‘मै खाउँ मै लाउँ सुख सयल वा मोज मै गरूँ, मै हाँसु मै नाचुँ बाकी सब मरून् दुर्बलरू।’
कवि शिरोमणि लेखनाथ पौड्यालले यस्तो कविता लेख्दा फेसबुक, ट्वीटर, इन्स्टाग्राम आइसकेका थिएनन्। काव्यपंक्ति पढ्दा लाग्छ, यो अभिव्यक्ति तिनै सामाजिक सञ्जाल प्रयोगकर्ताकाा लागि थियो कि।

आफ्ना दैनिक गतिविधि, आफ्ना सोच वा कुनै पनि विषयमा प्रतिक्रियाका लागि अब हातमै प्लेटफर्म उपलब्ध छ। केवल औंला चलाइदिए पुग्छ । तर, यही प्रवृत्ति आजको विश्वमा भयावह संकटका रूपमा देखापर्ने जोखिम बढेर गएको छ।
सामाजिक सञ्जालमार्फत समाजसँग जोडिने अभिलाषाभन्दा पनि आन्मुग्धता र आत्मप्रचारले ठाउँ लिएको छ। अाजकाे नेपाल साप्ताहिकले यसबारे विश्लेषण छापेकाे छ।
अचेल अधिकांशको दिनचर्यामा प्रमुख हिस्सा हुने गरेको छ, स्मार्ट फोन। स्मार्टफोनमा चलाउने सामाजिक सञ्जालमा आत्मरत्ति छरपस्ट देखिन्छन्। पुल्चोक, ललितपुरका अश्विन कार्की, २२ फेसबुक र इन्स्टाग्रामका स्टोरीमार्फत आफ्नो दिनचर्या सार्वजनिक गरिरहन्छन्। जहाँ गए पनि हातबाट स्मार्टफोन छुट्दैन।
‘आँखा खोल्नेबित्तिकै मैले गर्ने पहिलो काम नै फोन चलाउने हो,’ उनी भन्छन्, ‘बाथरुममा चार्जिङ पोर्ट भइदिएको भए म घन्टौं त्यहीं बसेर फोन चलाउँथेँ हुँला।’
ललितपुरकी रोशना पौडेल, २४, भन्छिन्, ‘जहाँ गए पनि फोटो खिचेर पोस्ट गर्न मात्रै मन लाग्छ।’
मनोविज्ञानको भाषामा यस्तो समस्यालाई ‘नार्सिसिज्म’ मानिएको छ। मनोवेत्ताहरूका अनुसार नार्सिसिस्टहरू सिंगो संसार नै आफ्नै वरिपरि घुम्ने ठान्छन्। आफूबाहेक अरू त मान्छे नै होइनन् भन्ने सोच राख्छन्।
नार्सिसिज्म बढ्दै जाँदा यसले विकराल रूप लिन सक्छ र आफ्ना लागि मात्र नभई अरूका लागि पनि घातक सिद्ध हुन सक्छ। नार्सिसिज्मको उपचार संभव छ त? पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मानोचिकित्सा विभागका प्रमुख प्राध्यापक रवि शाक्य भन्छन्, ‘सम्भव छ। सकारात्क सोचको विकास गर्न सक्नुजस्तो ठूलो उपचार यसको छैन।’
न्युरोज सर्जन डा. उपेन्द्र देवकोटाको अन्तिम इच्छा पूरा गर्न २६ जेठमा पत्नी मधु र छोरीहरू मेघा, बसुधा र मन्जरीले उनलाई जन्मघर गोरखा लगे। त्यहाँ उनीहरूले मुस्कुराएर एउटा सेल्फी खिचेका मात्र के थिए, सामाजिक सञ्जालमा गालीको वर्षा सुरु भइहाल्यो।
उनीहरू सेतो पहिरनमा थिए, त्यसैले धेरैले डाक्टर सिंगो चिकित्सा क्षेत्रको हुर्मत लिइरहेका थिए। तथ्यबाहिर आउञ्जेल धेरै अफवाह फैलिइसकेको थियो।
सामाजिक सञ्जालमा यो पहिलो गालीकाण्ड होइन। अहिले टिभी प्रस्तोता रवि लामिछाने र प्रेस काउन्सिल नेपालको विवाद उत्कर्षमा छ। त्यो आलोचना र टीकाटिप्पणीमा मात्र सीमित रहेन, प्रशंकका अश्लील गाली, धम्की र एकअर्काविरुद्ध घृणा फैलाउने तहसम्मै पु¥याए।
प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई फेसबुकमा जथाभावी लेख्ने ललितपुर बागडोलका विनोद गौतम, ५०, र नवलपरासी सुनवलका विष्णु ढलका, ३६, लाई पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको छ।
एक वर्षअघि सरकारले राष्ट्रपतिका लागि नयाँ गाडी खरिदको योजना ल्याउँदा उसैगरी सामाजिक सञ्जाल गालीले रंगिएका थिए। तीमध्ये तनहँु बन्दिपुरका विवेक बानियाँ र प्युठानका पत्रकार सोनुकुमार सुनार पक्राउ परेका थिए।
जन्मसिद्ध स्वभाव होइन, गाली । व्यक्तिको हुर्काइ, खानपान, शिक्षादीक्षाक, संगत आदिले उसको मनोविज्ञान विकास गर्छ। जसरी आलोचना गर्नु र अति नकारात्मक हुनु एउटै कुरा होइन, उसैगरी आलोचना र गाली फरक हुन्।
तर, नेपाली समाजमा यी सबै एकआपसमा घोलिएका छन्। त्यसैले अभिव्यक्ति स्वतन्त्रताको उपयोग भन्दै नकारात्कता ओकल्ने र गाली बर्साउने प्रवृत्ति घृणाकै तहमा पुगेको छ।(नेपाल खबरबाट साभार गरिएको हो)

