एक साँझ अनायसै भेटिएका आँखा देख्न नसक्ने एकजना भाईले आफ्नी प्रेमिकाको रुपरंगको व्याख्या गरे । त्यो प्रेम कति मिठ्ठो । ह्लीलचियरमा अन्नपूर्ण पदयात्रा गरेका पत्रकार गजेन्द्र बुढाथोकीको यात्राको बखान: त्यो यात्रा कत्ति मिठ्ठो । वर्षदिन अघि भोजपुरमा भेटिएका सेन्मिखा भाईले आफ्नो नामको बखान गरे । त्यो नाम कति मिठ्ठो । अघिल्लो महिना दाङमा भेटिएका चन्द्रवीर बाले खुसीको बखान गरे । त्यो खुसी कत्ति मिठ्ठो । बाग्लुङको ढोरपाटनमा भेटिएकी सुर्विता आमाले साउदीमा मरेको छोराको बखान गरिन् । त्यो ममता कत्ति मिठ्ठो । सिन्धुपाल्चोक सेलाङका गुरुङबा मरेर गए । गाउँमा विजुली बालेरै छोड्छु भन्थे । आजकाल गाउँ झलमल्ल छ । गुरुङबाको त्यो सपना कत्ति मिठ्ठो । सिराहामा भेटिएकी थिइन् सानी नानी । साउदी पुगेका बाबाले रंगीन टिभी ल्याउँछन् भन्थिन् । त्यो आश कत्ति मिठ्ठो । कथा त कत्ति कत्ति ।
तपाईं कथा लेख्नुहुन्छ ? होइन यसरी सोधौं ! तपाईं डायरी लेख्नुहुन्छ ? मिलेन …….. तपाईको अहिलेसम्मको जिन्दगीलाई फर्केर हेर्दा कस्तो लाग्छ ? प्रश्न सजिलो बनाएँ ।
के तपाई जीवनमा कहिल्यै खुशी हुनुभएको छ ? दुखी हुनुभएको छ ? के ले खुशी दिंदो रैछ ? केले दुखी बनाउने रहेछ ? पछिल्लोपल्ट तपाईं मन खोलेर रोएको सम्झना छ ? पछिल्लो पल्ट मन खोलेर कहिले हाँस्नुभएको थियो ? आफूलाई मन परेको फूलको रङबारे कहिल्यै कुरा गर्नुभएको छ ? आफैंलाई के मन पर्छ के मन पर्दैन कहिल्यै ख्याल गर्नुभएको छ ?
अनेकन प्रश्नहरु छन् । प्रश्नमै सकिन्छन् भन्ने कुराहरु पनि।
मलाई त, हरेक दिन भेटिने हरेक मान्छे, एउटा होइन अनगिन्ति कथाका पात्र लाग्छन् ।हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्। कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु । ती मनमा लेखिने कथाहरुमा पनि सबथोक हुन्छ । माया, ममता, प्रेम, द्वेष, घृणा, इर्ष्या, जीवन, मृत्यु, त्याग, तपस्या…..। हाम्रा कथामा के छैनन् ? को छैनन् ? नायक, नायिका, खलनायक,परिको जादू, दैत्य, देवता । यी सबै हाम्रा आफ्नै कथामा छैनन् र !
‘रोना-धोना’ हाँसो, खुशी, गीत, सङ्गित सबथोक हाम्रा आफ्नै जीवन कथामा भेटिन्नन् र !
आफ्नै जीवनका कथाहरुमा हामी चढ्छौं पहाडजस्ता अजङ्गका दुःखहरु र फोर्छौं पहराहरु । पार गर्छौ हिमालजस्ता अग्ला सपनाहरु र टेक्छौ शिखरहरु ।
हामी हरेकले चढ्ने पहाड र पुग्ने चुचुरो अलग होला । तर हामी सबैको आफ्नै यात्रा हुन्छ र हामी सबै आफू हिँड्ने बाटो जानी नजानी आफै बनाउँछौं ।
यी हरेक यात्राहरु विशिष्ट हुन्छन् । यी हरेक बाटाहरु फरक हुन्छन् । हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा । हिँडेको बाटोका अनगिन्ति कथा होलान् । नहिँडेका बाटोले पनि त उस्तै कथा हाल्लान् ।
सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् । ती बाटाहरु कति भेटिन्छन् कति छुटिन्छन् ।
तपाईको बाटो कुन हो ? हामी तपाई हिडेका र नहिँडेका ती सबै बाटोका कथाहरु सुन्न चाहन्छौ । तपाईंले पार गरेको तपाईको यात्राको कथा सुन्न चाहन्छौ ।
तपाईको कथा के हो ? दुःखका हुन् या सुखका । मान्छेका कथा जति सुन्दर केही हुन्नन् । हामी तपाईंको जिन्दगीका तिनै कथा सुन्न चाहन्छौं ।
घाम पानी सबैले भोगेकै हुन्छन् । कहिले रंगीन र कहिले रंगहीन । तर इन्द्रेणी संसार सबैको हुन्छ ।
तपाईको जीवनको घाम के हो ? तपाईको जीवनको वर्खा कुन हो ? तपाईको जीवनमा वसन्त कहिले फूल्छ ? तपाईको जीवन कहिले चिसो हुन्छ ?
हामी तपाईको जीवनका तिनै घामपानीमा सँगै रुझ्न चाहन्छौ । तपाईका जीवनका रंगीन र रंगहिन कथा हुन चाहन्छौं । तपाईले देखे भोगेका तपाईका कथाहरु तपाईहरु लेख्नुस् । तपाईहरु सुनाउनुहोस् । हामीले देखे सुनेका जिन्दगीका कथाहरु हामी लेख्छौ देखाउँछौं ।
ती कथाहरु ।

ओहो ! हो र ? लाग्ने मान्छेका वास्तविकताहरु । अलिकति आफ्नै कथाहरु, अलिकति अरुका कथाहरु। मायाको कथा सपनाको कथा आशाको कथा । तपाईको जीवनमा यी सब छैनन् र । जे लेखे पनि त भो । तपाईकी आमाको साहसको कथा कसले लेख्छ ? तपाईको बुवाको कर्मको कथा कसले लेख्छ ? तपाई आफैले के भोग्नुभयो ? त्यो भोगाई अरु कसले भोगेको छ ? अब भन्नुस् त तपाईको कथा तपाई बाहेक अरु कसले लेख्छ ?
वाल्यकाल, जवानी, सम्झना, विर्सना सब कथै हुन् ।
दु:खको आफ्नै मिठास हुन्छ । सुखको आफ्नै सुगन्ध । र हरेक मान्छेलाई आफ्नै दु:ख प्यारो लाग्छ । आफ्नै सुख प्यारो लाग्छ । आफू हिँडेको बाटो र टेकेको माटो प्यारो लाग्छ ।
हामी मगजमा सँधै हामी हिडेको बाटोको आफ्नै नक्सा बोकी हिड्छौ । र त्यही बाटोले हाम्रो जिन्दगीको नक्सा पूरा गर्छ । ती कति कथा भन्दा आनन्द होला । कति कथा नभन्दै मिठ्ठो होला । तर भनिएपनि नभनिएपनि मान्छेका कथा जति शक्तिशाली केही हुन्नन् । लेखी पठाउनुहोस् आफ्ना कथाहरु र आफै अनुभव गर्नुहोस् ।
कथा भनौ । आफ्नै जिन्दगीको कथा भनौ । आफ्नै जिन्दगीको कथा लेखौ। आफ्नाको कथा लेखौ । साथीभाई छरछिमेक गाउँ समाज । को सँग हुन्न र कथा ! ढुंगा, माटो, बन, जंगल, पहाड, पर्वत, खोलानालाका सबका सब कथा न हुन् । जिन्दगीका कथाहरु पढेर हेरेर सुनेर न कहिल्यै सकिन्छ न कहिल्यै थाकिन्छ । र मान्छेका कथा भनेर, सुनाएर र देखाएर हामी कहिल्यै थाक्नेछैनौ ।
तपाईको कथा के हो नि !
हेर्नेकथाबाट

