको प्रहरीले जनाएको छ । जिल्लामा करिब ५० घर तथा टहरामा आंशिक क्षति भएको र करिब ५ सय घरपरिवार आंशिक विस्थापित हुनुका साथै अन्नबाली, लत्ताकपडालगायतका सामान क्षति भएको एसपी श्रेष्ठले बताए ।
किन डुब्यो भक्तपुर ?
हनुमन्ते नदीको दुवै किनाराको जग्गा अतिक्रमण हँ‘दा भक्तपुर डुबानमा परेको हो । प्रत्येक वर्ष जिल्लाको मुख्य नदी हनुमन्ते तथा सहायक खोलाहरू अतिक्रमणका कारण साँघुरिँदै गएका छन् ।
बिहीबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले जग्गा मिच्ने प्रवृत्ति बढदै गएकाले बस्ती डुबानमा परेको बताए । ‘२०२१ सालको नापीअनुसार कुनै पनि खोलाको क्षेत्रफल मिल्दैन, मापदण्डमा २० मिटर तोके पनि कार्यान्वयन नहुँदा खोला मिचिँदै गएको छ,’ उनले भने ।
समितिको बैठकमा सहभागी जनप्रतिनिधि, सरोकारवाला निकाय, सुरक्षा निकायका प्रतिनिधिहरूले पछिल्लो समय बढ्दै गएको खोलाको जग्गा अतिक्रमण तथा अनियमित रूपमा बढ्दै गएको संरचनाका कारण डुबानलगायत विपद् आइलागेको बताएका थिए । बैठकले क्षतिको विवरण यथाशीघ्र संकलन गरी समितिलाई उपलब्ध गराउने र विपद् तथा मनसुन पूर्वतयारी कार्ययोजनाको समीक्षा गरी आवश्यकताअनुसार सम्बन्धित निकायले पुनरावलोकन गर्ने निर्णय पनि गरेको छ ।
२०७२ को भूकम्पपछि पनि मनोहराको बाढी बस्तीमा पसेको थियो । त्यसअघि २०५२ मा पनि बाढी पसेको स्थानीय बासिन्दाले बताएका छन् ।(कान्तिपुरबाट)

