सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश नागरिक अहिले पनि अँध्यारोमा बस्न बाध्य छन् । जाजरकोट विद्युत प्रशारण लाइन नजिकका केही बस्तीबाहेक गाउँपालिकाका सबै वडाहरुमा विजुली पुगेको छैन । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले महत्वाकांक्षी योजना सार्वजनीक गर्यो, सिम्ता उज्यालो कार्यक्रम । कार्यक्रमको लक्ष्य अनुसार आगामी तीन वर्षभित्र सिम्ताका सवै वडामा र वस्तीमा विजुली पुर्याउनु छ ।
यसलाई पूर्वाधार निर्माण अन्तरगत राखेर आर्थिक वर्ष २०७४/०७५ मा तीन करोड रूपैयाँ बजेट छुट्याइएको थियो । सिम्ता उज्यालो कार्यक्रम अनुसार धेरै वडामा अहिले विजुलीका पोलहरु गाड्नेदेखि तार तान्नेजस्ता कामहरु भइरहेका छन् । तर गाउँपालिकाको वडा नं. १ मा सिम्ता उज्यालो कार्यक्रम अन्तरगत छुट्टयाइएको ५० लाख रुपैयाँ जनप्रतिनिधिकै कारण फिर्ता गएको छ । वडा नं. १ का अध्यक्ष मानसिंह कामीले उपभोक्ता समिति निर्माणका क्रममा आफु अनुकुलको व्यक्ति अध्यक्ष नभएको भन्दै उक्त रकम फिर्ता गरिदिए ।
‘वडाध्यक्षले रातारात कृते सहिछाप गरी उपभोक्ता समितिको नाम गाँउपालिकामा पेश गरियो,’ नाम नबताउने शर्तमा एक स्थानीयबासीले भने, ‘जनप्रतिनिधिलाई प्रलोभनमा पारेर शिवलाल शर्मा, बालाराम शर्मा लगायतका केही सिण्डिकेटधारीहरुले बलजफ्ती आफू अनुकुल निर्णय गराउन वडाध्यक्षलाई दवाव दिए । हामीले त्यसलाई चिर्दै उनीहरुको सिण्डिकेट तोड्न सफल भएका छौं ।’ शिवलाल शर्मा सूर्यज्योती माविका प्रधानाध्यापन हुन् भने बालाराम शर्मा गाउँपालिकाका करार नियुक्त प्राविधिक हुन् । तर उनीहरु आफ्नो जिम्मेवारीभन्दा बाहिर रहेर विकासका कामलाई प्रभावित गर्दै आएको स्थानीयहरुको गुनासो छ ।
स्थानीयहरु भन्छन्, ‘वडाध्यक्षका विशेष सल्लाहकार शिवलाल र बालाराम नै हुन् । उनीहरुको सल्लाहअनुसार मात्रै वडाध्यक्षले काम गर्ने गर्छन् । हरेक प्रक्रियामा उनीहरुको हस्तक्षेप चलाइन्छ । आफू अनुकुलका व्यक्ति नहुँदा विकासे योजना सञ्चालन हुन दिइँदैन । हामीहरुले कहिलेसम्म उनीहरुको सिण्डिकेट सहने ?’ आफू अनुकुलका व्यक्तिलाई उपभोक्ता समितिको जिम्मा दिँदा राम्रै कमिसन आउने भएपछि वडाध्यक्ष कामी, शिवलाल र बालारामले अन्य व्यक्तिलाई जिम्मेवारी दिनुभन्दा योजना नै फिर्ता पठाउनु सही ठानेको स्थानीयहरुको आरोप छ ।
‘विधि र पद्धतिबाट नचल्नेहरुलाई अब गतिलो झापड दिनुपर्छ । विकासका नाममा बर्षाैदेखि ब्रह्मालुट मच्चाउनेहरुका विरुद्ध भण्डाफोर गर्नैपर्छ । विकासको बाधक बन्ने वडाध्यक्ष नै हुन् । हामी जनप्रतिनिधि भएर चुप लागेर सहने पक्षमा छैनौं । हामीलाई बजेट फिर्ता जानुको चित्तबुझ्दो जवाफ वडाध्यक्षले दिनैपर्छ । नत्र भने हामी जवाफ दिन्छौं,’ एक स्थानीयले भने, ‘उपभोक्ता समिति गठन गर्दा भेला बोलाएर पारित गर्नुपर्नेमा वडाध्यक्षकै मिलेमतोमा रातारात कृते सहिछाप हुन्छ भने हामीले जनप्रतिनिधिबाट विकास र समृद्धिको के आशा गर्ने ?’
वडाध्यक्षले आफू अनुकुल दुर्गबहादुर खत्रीलाई सिम्ता उज्यालो कार्यक्रम अन्तरगत गठन हुने उपभोक्ता समितिको अध्यक्षमा एकलौटी र विना सहमति सिफारिस गरेपछि खत्रीविरुद्ध उम्मेद्वारी दावी गरेका धोजेन्द्र पोख्रेल र सिम्ता गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मानसिंह कामी ।
उपभोक्ता समिति निर्माणका क्रममा सुरुदेखि नै विवाद बढ्दै गयो । वडाध्यक्ष कामीले आफु अनुकुलको व्यक्ति दुर्गबहादुर खत्रीलाई उपभोक्ता समितिको अध्यक्ष बनाउन निकै मेहेनत गरे । अध्यक्षका अर्का उम्मेद्वार धोजेन्द्र पोख्रेलले खत्रीलाई समर्थन नगरेपछि लामो समयसम्म उपभोक्ता समिति बन्न सकेन । आर्थिक वर्षको अन्त्यतिर वडा अध्यक्ष कामीले दुर्गबहादुरलाई उपभोक्ता समितिको अध्यक्ष चयन गरेको भन्दै गाउँपालिकालाई सिफारिस पठाएपछि विवाद थप लम्बियो ।
उपभोक्ता समितिको अध्यक्षका लागि दुई जना उम्मेद्वारबीच सहमति नै नगराएर एकलौटीरुपमा निर्णय गरेपछि अध्यक्षका अर्का उम्मेद्वार धोजेन्द्र पोख्रेलसहित बलबहादुर बिक र मानबहादुर रानाले २०७५ जेठ १० गते गाउँपालिकामा असहमति जनाउँदै निवेदन दिए । गाउँपालिकाले पुनः भेला बोलाएर सत्यतथ्य के हो त्यसको बारेमा जानकारी दिन वडा कार्यालयलाई पत्र लेखेर जवाफ माग्दासमेत वडाध्यक्षले त्यस विषयमा चासो समेत नदिएको अध्यक्षका उम्मेद्वार पाख्रेलले बताए ।
उनी भन्छन्, ‘सामान्य छलफल भयो, सहमति निस्केन । वडाध्यक्षले एकलौटी निर्णय गर्दै पठाउँदा समस्या भएको छ । म विधि र प्रक्रियालाई मान्छु । सहमति गरौ भन्दा एकलौटी गर्ने अधिकार वडाध्यक्षसँग छैन । उहाँको एकलौटी कामलाई मान्दैनौं भण्डाफोर गर्छौ ।’ उनले विकासको बाधक वडाध्यक्ष नै भएको आरोप लगाए । उनले भने, ‘लोकतन्त्र आइसक्यो, सबैले समान अधिकार पाउनुपर्छ । जनप्रतिनिधि हुँ भन्दैमा मनोमानी गर्न पाइँदैन । जनप्रतिनिधि साझा व्यक्ति हो, साझा नै भएर बस्नुपर्छ । केही व्यक्तिको चंगुलमा परेर एकलौटी निर्णय गरेर मनोमानी गर्न पाइँदैन ।’

वडाध्यक्षले सहमति गरेर अघि बढ्नुपथ्र्यौ । अहिलेसम्म दुईवटा वडा (६ र ७) मा मात्रै राष्ट्रिय प्रसारण लाइनले छोएको छ । ग्रामीण विद्युतीकरणका लागि चालू आवमा तीन करोड रकम विनियोजन गरेको छ । यसका साथै लघु जलविद्युत्, सौर्य र वायु उर्जाबाट समेत विद्युत् उत्पादन गर्ने गाउँपालिकाले योजना बनाएको छ । मानव स्वास्थ्यमा असर घटाउन र वातावरण प्रदूषण कम गर्ने उद्देश्यले गाउँपालिकाले गोबर ग्यास प्रवद्र्धन योजना लिएको छ । चालू आवमा गोबर ग्यास निर्माण गर्ने जनतालाई पाँच हजार अनुदान दिएको छ । तर वडाध्यक्षका कारण सिम्ता उज्यालो कार्यक्रम अन्तरगत वडा नं. १ मा आएको रकम नै फिर्ता भएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
गाउँपालिकाले तीन वर्षभित्र सबै वडामा विद्युतीकरण गरिसक्ने लक्ष्यकै बाधक बनेका छन् वडाध्यक्ष मानसिंह कामी । ‘जनताबाट चुनिएको व्यक्ति साझा बन्ने वा कुनै दल र व्यक्तिद्वारा सञ्चालित हुने भन्नेमा उनमा हेक्का छैन,’ एक स्थानीयले भने, ‘एकदुई जना व्यक्तिबाट वडाध्यक्ष र वडा कार्यालय सञ्चालन हुने र विकासे आयोजना प्रभावित हुँदा त्यसको जिम्मा कसले लिने ? अनि यस्ता जनप्रतिनिधिलाई कसले कारबाही गर्ने भन्ने गम्भीर प्रश्न उठेको छ ।’ उनका अनुसार बजेटमा चुहावट गर्नकै लागि आफू अनुकुलका उपभोक्ता समिति बनाउने र बन्न नसके योजना फिर्ता पठाउने वडाध्यक्षले आफूलाई हैसियतभन्दा बढि आँकलन गरिरहेका छन् । यस विषयमा बुझ्न खोज्दा वडाध्यक्ष मानसिंह कामीसँग भने सम्पर्क हुन सकेन ।
गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने उपभोक्ता समिति निर्माणमा भएको विवादका कारण रकम फिर्ता भएको बताए । उनले भने, ‘विवादका कारण समयमा उपभोक्ता समिति निर्माण हुन नसक्दा रकम परिचालन गर्न सकिएन । यो रकम फ्रिज भएको छैन । अर्को आर्थिक वर्षदेखि यो काम सुचारु हुन्छ ।’ विकासमा पछाडि परेको सिम्ताले निर्धारण गरेका तीन वटा लक्ष्यकै बाधकका रुपमा वडाध्यक्ष उभिएका छन् । जनतासँग सिम्ता गाउँपालिका, उज्यालो सिम्ता र पहुँचमार्ग निर्माण गर्ने योजना छन् । गाउँपालिकाका अध्यक्ष केसी भन्छन्, ‘हामीले पाँच वर्षमा तीनवटा मात्रै काम गर्ने लक्ष्य लिएका छौं । त्यसमध्ये उज्यालो सिम्ता कार्यक्रमलाई हामीले महत्वपूर्ण र त्यसको निर्माण नै हाम्रो मुख्य लक्ष्य हो । वडा नं. १ मा यस वर्ष काम हुन सकेन त्यसलाई अर्को बर्षदेखि निरन्तरता दिँदै अधि बढ्नेछौं ।’
सिम्ता उज्यालो कार्यक्रम अन्तरगत वडा नं. १ घोरेटामा विद्युतीकरण गर्नका लागि गठन हुने उपभोक्ता समितिका अध्यक्षका उम्मेद्वार धोजेन्द्र पोख्रेल के भन्छन् ? भिडियो हेर्नुस् :
सत्यपाटीबाट

