-सविन शर्मा
अविरल वर्षाले पहाडमा पहिरो र तराईमा डुबान हुँदा सोमबार देशका विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको छ । पहिरोको कारण पहाडी जिल्लाहरूमा सडक अवरुद्ध भएको छ भने तराईमा डुबानका कारण जनजीवन प्रभावित भएको छ ।
आइतबारदेखि सोमाबारसम्मै अविरल वर्षा जारी छ । सोमबार साँझसम्म मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोमा दुई जना बेपत्ता भएका छन् ।
काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटीको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका सैवाङमा अविरल वर्षाका कारण घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा घर भत्किँदा एकको मृत्यु भएको छ । यस्तै, पर्सागढी नगरपालिकास्थित फन्ती खोलामा आएको बाढीका कारण एकको मृत्यु र एक बेपत्ता भएको पर्सास्थित राजधानीकर्मीले जनाएका छन् ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिकाको कमला नदीमा डुबेर एकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसै गरी, बाँकेमा दुई बाढीले बगाएर र दुई जनाको नहरमा डुबेर मृत्यु भएको नेपालगन्जस्थित राजधानीकर्मीले जनाएका छन् । यस्तै, चितवनको भरतपुर महानगरपालिका बरमझीमा एक जनाको नहरमा डुबेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । मिर्चैया, गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ । नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारी टोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।
सरकारले बबई र पश्चिम राप्ती जलाधारका प्रायःजसो स्थानमा भारी वर्षा भइराखेकाले तटीय र डुबान भइरहने क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यसै गरी, दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजीवन प्रभावित भएको छ । बाढीका कारण तुलसीपुर–घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको छ । बर्दियामा डुबानमा परी केही परिवार विस्थापित भएका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका पनि डुबानमा परेको छ । डुबानले त्यहाँबाट कुनै पनि सवारी चल्न सकेका छैनन् । कालिकोटमा पहिरो आएपछि कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । पहिरोले मुग्लिन–नारायणगढ सडक पनि अवरुद्ध भएको छ । आइतबारदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।
पूर्वसतर्कता सूचना दिइयो
देशभर भारी वर्षा हुनुका साथै मुख्य नदीहरूमा बहाव बढ्न थालेपछि जल तथा मौसम विज्ञान विभागले एनसेलसँग सहकार्य गरी सम्भावित बाढीको पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत उपलब्ध गराउन थालेको छ ।
सोमबार चितवनको रिउखोला, बर्दियाको बबई, कर्णाली चिसापानी, पश्चिम राप्ती र नारायणीलगायतका नदीमा बहाव बढेपछि सो क्षेत्रका करिब ६० हजार मोबाइलमा पूर्वसूचनाको एसएमएस पठाइएको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए ।
महानिर्देशक डा. शर्माका अनुसार चितवनस्थित रिउ खोलामा बाढी आउनुपूर्व माडीका १० हजार मोबाइलमा एनसेलमार्फत एसएमएस पठाइएको हो । बबई नदीमा जल सतह सतर्कताभन्दा माथि नाघेपछि बर्दियासहितका क्षेत्रमा करिब ५० हजार एसएमएस गरिएको छ । यसै गरी, कर्णाली चिसापानी नदीमा जल सतह बढ्न थालेपछि सो क्षेत्रमा पनि एसएमएस गरिएको र नेपालगन्जलगायतका डुबानमा परेका क्षेत्रमा पनि एसएमएस गर्ने काम भइरहेको उनले बताए । ‘यकिन तथ्यांक आउन बाँकी छ,’ उनले भने, ‘सम्भावित जोखिम हेरेर एसएमएस सेवा जारी रहन्छ ।’
विभागले सम्भावित बाढीपहिरोबारे पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत उपलब्ध गराउने गरी गत वर्ष नेपाल टेलिकम र एनसेलसँग सम्झौता गरेको थियो । सम्झौता असार मसान्तसम्मका लागि मात्र हो । अर्काे सम्झौता चाँडै नै हुने महानिर्देशक शर्माले बताए । विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा तीन दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ । नदीमा पानीको सहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले भिन्नाभिन्नै विषयवस्तु एनसेललाई दिन्छ र त्यहीअनुरूप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिलाई सर्ट कोड एसएमएस पठाउँछ ।
सोमबार देशका विभिन्न स्थानमा बाढीको जोखिम बढेका बेला एनसेलमार्फत एसएमएस गरिए पनि नेपाल टेलिकमको सेवामा भने प्राविधिक समस्या देखिएको महानिर्देशक शर्माले बताए । ‘प्रभावित क्षेत्रमा टेलिकममार्फत एसएमएस पठाउन प्राविधिक समस्या आएको छ,’ उनले भने, ‘टेलिकम र विभागका प्राविधिकबीच छलफलको तयारी हुँदै छ, भोलिसम्म सेवा सुरु हुन्छ होला ।’ बुधबारसम्म पानी पर्न सक्ने पूर्वानुमान गरिएको उनले बताए ।
हचुवाका सडकमा पहिरो : विज्ञ
काठमाडौं/रास– ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक रूपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने क्रम बढेको छ ।
कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढीपहिरोको जोखिम बढेर गएको हो । जानकारहरूका अनुसार महाभारत पर्वत शृंखलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एस्क्काभेटर प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको विज्ञहरूले बताएका छन् ।
पछिल्ला सात वर्षमा बाढीपहिरोका कारण १ हजार ६७२ जनाको मृत्यु भएको छ । गत वर्षको साउनदेखि सोमबारसम्म २७५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढीपहिरोबाट ६८२ जना घाइते भएका छन् । यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन् । यस्तै, २ हजार १२१ जना घाइते भएका छन् । बाढीपहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाइएको छ ।
भूगर्भविद् डा. कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको हो । बिनाअध्ययन र प्राविधिक तयारी नगरी डोजर प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो । यस्तै, अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूलाठूला पहिरो जाने गरेको छ । केही दिनपहिले बागलुङमा गएको पहिरो त्यस्तै भौगर्भिक कारणले गएको डा. देवकोटाको भनाइ छ । धादिङको पछिल्लो पहिरो पनि त्यस्तै प्रकृतिको हुन सक्ने उनको दाबी छ ।
चुरे तथा तराई क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढपहिरोको मात्रामा वृद्धि भएको छ । वर्षाको पानी रोक्ने रूख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको चुरेको अध्ययन गरिरहेका भूगर्भविद् डा. सुबोध ढकालले बताए । महाभारत पर्वत शृंखला र चुरे क्षेत्रमा एकखालको दरार पैदा भएको जानकारी दिँदै उनले भने, ‘प्राकृतिक रूपमै सो क्षेत्रमा केही दरार पैदा भएको छ । जसका कारण प्राकृतिक रूपमै पहिरोको मात्रा बढ्दै गएको छ । त्यसलाई नियन्त्रणका लागि वन संरक्षण तथा बायो–इन्जिनियरिङ गर्नुपर्छ ।’
पछिल्लो समय मुग्लिन–नारायणगढ सडक खण्डमा बढेको पहिरो पनि मानवीय अतिक्रमणका कारण बढेको डा. रञ्जनकुमार दाहाल बताउँछन् । सोमबार जापानमा रहेका उनले अनलाइन कुराकानीमा प्राविधिक ज्ञानको उपयोग नगर्नुको उपजका रूपमा सोमबारको बाढीपहिरोलाई दिएको बताए । ‘सडक निर्माण गर्दा बढी मात्रामा मेसिन तथा अन्य उपकरण प्रयोग गरियो,’ उनले भने, ‘कमजोर धरातलमा अत्यधिक मात्रामा गरिएका मेसिन प्रयोग नै पहिरोको कारण बनिरहेको छ ।’
त्रिशूली नदीका कारण पानीको दबाबसमेत सोही क्षेत्रमा पर्ने, भौगर्भिक दरारसमेत सोही क्षेत्रमा रहेको र सडक निर्माणमा अत्यधिक मात्रामा मेसिन प्रयोग गरिएका कारण सो सडक खण्डमा दैनिक पहिरो खसेको डा. दाहाल बताउँछन् । पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङ नै उपयुक्त विकल्प रहेको उनको सुझाव छ ।
कहाँ बढी जोखिम ?
विशेष गरी, मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी छ । यस्तै, महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृंखलाबीचको क्षेत्र, बुटवल–पाल्पा सडक खण्ड र नेपालगन्ज–सुर्खेत–जुम्ला सडक खण्ड पनि पहिरोको उच्च जोखिममा छन् ।
डा. देवकोटाका अनुसार धनगढी–डडेल्धुरा सडक खण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्वी पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् । यस्तै, पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । ती क्षेत्रमा राहत तथा उद्धारका लागि तम्तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।
यस्तो छ सरकारको तयारी
गृह मन्त्रालयका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न पाँच स्थानमा आपतकालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ ।
राहत तथा उद्धारका लागि आवश्यक हेलिकोप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै, सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्युपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ । साविकको क्षेत्रीय प्रशासन कार्यालयमा राहत तथा उद्धारका लागि योजनाबद्ध प्रयास गरिएको प्रमुख आचार्यको भनाइ छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्री राखिएको छ ।यस्तै, सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संस्थालाई समेत राहत तथा उद्धारका लागि तम्तयारी हालतमा रहन आग्रह गरिएको छ । यस्तै, स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारी हालतमा राखिएको छ । (राजधानी दैनिकबाट)

